अर्थ

भिड छ, व्यापार छैन

बहुसंख्यक नेपालीको मुख्य चाड बडादसैं नजिकिँदै छ। विगतका वर्षमा दसैंको महिना सुरु भएसँगै मुख्य बजार र चोकचोकमा भिन्नै प्रकारको रौनक थपिइसकेको हुन्थ्यो। बजारमा किनमेल गर्नेको भिड हुन्थ्यो, खाद्यान्न, कपडा, कस्मेटिक तथा गरगहना पसलमा किनमेलका लागि झन् घुइँचो देखिन्थ्यो। तर, पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण पहिलेकै जस्तै उक्त दृश्य विरलै देखिन्छ।

यसअघिका वर्षमा काठमाडौंका मुुख्य व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भिडले बाटो हिँड्नेदेखि यातायात सञ्चालनमा समेत कठिनाइ ल्याएको हुने गरेको भए पनि कोरोनाकै कारण अझै काठमाडौंका सपिङ सेन्टर, मलदेखि फुटपाथसम्म किनमेल गर्नेको तँछाडमँछाड दैखिँदैन। पछिल्लो समय बजारमा केही भए पनि, चहलपहल बढे पनि व्यापारमा भने खासै सुधार नभएको व्यापारीहरू बताउँछन्।

काठमाडौंको न्युरोड, असन, महाबौद्ध, खिचापोखरी, दरबारमार्ग, बानेश्वर, कोटेश्वर, लगनखेल, कलंकीलगायत क्षेत्रमा किनमेल गर्नेको पोहोरपरारको जस्तै रौनक नदेखिएपछि अधिकांश व्यापारीको एउटै भनाइ छ, ‘भिडभाड छ तर व्यापार छैन।’

विगत दुई वर्षदेखि व्यापार हुन नसकेकाले आम्दानीको मुख्य सिजनमै सडकपसलका व्यापारी मात्र होइनन् सपिङ सेन्टर, मलका व्यापारीसमेत फुर्सदिला देखिन्छन्। दसैंको आसपास व्यापार बढ्छ कि भन्ने झिनो आशामा व्यापारीहरू ग्राहकको पर्खाइमा टोलाएर बस्न बाध्य छन्।

काठमाडौैंका उल्लिखित ठाउँको व्यापार पहिलेका वर्षमा भदौ लाग्दै सुरु भइसक्थ्यो। तिजको चहलपहल हुँदै काठमाडौंबाहिरका व्यापारीको दसैं लक्षित अर्डर पठाउन र चीन तथा भारतीय बजारबाट आवश्यक मालसामान  भित्र्याउनसमेत व्यापारीलाई भ्याईनभ्याई हुने गरेको थियो। तर कोरोना महामारीको संक्रमण दर घट्दो क्रममा रहे पनि आमनागरिक भने आर्थिक अभावमै रहेकाले व्यवसायमा कमी आएको व्यवसायीको धारणा छ। पहिला व्यापार कति भयो भनेर सोधिन्थ्यो ? अहिले बोहनी भयो कि भएन भनेर सोध्ने गरिएको व्यापारीको भनाइ छ।

‘अन्य समयभन्दा बढी किनमेल हुने भएकाले अहिलेको सिजनमा व्यापारीलाई पानी पिउनसमेत फुर्सद नहुनुपर्ने हो। तर सर्वसाधारणको आर्थिक गतिविधि मन्द रहँदा खुलेर खर्च गर्नसक्ने अवस्था देखिएको छैन,’ महाबौद्धमा होलसेल व्यापार गर्दैै आएका खोटाङका कविराज राई सामपाङले भने, ‘उता व्यापारीले आयात गर्ने सामान महिनौंदेखि चीनसँगको नाकामै थन्किएको छ भने यता काठमाडौंबाहिरबाट आउने मालसामानको अर्डरसमेत उपलब्ध गराउने मौज्दात सामान गोदाममा छैन। मगाएको सामान भन्सार कहिले कट्ला भनेर दिन काट्नुपर्ने अवस्था छ।’

