अर्थ

हिमाली च्याङग्रामा ‘बिचौलिया’ हावी

किसानले बेचेका च्याङग्रा तीनदेखि चारतह पार गरेर बल्ल उपभोक्तासम्म

दसैंका लागि पोखरा झर्दै गरेका च्याङग्रां । फाइल तस्बिरः नागरिक

नुर्पु गुरुङ, मुस्ताङको लोमान्थाङ गाउँपालिका–७ न्याम्दोमा पशुपालक किसान हुन् । उनले खोरमा आठसय च्याङग्रा पालेका थिए । तीमध्ये ५ सय ५ वटा च्याङग्रा उनले बिक्री गरिसके । भदौ मध्यतिर उनले प्रतिगोटा २७ हजार रुपैयाँ हाराहारीमा स्थानीय व्यवसायीलाई च्याङग्रा बिक्री गरेका थिए ।  

गुरुङले बिक्री गरेका तिनै च्याङग्रा स्थानीय व्यवसायीले बाहिरी व्यवसायीलाई प्रतिगोटा ३४–३५ हजार रुपैयाँमा बिक्री गरेका छन् । आफुसँग खरिद गरेका च्याङग्रा झन्डै एकमहिना पालेर बाहिरी व्यवसायीलाइ बिक्री गर्दा प्रतिगोटा कम्तिमा ७ हजार रुपैयाँ स्थानीय व्यवसायीले नाफा कमाएको उनले बताए । स्थानीय व्यवसायीसँग किनेका बाहिरी व्यवसायीले ती च्याङग्रा दसैंको बेला पोखरा र काठमाडौं झार्दैछन् ।  

हिमाली जिल्ला मुस्ताङका च्याङग्रा खरिद गर्नका लागि पोखरा, काठमाडौं लगायतका सहरबाट व्यवसायी जाने गर्छन । ती सहरीया व्यवसायीले स्थानीय व्यवसायीसँग च्याङग्रा किनेर पोखरा झार्छन । सहरबाट जाने व्यवसायीले किसानसँग सिधै च्याङग्रा किन्न पाउँदैनन, किनकी पहिल्यै स्थानीय व्यवसायीले किसानसँग किनिसकेका हुन्छन् । किसानसँग किनेका च्याङग्रा स्थानीय व्यवसायीले बाहिरबाट जानेलाई बिक्री गर्दा मुल्य थपिँदै जाने गरेको किसानको गुनासो छ ।

‘बीचका व्यवसायीको चलखेलले गर्दा उपभोक्तालाई वर्षेनी च्याङग्राको मासु महंगो पर्ने गरेको छ । यो अवस्था अहिले झनै डरलाग्दो भएको छ,’ नुर्पुले भने, ‘हामीले वर्षाै लगाएर पालेका च्याङग्रा किनेका किसानले बढीमा एकमहिना पालेर ठुलो नाफा लिएर बाहिरबाट गएका व्यवसायीलाई बिक्री गर्छन ।’

 बाहिरबाट आएका व्यवसायीले स्थानीय व्यवसायीसँग किनेका च्याङग्रा सहरसम्म ढुवानी गर्दै नाफा लिँदा निकै नै महंगो पर्ने उनले बताए । ‘स्थानीय व्यवसायीले बिचौलियाको भूमिका निभाउँदा उपभोक्तालाई सधैं महंगो पर्ने गरेको छ,’ उनले भने, ‘किसानलाई नोक्सान छ । तर, बिचौलीयाका कारण उपभोक्ताले महंगो मुल्य तिर्नुपरेको छ ।’

उनका अनुसार पशुपालक किसानबाट स्थानीय व्यवसायीको खोरमा पुगेका च्याङग्रा बाहिरबाट गएका व्यवसायी हुँदै पोखरा झरेर उपभोक्ताको भान्सासम्म पुग्दा निकै नै महंगो पर्ने गरेको छ । ‘वर्षौ दुख गरेर च्याङग्रा पाल्ने किसानले नाफा पाएको छैन, बीचका व्यवसायीले एकमहिना पालेर पर्याप्त फाइदा लिएका छन् । किसानको मुल्य हुँदैन,’ उनले भने, ‘स्थानीय व्यसायीले गाउँका च्याङग्रा पहिल्यै किनेर राख्छन, अनि बाहिरबाट जानेलाई महंगोमा बेच्छन । बाहिरबाट किन्न आउनेले किसानसँग किन्नै पाउँदैनन ।’ उनका अनुसार बिचौलीयाका कारण अहिले गाउँमै ३५ हजार प्रतिगोटा हाराहारीमा च्याङग्राको मुल्य परेको उनले बताए ।

‘किसानले २६–२७ हजार रुपैयाँमा बेचेका छन् । कम्तिमा तीनवटा व्यवसायीको तह पार गरेर उपभोक्तासम्म पुग्दा महंगो हुने गर्छ,’ उनले भने, ‘किसानले चरन क्षेत्रको अभाव हुुँदा हतारिएर स्थानीय व्यवसायीलाई बेच्छन । स्थानीय व्यवसायीले पनि बाहिरबाट जानेलाई बेच्ने हो । बीचका व्यवसायीको कारण महंगो परेको छ ।’ बाहिरी व्यवसायीले किसानसँग च्याङग्रा किनेर सिधै पोखरा वा काठमाडौंसम्म पु¥याउन पाउने हो भने सस्तो पर्दथ्यो,’ उनले भने । उनका अनुसार च्याङग्रा जन्मेको चारवर्षमा बल्ल मासु खान योग्य हुन्छन । चारवर्ष किसानले पाल्दा भन्दा एकमहिना राखेका व्यवसायीले बढी नाफा लिने गरेको उनले बताए ।  

