अर्थ

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारीको नाफा ७६ प्रतिशतले वृद्धि

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको वार्षिक समीक्षा भएको छ। समीक्षामा संघले २ करोड ५३ लाख रुपैयाँ नाफा गरेको प्रतिवेदन पेश भएको छ। संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले संघले तरलताको वित्तीय तथा ऋण लगानीमार्फत् गत वर्षको तुलनामा नाफामा ७६ प्रतिशतले वृद्धि गरी २ करोड ५३ लाख रुपैयाँ नाफा गरेको जानकारी दिए।

सहकारी ऐनमा आफ्नो सदस्यहरुलाई ऋण प्रवाह गर्दा राखिने धित्तोमा कुनै शुल्क नलाग्ने भनिएता पनि हाल मालपोतमा ३० लाखसम्मको दृष्टिबन्धक रोक्का दस्तुर रु पाँचसयदेखि रु. आठ हजारसम्म वृद्धि गरेकोमा राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून र वागमती प्रदेश बचत तथा ऋण सहकारी संघलाई ध्यानाकर्षण गराएको बताए।

उनले विषम परिस्थितिमा सहकारीलाई सरकारले उपेक्षा गरेको भन्दै सहकारीलाई सम्बोधन गर्न महासंघलाई ध्यानाकर्षण गराएकोसमेत बताए। भक्तपुर जिल्लामा मात्र राष्ट्रिय सहकारी बैंकको तीनवटा शाखा र नेफ्स्कूनको दुईवटा फिल्ड कार्यालय खोली अस्वस्थ प्रतिस्पर्धा गरेको र प्रदेश सरकारले आफैले बनाएको नियम उलङघ्न गरी संस्थाहरु दर्ता र सहकारी विकास बोर्ड गठन गरेको उनको भनाइ छ।

संघका उपाध्यक्ष हरि बल्लले सहकारीको अभियानलाई अगाडी बढाउन एकजुट हुनुपर्ने बताए भने कोषाध्यक्ष कान्छाभक्त घजुले आ.व. २०७७।७८ को वार्षिक आर्थिक समीक्षा प्रस्तुत गरे। उनले श्रोततर्फ गत वर्षको तुलनामा ६३ प्रतिशतले वृद्धि भई वासलात १ अर्व ६७ करोड ६२ लाख रुपैयाँ भएको र अनुमानमा १०८ प्रतिशतले प्रगति भएको विवरण प्रस्तुत गरे।

उनले महामारीका कारण बचत धेरै संकलन हुनुको साथै ऋण असुली वृद्धि भएकोले ऋण लगानीमा चुनौती थपिएको बताए। सघंका व्यवस्थापक बालकृष्ण धोँजुले संघको कार्यक्रम प्रगति, संघद्वारा आयोजित कार्यक्रमहरु, निषेध आज्ञामा आयोजित कार्यक्रमहरु, बैठक संख्या विवरण आदिको समीक्षात्मक प्रस्तुतीकरण गरेका थिए।

प्रकाशित: २६ भाद्र २०७८ ०९:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App