अर्थ

'व्याण्ड भर्सेस ब्राण्ड'को सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिबेदन तयार

‘व्यान्ड होईन ब्राण्ड’को सम्भाव्यता अध्ययनका लागि गठित कार्यदलले तयार पारेको प्रतिबेदन बुझ्दै सामाजिक विकास मन्त्री उषाकला राई । तस्बिर : मन्त्री उषाकला राईको सचिवालय

घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवर्द्धनका लागि सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले गठन गरेको सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदलले सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिबेदन तयार पारेको छ। 

घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘व्यान्ड होईन ब्राण्ड’ बनाउनुपर्ने अभियान थालेकी प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईको अवधारणा अनुसार प्रदेश नम्बर १ का योजना आयोगका सदस्य डा. पूर्णकुमार लोक्सोमको संयोजकत्वमा गठित कार्यदलले ७० पृष्ठको सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिबेदन तयार पारेको हो। गत वैशाख अन्तिम साता गठन गरिएको कार्यदलले सोमबार सामाजिक विकास मन्त्री राईलाई नेपाली घरेलु मदिराको उत्पादन तथा बजारीकरण सम्वन्धी ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा कार्यान्वयन सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिबेदन हस्तान्तरण गरेका छन्। 

प्रदेश नम्बर १ का १० जिल्लाका उत्पादक, उपभोक्ता र जनप्रतिनिधिसँगको प्रत्यक्ष जानकारी सर्वेक्षण तथा सम्वद्ध विज्ञबाट प्राप्त राय सुझावको आधारमा अध्ययन विश्लेषण गरेर प्रतिवेदन तयार गरिएको कार्यदलका संयोजक डा. लोक्सोमले बताएका छन्।  

नेपालमा मदिरा उत्पादन र उपभोगको विद्यमान अवस्था, कानूनी अवस्था, स्थानीय सीप तथा प्राविधिक ज्ञान तथा प्रवर्द्धनको अवस्था, दाउरा, पानी र मर्चाको उपलव्धताको अवस्था, मदिरा उत्पादनका लागि चाहिने कोदो खेतीको वर्तमान सम्भावना र सम्भाव्यता, घरेलु मदिरा (कोदोको रक्सी)को उत्पादन, ब्राण्डिङ तथा बजारीकरण सम्भाव्यता, उत्पादन रणनीति, ब्राण्डिङ, बजारीकरण, आर्थिक अवसर तथा सम्भावना, गुणस्तर मापन लगायतका विषयवस्तु समेटेर प्रतिबेदन तयार पारिएको छ। 

प्रतिबेदन समाजवाद उन्मुख अर्थ व्यवस्था तथा ‘संवृद्ध नेपाली, सुखी नेपाली’ भन्ने दीर्घकालिन सोचलाई पूरा गर्न सहायक बन्ने अपेक्षा गरिएको सामाजिक विकास मन्त्री राईले बताईन्। प्रदेशभित्रका १० जिल्लाका २२९ घरेलु मदिरा उत्पादकसँग प्रत्यक्ष भेटघाट गरेर तयार पारिएको प्रतिबेदनमा घरेलु मदिराको वैधानिक उत्पादन एवं बिक्री वितरणका माध्यमबाट आर्थिक आम्दानी गर्ने लक्ष्य प्राप्तीमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सामुदायिक तथा निजी क्षेत्रको भूमिका रहने उल्लेख छ।  

यस्तै, घरेलु रक्सीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्दै बजारीकणका लागि अघि सारिएको ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा सफल पार्नका लागि मौजुदा कानून संशोधन, मौजुदा उत्पादनको स्तरोन्नती गर्दै स्थानीय बजार, प्रदेश स्तरीय बजार, राष्ट्रिय बजार तथा अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै प्रचारात्मक गतिविधि सञ्चालन गर्न सकिने प्रतिबेदनमा भनिएको छ। घरेलु मदिरा उत्पादन तथा वितरणलाई कानूनी रूपमा वैध व्यवसायको रूपमा सञ्चालन गर्न सकेको खण्डमा स्थानीय स्तरमा रोजगारी सिर्जना हुने, आय–आर्जनमा सुधार हुने तथा विदेशी मदिराको आयातमा कमी हुन गइ राष्ट्रिय अर्थ व्यवस्थामा सुधार आउने दावी गरिएको छ। 

