अर्थ

निर्माणका काममा अझै सिण्डिकेटः मिलेमतोमै ११ टेण्डर लिइँदै

विकास निर्माणलगायतका काम ठेक्कामा दिँदा हुने मिलेमतो र बेथिति हटाउन ई–विडिङ गर्ने व्यवस्था रहेपनि मिलेमतोमा सीमित व्यवसायीले मात्र टेण्डर दर्ता गर्ने प्रवृति अझै हट्न सकेको छैन। निर्माणलगायतका काममा सीमित व्यवसायीहरुको सिण्डिकेट चलिरहेको छ। सीमित व्यवसायीहरुले आलोपालो गरेर विभिन्न सरकारी कार्यालयका कामहरु ठेक्का सकार्ने गरेका छन्। यसैबीच शहरी विकास तथा भवन कार्यालयले कैलालीमा गर्ने ११ वटा निर्माणका काममा आपसमा मिलेमतो गरेर टेण्डर दर्ता गरेको खुलासा भएको छ।

कार्यालयले ई–विडिङ नगरी हार्डकपी सूचना प्रकाशित गरेको थियो। गत पुस २५ गतेका दिन कैलाली र कञ्चनपुरका लागि १५ दिने सूचना जारी गर्दै २० वटा कामका लागि बोलपत्र आह्वान गरिएको थियो। बोलपत्रको सोमबार अन्तिम दिन कञ्चनपुरका ९ वटा निर्माणका काममा कुनै ठेक्का परेन। तर, कैलालीका ११ वटा निर्माणका कामका लागि भने निर्माण व्यवसायी संघका पदाधिकारीको पहलमै मिलेमतोमा फर्म दर्ता भएका हुन्। एउटा टेण्डरका लागि कम्तीमा ३ वटा फर्मको प्रतिस्पर्धा गराएर कम मूल्य भएको फर्मलाई स्वीकृत गर्ने प्रावधान भएकाले सोही बमोजिम ११ वटा कामका लागि ३/३ वटा फर्म दर्ता गरिएको छ।

स्रोतका अनुसार १ वटा कामका लागि कम्तीमा पनि ३ वटा फर्म अनिवार्य भएकाले व्यवसायीहरुले आपसमा मिलेमतो गरेर त्यहीबमोजिम ३ वटा फर्म दर्ता गराएका हुन्। ‘पाउने फर्मको बोलपत्र आह्वानको सूचना प्रकाशित भएको मूल्यभन्दा थोरै कम मूल्य राखिएको छ,’ स्रोतले भन्यो,‘नपाउने दुई वटा फर्मको मूल्य बढी राखिएको छ।’ स्वस्थ प्रतिस्पर्धाबाट काम गराइएमा कम मूल्यमा टेण्डर दर्ता हुँदा सरकारलाई नै फाइदा हुने स्रोत बताउँछ। ‘११ वटा निर्माणका काममा आवश्यक तीनभन्दा न कम न बढी फर्म दर्ता हुनुले कर्मचारीदेखि निर्माण व्यवसायीसम्मको मिलेमतो देखिन्छ,’ स्रोतले भन्यो। ई–विडिङ नभएकै कारण कञ्चनपुरका ९ वटा कामका लागि भने कञ्चनपुरका निर्माण व्यवसायीले टेण्डर दर्ताको जानकारी नै पाएनन्।

‘कञ्चनपुरका निर्माण व्यवसायीले टेण्डर दर्ता नगराएकाले कञ्चनपुरका निर्माणका ९ टेण्डर रद्द भएका छन्,’ एक व्यवसायीले भने,‘ई–विडिङ भएको भए देशभरीका निर्माण व्यवसायीले प्रतिस्पर्धा गर्न पाउथे, त्यो हुनबाट रोकियो।’ शहरी विकास तथा भवन कार्यालयका प्रमुख गोविन्द देवकोटाले टेण्डर आह्वानमा आफ्नो कुनै मिलेमतो र त्रुटि नभएको दावी गरे। उनले भने,‘बैंकिङ प्रक्रिया झन्झटिलो हुने भएकाले ई–विडिङ नगरी हार्ड कपीबाट सूचना प्रकाशित गरेका हौँ।’

११ वटा टेण्डरका लागि आवश्यक ३/३ वटाका दरले ३३ फर्म मात्रै दर्ता भएको बताउँदै उनले भने,‘३/३ वटा मात्रै फर्म दर्ता कसरी र किन भए भन्ने थाहा छैन।’ यो मात्र नभएर यहाँ हुने निर्माणका सबै काममा आलोपालो लगाएर निर्माण व्यवसायीले ठेक्का सकार्ने गरेका छन्। उनीहरूको निर्णय विपरीत गएर टेण्डर खरिद गर्ने र दर्ता गर्न तोकिएको व्यवसायीबाहेक अन्य व्यवसायीलाई दिइँदैन।  

निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले निर्माणका काममा सिण्डिकेट भएर केही व्यवसयीले मात्रै काम पाउने कुरा सत्य नभएको बताए। उनले भने,‘शहरी विकास तथा भवन कार्यालयमा भएको काममा सबैले प्रतिस्पर्धा गर्न पाएका छन्, तर ११ काममा ३३ वटा फर्म कसरी परे त्यो मलाई थाहा भएन।’ स्रोतका अनुसार टेण्डर दर्ता गर्ने समयमा निर्माण व्यवसायी संघका प्रतिनिधि, प्रशासनका प्रतिनिधिको रोहवरमा दर्ता प्रक्रिया थालिएको थियो। प्रकृया पुर्‍याउनका लागि ११ वटा काममा २० कम्पनीका फर्म प्रयोग गरी ३÷३ वटाका दरले टेण्डर दर्ता गरिएको पाइएको छ। प्रयोग भएका फर्मलाई मिलेमतोमै टेण्डर लिने व्यवसायले ‘च्याखें’ दिने स्रोतले बताएको छ।  

‘कैलालीमा करिब ७ सयको संख्यामा निर्माण व्यवसायी रहे पनि निर्माणका काम भने १० प्रतिशतले पनि पाउँदैनन्,’ एक व्यवसायीले भने,‘यो सब सिण्डिकेटका कारण अन्य व्यवसायी भने मारमा परेका छन्। मिलेमतोमा निर्माणका कामहरु ठेक्का दिइँदा काम गुणस्तरहीन हुने गरेको प्राविधिकहरु बताउँछन्। ‘सुरुदेखि नै मिलेमतोमा टेण्डर सकार्नेहरु गुणस्तरको काममा ध्यान दिँदैनन्,’ एक प्राविधिकले भने,‘कमिशनमा जस्तो काम गरे पनि मिलाइहालिन्छ भन्ने उनीहरुको सोच हुन्छ।’

गुणस्तरीय काम गरे पनि कमिसन नदिउँन्जेल प्राविधिकले स्वीकृत नगरिदिने निर्माण व्यवसायीको गुनासो छ। ‘जति राम्रो काम गरे पनि कामका आधारमा मूल्याङ्कन हुँदैन,’ एक निर्माण व्यवसायीले भने,‘गुणस्तरहीन काम गरे पनि कमिसनका आधारमा भुक्तानी मिल्ने भएकाले गुणस्तर काम हुँदैन।’

प्रकाशित: १२ माघ २०७८ ०८:४६ बुधबार