अर्थ

‘दुबई एक्स्पोमा बाध्यकारी श्रम’

बेलायतको लन्डनमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय मानव अधिकार संस्था इक्विडेमले संयुक्त अरब इमिरेट्स (युएई) मा जारी दुबई एक्स्पो २०२० मा बाध्यकारी श्रम र श्रमिकबीच व्यापक विभेद रहेको जनाएको छ।

अन्तर्राष्ट्रिय एक्स्पोका सम्बन्धमा बिहीबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इक्विडेमले एक्स्पोमा विभेद र बाध्यकारी श्रमको अभ्यास खुलासा भएको उल्लेख गरेको छ। दुबईमा कार्यरत श्रमिकसँग उक्त संस्थाका अनुसन्धाताहरूले गरेको प्रत्यक्ष गोप्य अन्तर्वार्ताका आधारमा अध्ययन प्रतिवेदन तयार पारिएको बताइएको छ।

उक्त एक्स्पो मध्यपूर्वमा भएको पहिलो विश्वव्यापी महोत्सव रहेको बताइएको छ। अक्टोवर २०२१ देखि यस वर्षको मार्चसम्म एक्स्पो करिब साढे दुई करोडले अवलोकन गरेको अनुमान गरिएको छ। एक्स्पोका लागि आवश्यक मण्डप तथा संरचनाको निर्माण र सरसफाइ, सुरक्षा तथा सेवा क्षेत्रको कामका लागि अफ्रिकी र एसियाली मुलुकका महिला र पुरुष श्रमिक खटिएका छन्।

अध्ययनका अनुसार एक्स्पोमा जातीय विभेद र धम्की, बाध्यकारी श्रमजन्य अभ्यास, गैरकानुनी भर्ना शुल्क, पारिश्रमिक र सुविधाको रकम भुक्तानी नदिइने, श्रमिकले राहदानी बोक्न नपाउने तथा गुनासो सुनुवाइ गर्ने संयन्त्रको पहुँचमा असहजता रहेको समेत उल्लेख गरिएको छ।

इक्विडेमको अध्ययनमा २५ उत्तरदाता (८३%) ले गैरकानुनी भर्ना शुल्क तिर्नुपरेको र तलब वा अन्य सुविधा समयमा र पूरै नपाएको बताएका थिए। त्यस्तै ११ उत्तरदाता (३७%) ले रोजगारीका क्रममा तीन वा सोभन्दा बढी बाध्यकारी श्रमका अवस्था भोग्नुपरेको बताएका थिए। पाँच उत्तरदाता (२०%) ले रोजगारीका क्रममा पाँच वा त्यसभन्दा बढी बाध्यकारी श्रमका अवस्था भोग्नुपरेको बताएको अध्ययनमा उल्लेख गरिएको छ।

इक्विडेमका प्रमुख कार्यकारी अधिकृत मुस्तफा कादरीले अध्ययनबाट आधुनिक एवं अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको अवस्था स्थापित गर्ने भनी युएईले गरेको घोषणा र आप्रवासी श्रमिकको नियतिको रूपमा रहेको जातीय विभेद तथा बाध्यकारी श्रमका अभ्यासबीच ज्यादै ठूलो दुरी रहेको तथ्य उजागर गरेको बताए।

उजुरी दर्ता गर्ने सम्बन्धमा एक्स्पोका आयोजकले राष्ट्रिय कानुन तथा संयन्त्रको भन्दा पनि उन्नत मापदण्ड बनाए पनि रोजगारदाता वा राज्यका निकायबाट सजाय भोग्नुपर्ने त्रासका कारण श्रमिकहरू बोल्न समेत पनि डराउने गरेको अध्ययनले देखाएको उनको भनाइ छ।

कादरीले श्रम मापदण्डको कार्यान्वयन पक्षको अनुगमनका लागि स्रोत साधनको उपलब्धता रहेको र राष्ट्रिय श्रम संयन्त्रको भन्दा पनि उन्नत श्रम मापदण्ड लागू गरिएको एक्स्पोमा कार्यरत महिला र पुरुषमाथि शोषणपूर्ण अभ्यास भए भने बाध्यकारी श्रम र अन्य प्रकारका शोषणका जोखिमको बारेमा व्यापक रूपमा प्रश्न उठ्नु पर्ने बताए। एक्स्पोमा १ सय ९२ देशको मण्डप राखिएको छ भने ठूलामध्येका केही उपभोक्ता ब्रान्ड प्रायोजक र साझेदार रहेका छन्। एक्स्पोमा संयुक्त राज्य अमेरिका, चीन, जापान, संयुक्त अधिराज्य र भारत लगायतका मुलुकको पनि सहभागिता छ।

म्यानपावर सञ्चालक पक्राउ

यसैबीच टोखामा कार्यालय रहेको ट्रिपलस्टार इम्प्लोइमेन्ट म्यानपावरका सञ्चालक भीम गुरुङ बिहीबार ठगी आरोपमा पक्राउ परेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको टोलीले उनलाई पक्राउ गरेको हो।

युएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ युवाबाट सात लाख ५० हजार रूपैयाँका दरले रकम लिएर भिजिट भिसामा पठाई अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २१ माघ २०७८ ०२:४० शुक्रबार

अन्तर्राष्ट्रिय मानव अधिकार संस्था इक्विडेम अन्तर्राष्ट्रिय एक्स्पो