अर्थ

लघु, घरेलु तथा साना उद्योगको योगदानलाई बढाउनु आवश्यकता हो

प्रधानमन्त्री शेरबहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको भन्दै यसको दिगो र प्रतिस्पर्धी विकासबाट मुलुकमा गरिबी निवारणदेखि आर्थिक सामाजिक रूपान्तरणसम्म पनि योगदान पुर्‍याइरहेको बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलनको बिहीबार उद्घाटन गर्दै उनले मुलुक छिट्टै नै अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन गइरहेको सन्दर्भमा घरेलु तथा साना उद्योग क्षेत्रको विकास र विस्तारका लागि तीनै तहका सरकारले आपसमा समन्वय गरी प्रभावकारी योजनाका साथ कार्य गर्न जरुरी भएको बताए।

घरेलु तथा साना उद्योगहरूले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको भन्दै प्रधानमन्त्री देउवाले भने, ‘यस्ता उद्योगहरूले मुलुकभित्र लाखौंको संख्यामा रोजगारीका अवसर सिर्जना गरेका छन्। यसलाई थप प्रवर्द्धन गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदानलाई बढाउनु आजको आवश्यकता हो।

यस क्षेत्रको विकास र सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट पुर्‍याउनुपर्ने सहयोगका लागि सरकार प्रतिबद्घ छ। साथै सुमधुर श्रम सम्बन्ध र औद्योगिक शान्ति कायम गराउन पनि सरकार प्रयत्नरत छ।’ अहिले मुलुकमा जनताले उपभोग गर्ने अधिकांश वस्तु तथा सेवा विदेशबाट आयात भइरहेको स्थिति रहेको भन्दै उनले भने, ‘बढ्दो आयातले एकातिर मुलुकमा औद्योगिकीकरण र आत्मनिर्भर अर्थतन्त्रको विकासमा चुनौती सिर्जना गरेको छ भने अर्कोतिर विदेशी मुद्राको मागमा अत्यधिक चाप सिर्जना भई अर्थतन्त्रमा दबाब सिर्जना भएको छ।’

उद्यमशीलताको संस्कृतिलाई युवा समुदायबीच संस्थागत गरी मुलुकलाई आर्थिक समृद्घ बनाउन घरेलु तथा साना उद्योगको थप विस्तार र स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले विश्व बजारमा नयाँ अवसरको रूपमा देखा परेको सूचना प्रविधि लगायतको सेवा क्षेत्रको प्रवर्द्धनसमेत यसै क्षेत्रबाट भइरहेको सन्दर्भमा यसबाट अपेक्षित लाभ उठाउन समेत उद्योगी तथ युवा समूहलाई उनको आग्रह छ।

त्यस्तै, महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले विभिन्न आरोहअवरोह पार गरी आजको मितिमा आइपुग्दा महासंघले मुलुकभित्र लघु, घरेलु तथा साना उद्योगहरूको विकास, विस्तार र प्रवर्द्धनको क्षेत्रमा देखिएका चुनौती र सम्भावनाहरूका सम्बन्धमा राज्यलाई धेरैपटक आवश्यक राय सुझावसहित सहकार्य गर्दै आएको बताए।

प्रकाशित: २७ फाल्गुन २०७८ ००:५२ शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवा लघु घरेलु तथा साना उद्योग आर्थिक सामाजिक रूपान्तरण