अर्थ

मेलम्ची खानेपानी आयोजनाः अस्थायी मर्मतको जिम्मा सिनो हाइड्रोलाई

सरकारले बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स क्षेत्र पुनर्निर्माणको काम चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो कम्पनीलाई भेरिएसनमार्फत गराउन स्वीकृति दिएको छ।

हालसालै बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको मुहान क्षेत्रमा थुप्रिएको गेग्य्रान सफा गरेर मेलम्चीको पानी अस्थायी रूपमा पथान्तरण गर्ने काम भेरिएसनमार्फत गराउन मेलम्ची खानेपानी विकास समितिलाई स्वीकृति दिएको हो।

समितिले आयोजनाको हेडवक्र्स तथा सुरुङ निमाणको ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोलाई करिब ३२ करोड रूपैयाँ लागतको भेरिएसन स्वीकृत भएको पत्र चार दिनअघि दिइसकेको छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौड्यालले मन्त्रिपरिषद्को बैठकले मेलम्चीको पानी अस्थायी रूपमा पथान्तरणको काम भेरिएसनमार्फत गर्न स्वीकृति दिएको जानकारी दिए।

‘मन्त्रिपरिषद् बैठकले मेलम्ची आयोजनाको काम भेरिएसनमार्फत गराउन स्वीकृति दिइसकेको छ,’ उनले भने, ‘समितिले पनि चार दिनअघि ठेकेदार कम्पनी सिनो हाइड्रोलाई भेरिएसन स्वीकृति भएको जानकारी गराइसकेको छ।’ कार्यकारी निर्देशक पौडेलले करिब ३२ करोड रूपैयाँको थप भेरिएसन स्वीकृत भएको जानकारी दिए।

‘बाढी–पहिरोले क्षतिग्रस्त मेलम्ची आयोजनाको अत्यावश्यक संरचना तयार पारेर अस्थायी रूपमा पानी उपत्यका ल्याउन भेरिएसनमार्फत निर्माण गर्न लागिएको हो,’ उनले भने, ‘अब केही दिनभित्रै ठेकेदार कम्पनीले क्याम्प तयार पारेर हेडवक्र्स क्षेत्रमा थुप्रिएको गेग्य्रान र संरचना हटाउने काम सुरु गर्नेछ।’ ठेकेदार कम्पनीले केही दिनभित्रै हेडवक्र्स क्षेत्रको मर्मतसम्भार तथा पुनर्निर्माणको काम सुरु गर्ने पनि उनले बताए।

‘सरकारले चैत मसान्तभित्रै अस्थायी संरचनाबाट मेलम्चीको पानी उपत्यका झार्ने लक्ष्य राखेको थियो। सोही लक्ष्य अनुसार कार्यसम्पादन गर्न ठेकेदार कम्पनीलाई अनुरोध गरेका छौं,’ उनले भने, ‘ठेकेदार कम्पनीले केही दिनभित्रै कामदार तथा उपकरण परिचालन गरेर मर्मतसम्भार सुरु गर्नेछ।’ गत असार १ र साउन १५ को बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स जाने अम्बाथानको पहुँचमार्ग, कफर ड्यामसहित हेडवक्र्समा ठूलो क्षति पुर्‍याएको थियो। पहुँचमार्गमा पर्ने चनौटेको पुल क्षतविक्षत बनाएको थियो।

आयोजनाका अनुसार अहिले चनौटेदेखि अम्बाथानसम्म जाने अस्थायी बाटो तयार भइसकेको छ। मेलम्चीमा आएको बाढीपहिरोले करिब ८ किलोमिटर पहुँचमार्ग र ६ वटा पुलको संरचनामा क्षति पुर्‍याएको थियो।

अहिले अस्थायी बाटो र अस्थायी पुल निर्माण गरेर आयोजनासम्म पुग्ने बाटो तयार गरिएको छ। मेलम्ची नदीको पानी डाइभर्सन गर्न निर्माण गरिएको कफरड्याम समेत बाढीपहिरोले ल्याएको गेग्य्रानले पुरिएको छ। हेडवक्र्समा रहेको कफरड्यामदेखि अम्बाथान पोर्टलसम्मको करिब दुई किलोमिटर नदी खण्डमा १० मिटरभन्दा अग्लो गेग्य्रान थुप्रिएको छ।

कार्यकारी निर्देशक पौड्यालले प्रक्रियागत झन्झटको कारण क्षतिग्रस्त मेलम्ची संरचनाको निर्माण प्रक्रिया थाल्न केही समय लागेको बताए। मेलम्चीमा बाढी आएको सात महिनामा सबै प्रक्रिया पूरा गर्न सक्यौं,’ उनले भने, ‘अब गेग्य्रान सफा गर्ने लगायत कामले गति लिनेछ।’

समितिका तत्कालीन कार्यकारी निर्देशकले गत भदौमा बुझाएको क्षतिको विवरण र कार्ययोजनामा बाढीपहिरोले क्षतिग्रस्त आयोजनाको पहुँचमार्गको काम असोज पहिलो साताबाटै सुरु गर्ने कार्यतालिका थियो।

सो कार्ययोजनामा असोजको दोस्रो साताबाट हेडवक्र्स क्षेत्रको ढुंगा, गिटी, बालुवा र माटो हटाउने कार्य प्रारम्भ गर्ने, अम्बाथान पोर्टल खुला गरी गरी टनेल डिवाटरिङ, निरीक्षण एवं आवश्यक मर्मत कात्तिक दोस्रो सातासम्म सम्पन्न गर्ने कार्ययोजनामा थियो। कफरड्यामको पुनर्निर्माण पुसको दोस्रो सातासम्म सम्पन्न गर्ने लक्ष्य थियो। त्यसैगरी अस्थायी कफरड्यामबाट मेलम्चीको पानी माघ महिनाभित्रै पथान्तरण गर्न सकिने कार्ययोजनामा उल्लेख थियो।

तर खानेपानी मन्त्रालयले क्षतिग्रस्त संरचना पुनर्निर्माणको प्रस्ताव समयमै मन्त्रिपरिषद्बाट स्वीकृत गराउन नसक्दा पुनर्निर्माणको कामले गति लिन सकिरहेको थिएन।

प्रकाशित: ११ माघ २०७८ ०२:०७ मंगलबार

मेलम्ची खानेपानी आयोजना सिनो हाइड्रो कम्पनी