अर्थ

दैलेखमा बन्यो देशकै ठूलो टिस्यू कल्चर ल्याव

गुराँस गाउँपालिका–४ घोडाबासमा निर्माण गरिएको टिस्यू कल्चर ल्यावको मुख्य भवन । तस्बिरः गोविन्द/नागरिक

गुराँस गाउँपालिका दैलेखमा देशकै दोस्रो ठूलो टिस्यू कल्चर ल्याव बनेको छ। मुख्यतः आलुको बिउ उत्पादन गर्न टिस्यू कल्चर ल्याव बनेको हो।

गुराँस गाउँपालिकाको साझेदारीमा नेपाल कृषि विकास फर्मले टिस्यू कल्चरले ल्याव बनाएको हो। गुराँस गाउँपालिका–४ स्थित घोडाबासमा स्थापना भएको ल्यावमा आलुको मुल बिउ उत्पादन गर्न सहज हुने छ। टिस्यू कल्चर कलमी तथा हाइब्रिट गरेर बिरुवाहरु उत्पादन गर्ने विधि हो। यो विधिबाट वार्षिक आलुको पूर्वमुल बिउ १० लाख दाना र पाँच लाख वटा फलफूलको बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको साझेदार संस्था नेपाल कृषि विकास फर्मका सञ्चालन देवेन्द्र अधिकारीले बताए। 

‘ल्यावबाट गुणस्तरीय आलुको मुल बिउ उत्पादन हुनेछ,’ संञ्चालक अधिकारीले भने, 'बिउ शतप्रतिशत स्वस्थ हुने भएकाले खेर जाँदैन। किसानहरुलाई खेती गर्न निकै सहज हुने छ।’ ल्याव सञ्चालनसंगै गुराँसका ३ हजार बढी किसानहरु ब्यवसायीक खेतीतर्फ आकर्षित हुने र उनीहरु आयआर्जन सोचेभन्दा निकै बढी हुने गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए। महँगोमा आलुको बिउ खरिद गरेका किसानहरुले ल्याव सञ्चालनमा आएसंगै सस्तो सुलभमा पाउने र उत्पादन पनि बढी हुने जनाईएको छ।

कर्णाली र लुम्बिनी प्रदेशमा तरकारी निर्यात गरेको गुराँस गाउँपालिकाले तरकारी र फलफूल लगायतका कृषिजन्य बस्तुको मुल बिउ उत्पादन ल्यावले ठूलो सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए। ल्याव निर्माणका लागि गाउँपालिकाले १ करोड ९५ लाख र साझेदार संस्था कृषि विकास फर्मले २ करोड ५ लाख लगानी गरेका छन्। 

ल्यावबाट हुने फाईदाको २० प्रतिशत गुराँस गाउँपालिकाको राजश्व खातामा जम्मा हुने छ भने ८० प्रतिशत फर्मले लिनेछ। ल्याव चलाउनका लागि ७० रोपनी जग्गा २१ वर्षका लागि जग्गा भाडामा लिईएको छ। ल्यावको सम्पूर्ण हेरचाह फर्मले गर्ने सम्झौतामा उल्लेख छ।

प्रकाशित: ७ भाद्र २०७८ ०९:०६ सोमबार

टिस्यू कल्चर ल्याव