अर्थ

वैदेशिक रोजगारीका नाममा ठगिँदै युवा

वैदेशिक रोजगारीमा जाने कतिपय युवा अञ्जानमा र कतिपय चाहिँ जानी–जानी फस्नेगरेको पाइएको छ। सिप नसिकी जाने, तोकिएभन्दा बढी पैसा एजेन्टलाई बुझाउने र कानुनी दायित्व पूरा नगरी विदेश जाँदा युवाले बढी दुःख पाइरहेका छन्।  

रोजगारीका लागि विदेशिने युवा धेरैजसो आफन्तबाटै पीडित हुनेगरेको पनि पाइएको छ। ‘विदेश पुग्नसम्म पाए कमाएर पठाइहालिन्छ’ भन्ने गलत मानसिकताका कारण सयौं युवाले दुःख पाइरहेका छन्। सिप नसिकी विदेश पुगेर अलपत्र पर्ने, कानुनी प्रक्रिया नपुर्‍याइ जाने र म्यानपावर कम्पनीहरूलाई कानुनविपरीत मोटो रकम तिर्ने युवाको जमात ठूलो रहेको वैदेशिक रोजगारी व्यवस्थित गर्न प्रयासरत सरोकारवालाले जनाएका छन्।  

अहिले जिल्लाका इलाम, देउमाई र सूर्याेदय नगरपालिका तथा माङ्सेबुङ गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना चलिरहेको छ। परियोजनाले भरसक वैदेशिक रोजगारीमा नजान र जानैपरे सिप सिकेर, कानुनी प्रक्रिया पुर्‍याएरमात्र जान युवालाई परामर्श दिनेगरेको छ। त्यतिमात्र होइन, युवालाई सिप सिकाउने, तालिम दिने, न्यायमा सहजीकरण, सूचनामा पहुँच, परामर्श र निःशुल्क सिप सिफारिसको कामसमेत गरिरहेको परियोजना संयोजक ईश्वरी तामाङले बताए। उनका अनुसार वैदेशिक रोजगारीका नाममा गाउँ–गाउँमा सयौं युवा ठगिएका छन्। ‘वैदैशिक रोजगारीमा जाने नाममा युवाहरू ठगिएको अवस्था बिकराल छ,’ उनले भने, ‘एकै युवा ३ पटकसम्म ठगिएकोसमेत पाएका छौं।’  

युवाले म्यानपावर कम्पनीहरूलाई बिल–भरपाईबिनै मोटो रकम बुझाउने गरेका छन्। १० हजार रुपैयाँ तिरेर जान पाइने ठाउँमा २ लाख रुपैयाँसम्म तिरेर विदेश जाने तर सर्तअनुसार रोजगारी नपाउने समस्या पाइएको छ। प्रमाणबिनै एजेन्टलाई मोटो रकम बुझाउने र रकम डुबेपछि न्याय खोज्न आउने युवाको संख्या पनि कम छैन। ‘प्रमाणैबिना रकम बुझाएपछि न्याय खोज्न कठिन हुन्छ,’ तामाङले भने, ‘कतिपय युवा थाहा नपाएर र कतिपय चाहिँ थाहा पाएरै पनि यसरी ठगिइरहेका छन्।’ उनले कतिपय युवा कानुनविपरीत विदेशमा रहेका र उनीहरूको मृत्यु भए उद्धार गर्न ठूलो चुनौती हुनेगरेको पनि बताए।  

तामाङले युवालाई विदेश जानभन्दा स्वदेशमै रोजगारीको बाटो देखाउने, यहीं उद्यम गर्ने अवसर र सम्भावना केलाइदिने गरेको बताए। विदेशमा अभर परेका युवालाई स्वदेश ल्याउने, वैदेशिक रोजगारीमा विदेशमै मृत्यु भएका व्यक्तिको शव ल्याउन पहल गर्ने, ठगिएका युवालाई न्यायमा पहुँच पु¥याउने र गाउँमै वित्तीय साक्षरताजस्ता काम भइरहेको उनले जानकारी दिए। इलाम नगरपालिकाले नेपाल र स्विस सरकारको साझेदारीमा यो परियोजना ४ स्थानीय तहमा सञ्चालन गरेको छ।  