निषेधाज्ञाका क्रममा झन्डै १५ लाख रूपैयाँ घाटा बेहोर्नुपरेको उनको भनाइ छ। ‘सधैं यो बेला खुट्टा टेक्ने ठाउँ हुँदैनथ्यो, अहिले एउटा पनि व्यापार छैन,’ उनले भने, ‘पसल र घरको भाडा तिर्न धौधौ परिरहेको छ।’ पहिलेभन्दा अहिलेका ग्राहकले आफूलाई मन परेको वस्तुमा भनेकै मूल्य खर्चन गाह्रो नमान्ने भए पनि अहिले सस्तो र एकसरो कपडा किन्न आउने ग्राहकको संख्या उल्लेख्य रहेको न्युरोडमै कपडा पसल चलाउँदै आएका राजन खतिवडाको भनाइ छ। ग्राहकले मन परेको लुगामा पैसा हाल्न डराउने अवस्था रहेको उनले सुनाए।

विगतका वर्षमा बजारमा नुनदेखि सुनसम्म किनमेल गर्नेको बाक्लो चहलपहल हुने गरेको भए पनि अहिले व्यापारीसँग सामान र ग्राहकसँग पैसा नै नभएको खतिवडाको भनाइ छ। दसैंतिहारको सबैभन्दा ठूलो व्यापार हुने काठमाडाैँको न्युरोड, असन, भोटेबहाललगायत क्षेत्रका व्यापारीसँग सामग्री नहुँदा देशैभरिको बजारमा चहलपहलमा मन्दी रहनेसमेत उनको दाबी छ।  

चीनतर्फको नाका बन्द हुँदा आयात रोकिएकाले यस वर्ष जाडोका कपडाको पनि अभाव हुनसक्ने बताए। ‘कोरोनाका कारण केरुङ नाकामा आएका हजारभन्दा धेरै कन्टेनर लामो समयदेखि रोकिएका छन्। 

चीनसँग जोडिएका नाकामा अघोषित नाकाबन्दी जस्तै भएकाले सीमित कन्टेनर मात्रै नेपाल भित्रिने गरेका छन्,’ उनले भने, ‘भूकम्पपछि नै चीनसँगका नाकाबाट सहज आयात–निर्यातको अवस्था नहुँदा यताका व्यापारी बढी मर्कामा परेका छौं। तर आयातनिर्यातमा देखिएको समस्या हल गर्न दुवै मुलुकको अग्रसरता देखिएको छैन।’

हाल तातोपानी नाकाबाट मुस्किलले १० र केरुङ नाकाबाट नौवटा मात्रै कन्टेनर नेपाल भित्रिन सक्ने अवस्था रहँदासमेत सरकारले सहज ढुवानीका लागि कुनै कदम नचालेकामा उनको आक्रोश छ। चीनले कोरोना संक्रमणलाई मुख्य कारण देखाएर सीमानाकाबाट नेपाल आयात हुने कन्टेनरलाई सीमित गर्दै आएकाले उक्त प्रभाव बजारमा प्रस्ट देखिएको उनको भनाइ छ।

‘दसैंतिहारजस्ता ठूला चाडपर्वको समयमा चीनतर्फको नाकाबाट मालवस्तु ल्याउन नसक्दा सामग्रीको अभाव भएको र त्यसले गर्दा लत्ताकपडा, खाद्यवस्तु, घरायसी सामग्रीलगायत वस्तुको अभाव र मूल्यसमेत बढेको छ,’ उनले भने, ‘व्यापारी पनि लाखौंको लगानी गरेर व्यवसायमा लागेका हुन्छन्। 

बैंकको ब्याज, घर तथा पसलको भाडा, बिजुलीको बिल मात्रै तिर्नुपर्ने बाध्यता छ। घरपरिवार पाल्नकै लागि पोहोरपरारदेखि गोदाममा थन्किएर राखेका कपडा मात्रै बेचेर कसरी व्यापार हुन्छ ? अझै सरकारदेखि सर्वसाधारण व्यापारीले मूल्यमा मनोमानी गरे भन्दै व्यापारीलाई नै दोष दिन मिल्छ ?’

