अर्थ

खाद्य प्रविधिद्वारा २७ उद्योगविरुद्ध मुद्दा दायर

बजारमा न्यून गुणस्तर तथा दूषित वस्तु उत्पादन तथा बिक्री गर्ने दुई दर्जन बढी उद्योगविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुद्दा दायर गरिएको छ। विभागले दूध तथा दुग्धजन्य पदार्थ, मसला, खाद्यान्न दलहन, प्रशोधित पिउने पानी, तेल दाना लगायतका उद्योगविरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खाद्य ऐन तथा नियम अनुसार विभागले आठ सय ५२ नमूना संकलन गरेर परीक्षण गरेको छ। नूना परीक्षण गर्दा ६.६८ प्रतिशत नमूना अखाद्य रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलेका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए।

बजारमा अखाद्य वस्तुको बिक्री बढेको गुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडाई गरेको जनाएको छ।

स्वदेशमा उत्पादन भएका तथा विदेशीबाट आयातित खाद्य वस्तु समेत गुणस्तर मापदण्ड विपरित भेटिएपछि ६१ खाद्य पदार्थका कन्साइन्मेन्टहरुको अनुमति अस्वीकृत गरिएको छ।

गैर कानुनी रुपमा मापदण्ड विपरित नेपालमा बिक्री वितरणका लागि भारतबाट भित्र्याउन लागिएका खाद्यवस्तु आयातमा रोक लगाएको विभागले जनाएको छ।

मानव स्वास्थ्यमा गम्भिर असर पुग्ने गरी खाद्य वस्तुको उत्पादन तथा बिक्री गरेकाले कारबाही गरिएको विभागका महानिर्देशक मतिना जोशी वैद्यले बताइन्। ‘खाद्य ऐन तथा खाद्य नियमावली प्रतिकुल हुने गरी खाद्य व्यवसाय सञ्चालन गर्ने उद्योगी तथा व्यवसायीलाई कारबाहीको दायरामा ल्याएका छौं,’ वैद्यले भनिन्।

विभाग र माताहतका निकायले अनुगमन गर्ने क्रममा कैफियत भेटिएपछि कानुनी दायरामा ल्याएका हुन्।

प्रकाशित: २६ मंसिर २०७८ १३:५२ आइतबार

खाद्य प्रविधि २७ उद्योगविरुद्ध मुद्दा