अर्थ

विराटनगर नाकाको आयात–निर्यात आँशिक सुचारू

भारतमा रोकिएका ठूला मालबाहक सवारीसाधन भाण्टावारी रि–रुटको तयारी

मिरगञ्ज पुलको समस्या दीर्घकालीन रुपमा समाधान गर्न मागसहितको ज्ञापनपत्र परराष्ट्रमन्त्री डा नारायण खड्कालाई बुझाउँदै मोरङ व्यापार संघका प्रतिनिधिहरू। तस्बिरः नागरिक

भारतको जोगवनी नजिकको मिरगञ्जपुल भासिएपछि ५ दिनदेखि भारततर्फ रोकिएका मालबाहक सवारी भीमनगर–भाण्टावारी रि–रुट हुने भएको छ। रोकिएका मालबाहक सवारीसाधन भीमनगर–भाण्टावारी रि–रुट गर्न नेपाल र भारत दुवै देशबीच सहमति भइसकेको विराटनगर भन्सार कार्यालयले जनाएको छ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाले दुवैदेशबीच रोकिएका मालबाहक सवारी भीमनगर—भाण्टावारी रि–रूट गर्ने सहमति अनुसार भन्सार विभागले परिपत्र गरिसकेको छ। यस्तै भारतीय पक्षले सहमति जनाइसकेको र पत्र आउनेक्रममा रहेको छ। भारतीयपक्षको पत्र प्राप्त भएपछि रोकिएका मालबाहक सवारी मंगलबार वा बुधबारदेखि भीमनगर—भाण्टावारी नाकाबाट रि–रूट हुनेछन्। यसैगरी मिरगञ्ज पुलको वैकल्पिक मार्गबाट ठूला लहरी बाहेकका मालबाहक सवारीसाधन सुचारु भएको छ।

सोमबारदेखि वैकल्पिक मार्गबाट लहरी बाहेकका अन्य सवारीसाधन आवतजावत गर्न थालेका छन्। भन्सार प्रमुख सापकोटाले भने,‘वैकल्पिक मार्गबाट ठूला मालबाहक लहरीबाहेक मालबाहक ट्रकहरू आवतजावत गर्न थालिसकेका छन्।’ विराटनगर भन्सार कार्यालयका अनुसार सोमबार ५५ वटा मालबाहक सवारीसाधन वैकल्पिक बाटोबाट नेपाल प्रवेश गरेका छन्। यस्तै ८० वटा गाडिहरू नेपालबाट भारततर्फ गएका छन्।

यस्तै भारततर्फ रोकिएका ठूला लहरीहरू भने वैकल्पिक बाटोबाट ल्याउन सम्भव नभएकाले भीमनगर–भाण्टावारी हुँदै नेपाल ल्याउने तयारी भइरहेको छ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्दडाले निरन्तरको पहलपछि रोकिएका मालबाहक सवारीसाधन रि–रूट भएर आउन लागेको बताए। मुण्दडाले भने, ‘हाम्रो निरन्तरको पहलले भारततर्फ रोकिएका मालबाहक सावारीसाधन भीमनगर भाण्टावारी नाकाबाट रि–रूट हुने भएको छ।’ भारतको जोगवनी नजिकैको मिरगञ्ज पुल भासिएपछि गत बिहीबारदेखि विराटनगर नाकाको आयात—निर्यात ठप्प भएको थियो।

विराटनगर नाका ठप्प हुँदा नेपालतर्फ आउँदै गरेका एक हजारभन्दा बढी सवारीसाधन भारतीय क्षेत्रमा रोकिएका थिए। भारततर्फ मालबाहक सवारी साधन रोकिँदा आयातित बस्तुको लागत प्रतिदिन २५ देखि ३५ हजार रुपैयाँसम्म बढ्ने व्यवसायीहरू बताउँछन्।  उद्योगी व्यवसायीहरूले तत्काल रि–रुटको व्यवस्था गरी रोकिएका मालबाहक सवारी साधनहरू नेपाल ल्याउने व्यवस्था गर्न सरकारसँग माग गर्दै आएका थिए।

यसैबीच मोरङ व्यापार संघका प्रतिनिधिले सोमबार मिरगञ्जपुलको समस्या दीर्घकालीन रुपमा समाधान गर्न भारतसँग पहलको माग गर्दै परराष्ट्र मन्त्री डा .नारायण खड्कालाई ज्ञापनपत्र बुझाएको छ। मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल र पूर्व अध्यक्ष श्री महेश जाजूले नेपालका परराष्ट्र मन्त्री खड्कालाई प्रत्यक्ष भेट गरी पुलको समस्या दीर्घकालीन रुपमा समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो।

पत्र मार्फत संघले भारतसहित तेश्रो मुलुकबाट नेपाल भित्रने मालवाहक सवारीसाधनहरुका लागि हाल भारतको भीमनगर–भन्टाबारी भन्सार नाकासहित अररिया जिल्लाको अररिया–कुर्सा कांटा–जोगबनी मार्गलाई वैकल्पिक मार्गको रुपमा संचालनमा ल्याउन अनुमति दिनुपर्ने, जिर्ण अवस्थाको मिरगंज पुलको तत्कालै मर्मत गर्नुपर्ने, सो पुल नजिकै  निर्माणाधीन नयाँ पुलको निर्माण कार्य यथाशिध्र सम्पन्न गराइ तत्कालका लागि नयाँ पुलको एक लेन भएपनि संचालनमा ल्याउनु लगायतका माग राखेका छन्।

मिरगञ्ज पुलको विकल्प निर्माणाधीन पुल नै भएकाले जतिसक्दो चाँडो सो पुल  सञ्चालनमा ल्याउनु पूर्वका उद्योगी व्यवसायीले सरकारलाई आग्रह गर्दै आएका छन्।

पुल क्षतिग्रस्त हुँदा गत पौष २२ गते दिनको २ बजेदेखि भारतको स्थानीय प्रशासनले सो पुल मार्फतको आवागमनमा पूर्ण रोक लगाएको थियो। पुलका कारण निम्तिएको समस्या समाधानका लागि नेपाल उद्योग परिसंघ प्रदेश १ अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मून्दडालगायतको टोलिले स्थलगत रुपमा निरीक्षण गरि समस्या समाधानका लागि पहल थालेको थियो।

प्रकाशित: २६ पुस २०७८ १४:०१ सोमबार

आँशिक सुचारू विराटनगर नाका