अर्थ

लेखनाथ महोत्सवः कोभिड त्रास घटेपछि महोत्सवमा दर्शकको उपस्थिति बढ्यो

लेखनाथ महोत्सवमा राजु परियारको सांगीतिक कार्यक्रममा नृत्य गर्दै। तस्बिरः नागरिक

कोभिड–१९को त्रास कम छ। कोरोनाको मनोवैज्ञानिक असर समेत छैन्। धेरै सर्वसाधारणले दुईडोज कोरोना विरुद्धको खोप लगाईसकेका छन्। केहीले तेस्रो (बुष्टर) डोज समेत लगाईसकेका छन्। कोभिडको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएपछि स्थगित गरिएको लेखनाथ महोत्सव फागुन २६ गतेदेखि सुरु भएको छ। डेढमहिनापछि सुरु भएको महोत्सवमा दर्शकको उपस्थितिलाई हेर्दा कोभिडको संक्रमण नभएको अनुभूति प्रष्टै देखिन्छ।  

लेखनाथ उद्योग वाणिज्य संघले १७ औं सस्करणको महोत्सवलाई गएको फागुन २६ गतेदेखि थालनी गर्‍यो। दर्शकको उपस्थिति विगतका वर्षहरुमा जस्तै छ। आर्थिक कारोबार पनि उस्तै छ। ‘दर्शकको उपस्थिति विगतको महोत्सवमा जस्तै छन्, शनिबार दर्शकको चाप अझ बढी थियो,’ मेला आयोजक लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले भने, ‘कोभिडको असर खासै देखिदैन्। तर गर्मीको असर भने सामान्य परेको छ।’  

लेखनाथ गर्मीमा सिजनमा अलि बढी नै अनुभूति हुने गर्छ। ‘गर्मीले गर्दा दर्शकको उपस्थिति घट्छ कि भन्ने लागेको छ। अहिलेसम्म खासै प्रभाव परेको देखिदैन,’ उनको भनाई थियो, ‘महोत्सव आयोजकलाई चिन्तै एउटै छ ‘हावाहुरीले सताउँछ कि।’ फागुन–चैत विशेष गरी हावाहुरी र असिनापानी पर्ने सिजन हो। महोत्सव पनि फागुनको अन्त्यदेखि चैतको पहिलो सातासम्म चल्ने छ।

शुरुमा स्टल राख्दा सबैजसो व्यवसायी निकै अन्यौलमा थिए। स्टल राख्ने कि नराख्ने भन्ने द्विविधामा थिए। विस्तारै कोभिडको त्रास हट्दै गएको छ। संक्रमण दर र मृत्यु हुने संख्यामा कमी आएपछि महोत्सव आयोजनासँगै व्यवसायीले पनि स्टल बुकिङ गरेका थिए। ‘शुरुमा हामी पनि अन्यौलमा थियौं दर्शक आउने हुन नआउने हुन् भन्नेमा, स्टल किन राखियो होला भन्ने मनभरी चिन्तायुक्त प्रश्न हुन्थ्यो,’ लेखनाथको व्यवसायिक घराना कर्माचार्य समूहका विक्रम कर्माचार्यले भने, ‘शनिबार दर्शकको उपस्थितिले सबै स्टल राखेका व्यवसायी उत्साहित देखिए। कारोबार पनि राम्रै भएको छ।’  

आयोजकको तथ्यांक अनुसार शनिबार मात्रै २५ हजार दर्शकको उपस्थिति रह्यो। जुन विगतका वर्षहरुको उपस्थिति बराबर नै हो। कारोबार पनि ५० लाख रुपैयाँ बराबरको भएको तथ्यांक आयोजकले सुनाएका थिए। दिउँसो गर्मी छ। साँझपख भने दर्शकको उपस्थिति बाक्लिदैं गएको छ। साँझपख हुने पप कन्सर्ट एवं सांगीतिक कार्यक्रमले दर्शकलाई लोभ्याएको छ। 

‘साझपख शितलको समयमा पप कन्सर्ट एवं सांगितीक कार्यक्रम हुँदा दर्शकको उपस्थिति राम्रो हुदैं गएको छ,’ उनले भने, ‘चिन्ता केवल हावाहुरीले समस्या बनाउँछ कि भन्ने मात्रै छ।’ कर्माचार्य समूहले विस्कुट तथा अगरबत्तीको स्टल राखेको छ। प्रचार प्रसार उपसमितिका संयोजक गोपिचन्द्र बाँस्तोलाका अनुसार दर्शकहरुको चाप छ। सबै स्टलहरुमा कारोबार राम्रो भएको पायौं। उनले कारोबारले स्टलवाला र मनोरञ्जनले दर्शक सन्तुष्ट भएको प्रतिक्रिया दिए।  

महोत्सवमा कृषिजन्य स्थानीय उत्पादन देखी अटो, सूचना प्रविधि, खाद्य, लत्ताकपडा, सेवा सुचना लगायतका तीन सय भन्दा बढी स्टल रहेका छन्। महोत्सव स्थलबाटै नेपाल टेलिकमले निशुल्क सिमकार्डको व्यवस्था गरेको छ भने लेखनाथ खानेपानी उपभोक्ता संस्था, कामना सेवा विकास बैंक र हिमालयन प्यूरीफाईले पानी तथा जुसको व्यवस्था गरेका छन्। गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालको संयोजनमा लेखनाथ स्थित विभिन्न स्वास्थ्य संस्थाहरुले कोरोना विरुद्धको भ्याक्सिन समेत व्यवस्था गरेका छन्। महोत्सव स्थलबाटै सर्वसाधारणले कोरोना विरुद्धको खोप समेत लगाएका छन्।

प्रकाशित: २९ फाल्गुन २०७८ ०७:४५ आइतबार

लेखनाथ महोत्सव