अर्थ

राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सव

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सोमबार ५७औं वार्षिकोत्सव मनाएको छ। भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दश शर्मा, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत सहभागी थिए।

अर्थमन्त्री शर्माले कृषि क्षेत्रमा दुईगुणा लगानी बढाउन बैंकलाई आग्रह गरे। कृषि क्षेत्रमा लगानी वृद्धि गरेपछि राष्ट्रिय पुँजी निर्माण, उत्पादन तथा रोजगारीमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ। उनले सरकारको नीति उत्पादनमुखी क्षेत्रको लगानीमा केन्द्रित रहेको उल्लेख गर्दै त्यसमा लगानी बढाउन आग्रह गरे। शर्माले आत्मनिर्भर हुन लगानी अति आवश्यक रहेको भन्दै बैंकले वैदेशिक ऋण ल्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने बताए।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंक, वित्तीय संस्थाले जथाभावी कर्जा दिने प्रवृत्ति हटाउन आवश्यक रहेको धारणा राखे। उनले चिनेजानेकै व्यक्ति हो भन्दै जथाभावी कर्जा दिँदा उद्यम गर्न खोज्नेलाई अप्ठेरो पर्ने बताए।

सही मान्छेलाई कर्जा दिँदा देशले राम्रो उद्यमी पाउने उल्लेख गर्दै उनले बैंक यस्ता कुरामा सदैव सतर्क रहनुपर्ने बताए। वार्षिकोत्सव अवसरमा मन्त्री शर्माले युएसएसडी सेवाको उदघाट्न तथा ‘उपहार’ पुस्तकको लोकार्पण गरेका थिए। २०२२ माघ १० मा स्थापित उक्त बैंकका देशभर दुई सय ५८ शाखा सञ्चालित छन्।

प्रकाशित: ११ माघ २०७८ ०३:१८ मंगलबार

राष्ट्रिय वाणिज्य बैंक ५७औं वार्षिकोत्सव