आयातमा लगाइएको सीमाका कारण यस वर्ष पनि दसैंका सामान झिकाइएका हजारभन्दा बढी कन्टेनर तातोपानीतर्फको खासा र रसुवातर्फको केरुङमा थन्केको उनको अनुमान छ। सीमित कन्टेनरबाट हुने आयातका कारण दसैं दसैं जस्तो नै नभएको उनले बताए। न्युरोड क्षेत्रमा सामान ओसारपसार गर्ने भरियासमेत यो सिजनमा फुर्सदिला देखिनुले बजार अझै चलायमान हुन बाँकी रहेको तर्क सादर्भिक देखिन्छ।

त्यतो त पछिल्ला दुई वर्षमा लुगाकपडाको व्यापारमा कमी आएको न्युरोडका कपडा पसल सञ्चालक भारतीय मूलका व्यापारी अशोक जैनको भनाइ छ। ‘अहिले महिलाले प्रयोग गर्ने कपडामा मात्रै हाम्रो व्यापार टिकिरहेको छ। प्रायः महिलाले आधुनिक पहिरन मन पराउन थालेपछि साडी, धोतीलगायत कपडाको बिक्रीमा कमी आएको छ,’ उनले भने, ‘अब साडीलगायत सामग्रीको बिक्री तिहार तथा तिज र विवाहको सिजनमा मात्रै हुन थालेको छ।’ तयारी पोसाकको बढ्दो प्रयोगले आफ्नो व्यापारमा खासै दसैं नलागेको उनले बताए।

कपडाको मात्र नभएर घरायसी तथा विद्युतीय सामग्रीको व्यापारले समेत गति लिन नसकेको उनले सुनाए। ‘अहिले मेरै पसलअगाडिको बिजुली पसलको अवस्थासमेत उस्तै देखिन्छ,’ उनले भने, ‘पंखा, बल्ब, जेनेरेटर, राइसकुकर, तारलगायत उपकरणको व्यापारसमेत सामान्य अवस्थाको जस्तै देखिन्छ। सामान जोड्न कमाइ पनि हुनुपर्‍यो। 

मध्यम वर्गको रोजीरोटीमै समस्या छ। कसरी खर्च गर्न सक्छन् ?’ चाडपर्वको बेला शृंगारका सामानसमेत निकै बिक्री हुने गरेको भए पनि अहिले ठाउँ–ठाउँमा पसल खुलेकाले व्यापार शून्य देखिएको उनले जनाए।

त्यस्तै, असन बजारमा भेटिएकी नुवाकोट घर भएकी सविता खड्काले केही सस्तोमा खाद्यान्न सामग्री पाइन्छ कि भनेर असन आएको बताइन्। बजारमा हेर्दा जुनसुकै खाद्य सामग्रीको मूल्य अकासिएको उनको भनाइ छ। ‘केही महिनायता भान्सा निकै महँगो बनेको छ। तरकारीको भाउ अकासिएको छ। दसैं त व्यापारीलाई मात्रै लागेको हो कि ?’ उनले प्रश्न गरिन्। भाडामा बसेर गुजारा चलाउनेलाई निकै अप्ठेरो पर्ने उनको भनाइ छ।

पछिल्लो समय सुनको कारोबारमा भने केही आशा पलाउँदै गएको व्यवसायीले बताएका छन्। तिजमा विगतका वर्षमा जस्तै कारोबार नभए पनि हाल आएर दसैंतिहार लक्षित व्यापारले गति लिएको उनीहरूको भनाइ छ। 