घर–परिवारसँगै बसेर स्वरोजगार बन्ने, रोजगारी गर्ने प्रसस्त अवसर गाउँमै भएपनि कतिपय युवा थाहा नपाएरै विदेशिन बाध्य छन्। ‘वैदेशिक रोजगारीमा पनि जानै हुँदैन भन्ने होइन,’ तामाङले भने, ‘गाउँमै अवसर छन् भने यहीं उद्यम गरौं, जानैपरे कानुनीप्रक्रिया पूरा गरेर सिप सिकेरमात्र जानुपर्छ भन्नेबारे युवालाई सचेत गर्दैछौं।’  

कामदारलाई बिमा, स्वास्थ्य परीक्षण, करारनामालगायत काम गर्दा र म्यानपावर कम्पनी छनोट गर्दा ध्यान दिनुपर्ने विषयबारे पनि केन्द्रले सचेत गराउँदैछ। विदेशमा जेलमा परेका कामदारको स्थिति पत्ता लगाउने र उद्धार गर्ने तथा वैदेशिक रोजगारीसम्बन्धी भएका ठगी मुद्दामा पीडितलाई सहयोग गर्ने कार्यक्रम रहेको उनले जनाए।  परियोजनाअन्तर्गत वैदेशिक रोजगारीमा भएका व्यक्तिका परिवार त्यही कारणले तनावमा भए उनीहरूलाई मनोसामाजिक तालिम उपलब्ध गराइनेछ। ‘वैदेशिक रोजगारीबाट आएको विप्रेषण कसरी सदुपयोग गर्ने भन्ने विषयमा पनि तालिम सञ्चालन गरिँदैछ,’ तामाङले भने, ‘विभिन्न व्यवसायमा युवाका लागि सिर्जना हुने अवसरबारे पनि छलफल चलाइँदैछ।’  

परियोजनाका १ नम्बर प्रदेशस्थित कार्यक्रम अधिकृत रामकुमारलाल कर्णले वैदेशिक रोजगारीले केही सकारात्मक र केही सामाजिक विकृति (लागत) समेत निम्त्याइरहेको बताए। वैदेशिक रोजगारीबाट विप्रेषण प्राप्त हुनु, युवाले सीप, ज्ञान र अनुभव हासिल गर्नु, शिक्षा, स्वास्थ्यलगायत अन्य आधारभूत आवश्यकता पूरा गर्नु यसको सकारात्मक पक्ष भएको बताए। उनले वैदेशिक रोजगारीकै कारण युवामा आत्मनिर्भरता, सामाजिक प्रतिष्ठा, उद्यमशीलता र जीवनस्तर सुधारसमेत भएको जनाए।  

तर, यसले निम्त्याएको सामाजिक लागत चाहिँ कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा काम गर्नु आवश्यक रहेको उनको भनाइ छ। उनले वैदेशिक रोजगारीका कारण परिवार तथा बालबच्चाबाट टाढा रहनुपर्ने, पारिवारिक बेमेल (छोडपत्र), बालबालिका र वृद्धवृद्धाको हेरचाहमा कमी, मानसिक तनाव र सामाजिक लाञ्छनाजस्ता सामाजिक समस्या निम्त्याएको बताए। ‘वैदेशिक रोजगारीकै कारण युवाहरू अत्यधिक ऋणमा परेको, ठगिएको, जेल परेको, शोषित, अंगभंग र अलपत्र परेको पाइएको छ,’ उनले भने, ‘कतिपयको यही कारण मृत्युसमेत भइरहेको छ।’ कर्णले वैदेशिक रोजगारी व्यवस्थित गर्नु नितान्त आवश्यक रहेको पनि बताए।

प्रकाशित: २० माघ २०७८ १२:१३ बिहीबार