अर्थ

दुई सय विगाहामा रैथाने जातको धान खेतीको योजना

गुलरिया–४ खैरीमा स्थापना भएको राष्ट्रिय खाद्य बैकले कृषिलाई आधुनिक प्रणालीलाई आधार बनाएर रैथाने जातको धान खेती विस्तार गर्ने योजना खुलासा गरेको छ। २२ जिल्लामा माटो परीक्षण गरेर आधुनिक खेती गरिरहेको खाद्य बैंकले गुलरियामा पनि रैथाने धान खेती विस्तार गरेको छ।

पहिलो चरणमा ७ किसिमका रैथाने जातका धानको बिउ रोपेर २५ बिगाहामा सुरु गरेको छ।आधुनिक कृषि प्रणाली विस्तारका लागि खाद्य बैंकले रैथाने जिनसम्बन्धी खोजतलास गरेर बर्दियाको गुलरियामा धान खेती विस्तार गरेको जनाएको छ।

शनिवार खाद्य बैंकको मुख्यालय खैरीमा आयोजित पत्रकार सम्मेलनमा बिज्ञ डा. मोहन पन्थीले देशभर नै माटो परीक्षण गरेर कार्ययोजना विस्तार गरिरहेको जानकारी दिए। खाद्य बैंकले रैथाने जातको बालीको परीक्षणपछि छरिएका किसानलाई एकीकृत गरेर योजनाबद्ध तरिकाले अघि बढ्ने समेत पन्थीले खुलाए। ‘हामीले धान खेती बर्दियामा सुरुवात गरेका छौं’, आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उत्पादन हेरेर २ सय बिगाहामा धान खेती गर्ने लक्ष्य छ।’

किसानलाई बिउ उपलब्ध गराएर उब्जनी समेत गर्ने बैंकको योजना रहेको उनले बताए। ‘चाक्लाबन्दी गरेर खेती गर्छौं भन्ने बिषय यतिबेला असम्भव छ’, उनले भने, ‘किसानलाई बैंकको संरचनाभित्र ल्याएर बिउ र बिजन उपलब्ध गराएर खरिद केन्द्रको रुपमा बैंकले काम गर्छ।’

उनका अनुसार खाद्य बैंकले उत्पादन गरेका गुणस्तरयुक्त खाद्य सामाग्रीहरुको सुरक्षित भण्डारण गरी बैंक मार्फत आफ्नै सेल्फ डिपो र होम डेलिभरीहरु ई कर्मश मार्फत बितरण गर्ने छ। बैंकले नमूनाको रुपमा हाँसपालन पनि गरेको छ। हाँसको माग भएमा बिदेशमा निर्यात गर्ने योजना रहेको संचालक बिनु प्रसाद पाठकले बताए। ‘बैंकले सुरुको चरणमा काम गरिरहेको छ’, उनले भने, ‘भविष्यमा योजनाबद्ध तरिकाले काम गरेर परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीमा ढाल्ने छ।’ कृषिप्रधान देशका हजारौं किसान बैंक मार्फत लाभान्वित हुने उनले दाबी गरे।

पाईलट प्रोजेक्टको रुपमा काम गरिरहेको कार्यकारी अध्यक्ष शंकर नाथ उप्रतिले बताए। किसानसँग मिलेर कृषिमा आत्मनिर्भर गराएर देशको अर्थ टेवा पुर्याउने अर्को लक्ष्य रहेको उप्रेतिले बताए। बैंकले उत्पादन गर्ने वस्तु वा खानेकुरा पूर्ण रुपमा अर्गानिक र प्राकृतिक खानेकुरा उत्पादन गर्ने उनले बताए।

प्रकाशित: १३ कार्तिक २०७८ १४:०५ शनिबार

आधुनिक खेती कृषिमा आत्मनिर्भर