अर्थ

सडक निर्माण हुने भएपछि धर्ना स्थगित

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारको काम अघि बढ्ने भएको छ। सडक विस्तारको काम लामो समयसम्म पनि अगाडि बढ्न नसकेपछि स्थानीयवासी आन्दोलित बनेका थिए। सडक विस्तारको काम अगाडि बढ्ने भएपछि आजदेखि आह्वान गरेको धर्ना कार्यक्रम स्थगन गरिएको छ।

चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा सङ्गठित स्थानीयवासीले सडक मर्मतको मुख्य मागसहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन दवाब दिन भन्दै आजदेखि डिभिजन सडक कार्यालय बुटवलमा धर्नाको कार्यक्रम सार्वजनिक गरेका थिए। सडकको भेरिएसन अर्डर स्वीकृत भई ठेकेदारले काम सुरु गर्ने भनेकाले धर्नाको कार्यक्रम स्थगन गरिएको समितिका अध्यक्ष कमल गौतमले जानकारी दिए।

समितिले झुम्सा खानेपानी योजना तुरुन्त सम्पन्न गर्नुपर्ने, ज्योतिनगर, लक्ष्मिनगर पाखापानी र ताइवान टोलमाथिको पहिराको नियन्त्रण गरी बस्तीलाई तत्काल सुरक्षित गनुपर्ने माग राखी दुई महिने संर्घषका कार्यक्रम सार्वजनिक गरेको थियो। अन्य कार्यक्रमलाई यथावत राख्दै बन्दको कार्यक्रम स्थगन गरिएको गौतमले बताए।

समितिले केही दिनअघि नागरिक समाज तथा सरोकारवालासँगको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यालयमा समस्या समाधानका लागि ध्यानाकर्षण गराएको थियो। रासस

प्रकाशित: ४ पुस २०७८ ०५:४३ आइतबार

सडक निर्माण चौराहादेखि गोलपार्कसम्मको सडक