अर्थ

पुनर्कर्जा आधाभन्दा बढी पर्यटनमा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनामा (साउन–कात्तिकसम्म) करिब नौ अर्ब रूपैयाँ पुनर्कर्जा प्रवाह गरेको छ। यस अवधिमा प्रवाह भएको पुनर्कर्जामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा गएको छ।

राष्ट्र बैंकका अनुसार ४ महिनामा ४ अर्ब ९५ करोड रूपैयाँ पुनर्कर्जा पर्यटन क्षेत्रमा गएको छ। यो यस अवधिमा प्रवाह भएको कर्जाको ५५.०६ प्रतिशत हो।

पर्यटनपछि धेरै पुनर्कर्जा उत्पादनमूलक क्षेत्रमा (२०.४३ प्रतिशत) गएको छ। ४ महिनाको अवधिमा जलविद्युत् क्षेत्रमा १६.२३, यातायातमा २.७३, शिक्षामा २.७२, अस्पतालमा २.२२ र कपडा उद्योगमा ०.६१ प्रतिशत पुनर्कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ। यो कर्जा विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको हो।

प्रदेशगत हिसाबले सोही अवधिमा सबभन्दा धेरै पुनर्कर्जा संघीय राजधानी रहेको वाग्मती प्रदेशमा गएको छ। ४ महिनामा प्रवाह भएको कुल पुनर्कर्जामध्ये वाग्मतीमा करिब ४७ प्रतिशत लगानी भएको छ भने गण्डकीमा २६.२७, लुम्बिनीमा १३.५४, प्रदेश २ मा ५.४८ र प्रदेश १ मा ७.२७ प्रतिशत पुनर्कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले कोरोना प्रभावित उद्योग, व्यवसायीलाई सहयोग पुग्ने गरी गत वर्ष पुनर्कर्जा कोषमा रहेको ४२ अर्ब रूपैयाँको चार गुनासम्म कर्जा प्रवाह गर्ने कार्यक्रम ल्याएको थियो।

गत वर्ष साढे एक खर्ब पुनर्कर्जा

कोरोना प्रभावित उद्योगी, व्यवसायीलाई गत वर्ष १ खर्ब ४९ करोड रूपैयाँ लगानी गरिएको थियो। राष्ट्र बैंकका अनुसार सो वर्ष करिब ४८ हजार ९ सयले पुनर्कर्जा लिएका थिए। पुनर्कर्जा कोषमा रहेको ४२ अर्ब ५० करोड रूपैयाँको पाँच गुणासम्म पुनर्कर्जाका रूपमा प्रवाह गर्न पाउने कार्यविधि अनुसार ७० प्रतिशत (१ खर्ब ४८ अर्ब रूपैयाँ) बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रूपमा लगानी गर्न पाउने व्यवस्था छ।

त्यस्तै राष्ट्र बैंकले २० प्रतिशत (४२ अर्ब ५० करोड रूपैयाँ) सिधैं ग्राहक पुनर्कर्जा शीर्षकमा लगानी गर्न पाउँछ। लघुवित्त वित्तीय संस्थाले बाँकी २१ अर्ब २५ करोड रूपैयाँ एकमुष्ट रूपमा आफ्ना ग्राहकलाई कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ।

पुनर्कर्जा कार्यक्रमको सुरुताका बैंक तथा वित्तीय संस्थाले अपेक्षित रूपमा कर्जा प्रवाह नगरेपछि राष्ट्र बैंकले कार्यविधि परिमार्जन गरी सिधै पुनर्कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको थियो। त्यसपछि एकातिर राष्ट्र बैंकले ठूला व्यवसायीलाई ग्राहक मूल्यांकनको आधारमा लगानी गर्न थाल्यो भने त्यसपछि बैंक तथा वित्तीय संस्थाले पनि लगानीलाई तीव्रता दिए।

पुनर्कर्जा सुविधाका लागि कार्यविधि बनाइएको छ। कर्जा पाउन तोकिएका मापदण्ड पूरा गर्नुपर्छ। मापदण्ड पूरा गर्न कोरोना महामारीबाट अति र मध्यमस्तरको पीडित हुनुपर्छ। कार्यविधि अनुसार ग्राहकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनर्कर्जा पाउँछन्। यसअघि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले पाउने कर्जा नै पुनर्कर्जा हो।

गत वर्ष पनि धेरै पुनर्कर्जा पर्यटन क्षेत्रमा

गत वर्ष पनि धेरै पुनर्कर्जाको सुविधा पर्यटन क्षेत्रले पाएको छ। राष्ट्र बैंकका अनुसार त्यस वर्ष कुल कर्जामध्ये पर्यटन क्षेत्रले ४७.२६ प्रतिशत पुनर्कर्जा उपयोग गरेको थियो।

कोरोना संक्रमणबाट बँच्न पटक–पटकको लकडाउन र निषेधाज्ञाका कारण पर्यटन क्षेत्र अति प्रभावित भएको छ। निषेधाज्ञा खुकुलो बनाइए पनि कोरोना महामारीअघिको अवस्थामा फर्किन यो क्षेत्रलाई धेरै समय लाग्ने देखिन्छ।

कोभिड–१९ को जोखिमबाट सबैभन्दा धेरै प्रभावित भएकै कारण पर्यटन क्षेत्रले पुनर्कर्जामा प्राथमिकता पाएको राष्ट्र बैंकका अधिकारी बताउँछन्। पर्यटनसँगै होटल, रेस्टुरेन्ट, शैक्षिक संस्था, पार्टी प्यालेस, यातायातलगायत अति प्रभावित क्षेत्रले पनि पुनर्कर्जाको सुविधा पाएको राष्ट्र बैंकले जनाएको छ।

एक महिनाभित्र ९२ अर्ब जाँदै

यसैबीच राष्ट्र बैंकले १ महिनाभित्र पुनः ९२ अर्ब रूपैयाँ पुनर्कर्जा दिने तयारी गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले एक हप्ताभित्र ५२ अर्ब र १ महिनाभित्र बाँकी ४० अर्ब रूपैयाँ पुनर्कर्जा सबै बैंकमा पठाउने जानकारी दिए।

पुनर्कर्जाको सुविधाले अहिले देखिएको तरलता अभाव कम गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। कोरोना महामारीले उद्योग व्यवसाय प्रभावित भएपछि केन्द्रीय बैंकले गत वर्षदेखि पुनर्कर्जा दिन थालेको हो। पुनर्कर्जा कोषमा रहेको ४२ अर्ब रूपैयाँको पाँच गुणा अर्थात् २ खर्ब १२ अर्ब रूपैयाँसम्म पुनर्कर्जा दिन सकिने बताइएको छ।

प्रकाशित: २३ पुस २०७८ ०१:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App