हालसम्म अनुमति बेगर वा अनुमति पाएकाले पनि अनुमतिमा तोकिएको शर्त बमोजिम बाहेक मदिराको उत्पादन, बिक्री वितरण तथा निकासी पैठारीमा बन्देज छ।  

कार्यदललाई नेपाली घरेलु मदिरा (कोदोको रक्सी)को व्यवसायिक उत्पादनको लागि विद्यमान कानूनी प्रावधानमा संशोधन गर्नुपर्ने विषयको पहिचान गर्ने, ‘व्याण्ड भर्सेस ब्राण्ड’को अवधारणा कार्यान्वयनको आर्थिक, सामाजिक र साँस्कृतिक प्रभावको पहिचान गर्ने, प्रदेशभित्र कोदो उत्पादनको सम्भाव्यता, उत्पादन वृद्धि गर्न कृषकलाई आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहायताका सम्वन्धमा समेट्नु पर्ने नीतिगत विषयको पहिचान गर्ने, नेपाली घरेलु मदिराको उत्पादन, संकलन, गुणस्तर परीक्षण, बोटलिङ, ब्राण्डिङ र बजारीकरणको प्रारुपको पहिचान गर्ने, घरेलु मदिराको प्रवर्द्धनमा तीनै तहका सरकार तथा अन्य विषयगत निकाय र सरकार बाहेकका अन्य क्षेत्रको भूमिकाको पहिचान गर्ने, ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा कार्यान्वयन गर्दा स्थानीय श्रमको उपयोग तथा रोजगारी सिर्जना, जीविकोपार्जन तथा आर्थिक क्रियाकलापमा पार्ने प्रभावको पहिचान गर्ने जिम्मेवारी दिइएको थियो।

‘कोदोबाट गुणस्तरीय घरेलु मदिराको उत्पादन र उपभोग भइरहेको परिप्रेक्ष्यमा यस्तो उत्पादनलाई प्रोत्साहन गरी बजारीकरण गरिएको खण्डमा कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, आयत प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न सकिने र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने सम्भावना छ,’ सामाजिक विकास मन्त्री राईले भनिन्, ‘यसका लागि कोदोको रक्सीको वैधानिक तथा व्यवसायीक उत्पादन, संकलन, गुणस्तर परीक्षण, बोटलिङ, ब्राण्डिङ, बजारीकरण र प्रवर्द्धन गर्दै आयात प्रतिस्थापन गर्ने र विदेशमा समेत निकासी गर्ने सम्भावना केलाउन आवश्यक देखिएको छ।’ मन्त्री राईले वर्षदिन अघिदेखि लोकल रक्सीमाथिको व्याण्ड (प्रतिबन्ध) फुकुवा गरेर ब्राण्ड बनाउनुपर्ने अवधारणा अघि सारेकी हुन्।  

गत वर्ष प्रशासनको अगुवाईमा दिक्तेलमा लोकल रक्सी नष्ट गर्दा समेत सांसद राईले बिरोध जनाएकी थिईन्। उसो त गत चैत १३ गते पदभार ग्रहण लगत्तै मन्त्री राईले कोदोको लोकल रक्सीमाथिको व्याण्ड हटाएर ब्राण्ड बनाउने नारा प्रदेश नम्बर १ बाट लागू गर्न कोसिस हुने विश्वास व्यक्त गरेकी थिईन्। २०७७ साल असार १५ गते संसदको विनियोजन विधेयकमाथिको छलफलकाक्रममा लोकल रक्सीलाई व्यवसायीकरण र औधोगिकरण गर्न सके सिंगो देशको आर्थिक सम्वृद्धिमा टेवा पुग्ने भन्दै राईले ‘व्याण्ड भर्सेज ब्राण्ड’को नीति अख्तियार गर्नुपर्ने धारणा राखेकी थिईन्। 

लोकल रक्सीलाई व्याण्ड (प्रतिबन्ध) गर्ने हो भने विदेशी रक्सीलाई पनि व्याण्ड गर्नुपर्ने मन्त्री राईको भनाई छ।

प्रकाशित: १ भाद्र २०७८ १३:४३ मंगलबार

व्याण्ड भर्सेस ब्राण्ड घरेलु मदिरालाई ब्राण्डिङ