अर्का व्यवसायी तथा च्याङग्रा पालक किसान इन्दुङ गुरुङ भने यो पटक तिब्बतबाट आयात नहुँदा च्याङग्राको मुल्य बढेको बताउँछन् । उनले पनि दुईसय च्याङग्रा पालेका छन् । उनले भने तिब्बतबाट आयात गर्न नपाउँदा किसानले नै महंगो मुल्य भनेकोले च्याङग्राको भाउ बढेको बताए । ‘यो पटक ४० किलो जिउँदो च्याङग्राको मुल्य ३९ हजार रुपैयाँसम्म परेको छ । तिब्बतबाट आयात गर्न नपाएपछि किसानले नै भाउ बढाएका छन,’ उनले भने, ‘पहिला पहिला तिब्बतबाट च्याङग्रा आउथ्यो । पर्याप्त हुँदा किसानले पनि बढी भाउ लिन सकेका थिएनन ।’  

कोरोना संक्रमणको त्रासले नाका बन्द हुँदा पोहोरदेखि तिब्बतबाट आयात हुन पाएको छैन । तिब्बतबाट आयात नभएपछि स्थानीय उत्पादनले माग थेग्न नसक्दा महंगो परेको उनले बताए । उनका अनुसार अहिले स्थानीय व्यवसायीले बिक्री गरेका च्याङग्रा सदरमुकाम जोमसोम क्षेत्रमा आइसकेका छन् । कतिपय च्याङग्रा त सदरमुकामबाट पनि ओरालो लागिसकेका छन् । उपल्लो क्षेत्रमा पालिएका ती च्याङग्रालाई वातावरणसँग घुलमिल बनाउँदै हिडाएरै पोखरा झारिन्छ ।

लो–घेकर दामोदर गाउँपालिकाको पशुसेवा शाखाका प्रमुख चक्र बिकका अनुसार गाउँपालिका भित्र मात्र १९ हजार २ सय च्याङग्रा पालिएका छन् । ती मध्ये यो पटक मासु खानयोग्य हुनेको संख्या करिब ४ हजार मात्र छ । किसानले पालेका अरु माउ र बच्चा छन । खोप लगाउने बेला स्थानीय तहले किसानले पालेका पशुको तथ्यांक राख्ने गर्छन । ‘मुस्ताङमै सबैभन्दा बढी लो घेकरमा च्याङग्रा पालिन्छ । तर, सबै एकैवर्ष मासु खान योग्य हुँदैनन । जन्मेको छिटोमा तीनवर्षमा ब्ल्ल खानयोग्य हुने हुँदा किसानले बढी समय पाल्नुपर्छ,’ विकले भने । 

उनका अनुसार अहिले स्थानीय व्यवसायीले गाउँमै प्रतिगोटा झन्डै ३५ हजार रुपैयाँमा च्याङग्रा बिक्री गरेका छन् । ३५ हजार रुपैयाँमा गाउँमा बेचिने जिउँदा च्याङग्राको तौल करिब ३० किलो हाराहारीमा हुन्छ । ‘किसान र व्यवसायीसँग बुझ्दा यो पटक तिब्बतबाट आयात गर्न नपाएकोले च्याङग्राको मुल्य बढेको थाहा पाएका छौ । कोरोना संक्रमणका कारण नाका बन्द हँुदा पोहोरदेखि च्याङग्राको आयात रोकिएको छ,’ उनले भने, ‘पर्याप्त उत्पादन नहुने र आयात गर्न पनि नपाउँदा मुल्य बढ्ने नै भयो । अहिले तै गाउँमा नै महंगो भएको छ ।’  

वारागुँ मुक्तिक्षेत्र गाउँपालिकाकी पशु सेवा शाखाकी प्रमुख मनिषा जिसी पनि मुल्य बढ्नुमा विचौलिया हावी भएको प्रमुख कारण बताउँछिन । ‘किसानदेखि उपभोक्तासम्म पुग्दा ३–४ वटा तह पार गर्छ । त्यही कारणले मुल्य बढेको पक्का हो,’ जिसीले भनिन, ‘यस्तो हुँदाको लाभ किसानलाई नभई बिचौलियालाई भएको छ ।’ उनले पनि किसानसँग केहीदिन अघि च्याङग्रा किनेर स्थानीय व्यवसायीले थुपार्छन, तिनै च्याङग्रा बाहिरबाट आउने व्यवसायीले महंगोमा किन्ने बताईन ।

‘बाहिरबाट आउने व्यवसायीले सिधै किसानको खोरबाट किन्न पाउने हो भने केही सस्तो पर्दथ्यो । तर, बीचमा स्थानीय व्यवसायीले किसानसँग किनेर राखिसकेका हुन्छन,’ जिसीले भने, ‘तिब्बतबाट ल्याउन नपाउनु एउटा समस्या होला । तर, बिचौलियाका कारण मुल्य बढी परेको पक्का हो ।’ स्थानीय उत्पादन पहिलेकै आकारमा भएपनि तिब्बतबाट नआएपछि स्थानीयले व्यवसायीले मुल्य बढाउन झनै सहज भएको उनले बताईन । उनका अनुसार वारागुँ मुक्तिक्षेत्रमा मात्र करिब १५ हजार च्याङग्रा छन् । ती मध्ये १० हजार हाराहारीमा बिक्री हुने उनको अनुमान छ ।  

प्रकाशित: १४ आश्विन २०७८ ०९:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App