न्युरोड विशालबजारस्थित श्री रिद्धिसिद्धि ज्वेलर्स प्रालिका सञ्चालक राजनप्रसाद अधिकारीका अनुसार सुनचाँदीको व्यापारमा भदौ, असोज, मंसिर, माघ र फागुनलाई मुख्य सिजनका रूपमा लिने गरिन्छ। तर महामारीका कारण बन्दाबन्दी हुनु, आर्थिक संकट हुनु, मानिसको आवतजावत नहुनु र सुनको भाउ महँगीले यस वर्ष पनि गत वर्षकै हाराहारीमा व्यापार भएको उनको भनाइ छ। अहिले झुम्का, माइली तिलहरी, सिक्री, नौगेडीको बजारमा उच्च माग रहेको उनले सुनाए।

हाल दसैंको अफरअन्तर्गत व्यवसायीले ज्यालामा ३० देखि ४० प्रतिशतसम्म छुटसमेत दिँदै आएका छन्। गत वर्ष अहिलेकै सिजनमा ७० हजार २ सय हाराहारीमा रहेको सुनको मूल्य शुक्रबार ८८ हजार पाँच सय ५५ रूपैयाँ पुगेको छ। यो वर्ष गत वर्षभन्दा सुनको मूल्य बढी रहेको र मध्यम वर्गका नागरिकको आर्थिक अवस्थासमेत धराशयी रहेकाले व्यापार कम भएको अधिकारीले सुनाए। घटस्थापनादेखि भने व्यापारमा रौनकता थपिन सक्ने उनको आशा छ।

दसैं टीकादानी, चाँदीको थाली, करुवा, पञ्चपात्रको राम्रो व्यापार हुने सिजन हो। जीवनमा एकचोटि जोड्ने चिज भएकाले ग्राहकले सबैभन्दा बढी सुनचाँदी कागतिहारको दिन किन्ने गरेका छन्।

चीनले दैनिक २० ट्रक नेपाल भित्रिन दिने

चीन सरकारले तातोपानी नाकाबाट अब दैनिक २० वटा ट्रक नेपाल प्रवेश गर्न दिने भएको छ। तिब्बतको ल्हासाका लागि नेपाल महावाणिज्यदूत नवराज ढकालसँगको बैठकमा तिब्बत जनसरकारका अधिकारीले सो सहमति जनाएका छन्। 

तिब्बतको वाणिज्य, भन्सार, बन्दरगाह र विदेश मामिला कार्यालयका अधिकारीसँगको संयुक्त बैठक तिब्बत सरकार दसैंतिहार लक्षित सामान बोक्ने ट्रकको संख्या दोब्बर बनाउन सकारात्मक देखिएको ढकालले उल्लेख गरेका छन्। हाल तातोपानी नाकाबाट दैनिक १० वटा ट्रक नेपाल भित्रिने गरेका छन्।

त्यस्तै, चीनबाट आयात गर्न लागिएको १५ हजार मेट्रिक टन रासायनिक मल पनि विनारोकावट नेपाल पठाउनेबारे बैठकमा चिनियाँ अधिकारीले प्रतिबद्धता जनाएका छन्। हाल तातोपानी नाकापारि रहेका ६ सयभन्दा बढी कन्टेनर दैनिक २० वटाका दरले छाड्यो भने दसैंसम्ममा सबै कन्टेनर नेपाल भित्रिसक्ने अनुमान गरिएको छ। 

नाका नखुल्दा नेपाली व्यवसायीले चीनबाट र चीन हुँदै ल्याएका फलफूल, जुत्ता–चप्पल, तयारी पोसाक, मेसिनरी, विद्युतीय सामग्री बोकेका कन्टेनर ल्हासा, मेलम र केरुङमा अड्किएका छन्। एकतर्फी रूपमा सञ्चालन हुँदै आएको केरुङ नाका १६ भदौदेखि पूर्ण रूपमा बन्द छ भने तातोपानी नाका  २५ असारदेखि बन्द छ।

प्रकाशित: ९ आश्विन २०७८ ०२:३१ शनिबार

तातोपानी नाका काठमाडौंका मुुख्य व्यापारिक क्षेत्र बहुसंख्यक नेपालीको मुख्य चाड बडादसैं आर्थिक गतिविधि मन्द