अर्थ

पोखरामा बनेन पशु बधशाला

पोखरामा निर्माण गरिने भनिएको अत्याधुनिक पशु बधशाला अझै बनाउन थालिएको छैन । जमिनको टुंगो नलाग्दा बधशालाको निर्माण टुंगो नलागेको हो ।  पोखरामा अत्याधुनिक पशु बधशाला बनाउन गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पोखरा महानगरपालिका बीच डेढवर्ष अघि सम्झौता भएको थियो । पोखरा–२१ दोविल्लामा बनाउने भनिएको बधशाला एकवर्ष भित्र निर्माण गरिसक्ने सम्झौतामा उल्लेख छ । तर सम्झौता भएको डेढवर्ष बित्दापनि बधशाला निर्माणको काम अघि बढ्न सकेको छैन ।

पोखरामा पशु बधशाला निर्माणसँगै पोखरेलीले स्वस्थ मासु खान पाउने अपेक्षा गरिएको थियो । पोखरामा हालसम्म व्यवस्थित बधशाला नहुँदा मासु ब्यबसायीले आफूखुसी जथाभावी रुपमा पशु बध गर्दै आएका छन् । जसका कारण सहर दुर्गन्धित हुँदै आएको छ ।  

उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपीलनाथ कोइराला महानगरपालिकाको उदासिनताका कारण बधशाला निर्माणमा ढिलाई भएको बताउँछन् । ‘बधशाला निर्माणका लागि पैसा पनि छ अनि जग्गा पनि पाइएकै छ । तर जनप्रतिनिधि र कर्मचारीको उदासिनताका कारण अहिलेसम्म बधशाला निर्माण भएन,’ उनले भने । जनप्रतिनिधि र कर्मचारीलाई काम गर्नु भन्दा पनि कताबाट भत्ता र कमिसन पाइन्छ भन्ने मात्र ध्यान जाँदा बधशाला निर्माणले ठोस प्रगति नगरेको उनको आरोप छ । पोखरा–२१ का अध्यक्ष खगराज आचार्यले पनि बधशाला निर्माणमा महानगरपालिकाकाको ईफोर्ट नपुगेको बताए । ‘महानगरपालिकाले थोरै पहल लिएर अगाडि बढ्ने हो भने नबन्ने भन्ने होइन, तर महानगर र प्रदेशले त्यसरी अगाडि बढेजस्तो लाग्दैन,’ उनले भने ।

महानगरपालिकाका जिम्मेवार व्यक्तिहरु भने महानगरपालिकाको उदासिनता भन्ने कुरामा सत्यता नभएको बताउँछन् । दोबिल्लामा निर्माण गर्ने भनिए पनि जग्गामा कुरा नमिल्दा बधशाला निर्माणमा ढिलाई भएको उनीहरुको भनाई छ । दोबिल्लामा क्रसरका लागि प्रयोग गर्दै आएको १२८ रोपनी सरकारी जग्गामा निर्माण गर्ने भनिएको बधशाला निर्माणमा स्थानियले आफूहरुले घाटका रुपमा प्रयोग गर्दै आएकाले सो ठाउँमा बधशाला निर्माण गर्न नदिने भन्दै विरोध गरेपछि बधशाला निर्माणबाट ब्याक भएको पोखरा महानगरपालिकाका ईञ्जिनियर भुवनेश्वर तिमिल्सिनाले बताए । उनले भने, ‘निर्माणका लागि भनेर ठिक्क पारेको जग्गामा स्थानियले अवरोध गरे, विरोध हुँदाहुँदै निर्माण गर्ने कुरा भएन, त्यसैले ढिलाई भएको हो ।’ वडाध्यक्ष आचार्य भने केही व्यक्तिका कारण बधशाला निर्माण रोकिएको बताउँछन् । उनी भन्छन्, ‘स्थानीयले भने अनुसार केही जग्गा घाटका लागि छुट्याएर बाँकी जग्गामा पनि बधशाला निर्माण गर्न सकिन्छ, तर त्यसमा महानगरले चासो दिएन ।’

महानगरपालिकाले स्थानीयको विरोध आएपछि अब बधशाला सहारा एकेडेमी र ओसो ध्यान केन्द्रको बीचमा बनाउने योजना बनाएको छ । बस्ती नभएकाले बधशाला निर्माणका लागि सो ठाउँ उपयुक्त हुने महानगरको ठम्याई छ । जस अनुसार अहिले सो ठाउँमा बनाउँदा प्रारम्भिक वातावरण परीक्षण (आईईई) गर्ने काम भइरहेको छ । कन्सल्टेन्टले फाइनल रिपोर्ट दिने वित्तिकै सरोकारवालाहरुसँग छलफल गरेर साझा धारणा बनाइने तिमिल्सिनाले बताए । त्यसलगत्तै टेण्डर आह्वान गरेर निर्माण कार्य गरिने ईञ्जिनियर तिमिल्सिनाले बताए ।

२४ करोड रुपैयाँमा बन्ने बधशाला निर्माणका लागि प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यसअघि नै ५ करोड रुपैयाँ प्रदान गर्ने सम्झौता भएको थियो । त्यसका अलावा संघ सरकारले १० करोड रुपैयाँ दिनेछ भने हेफर ईन्टरनेसनलले प्राविधिक सहयोग गर्नेछ । अपुग रकम महानगरपालिका आफैले बेहोर्नेछ ।

बधशाला अत्याधुनिक हुने महानगरले जनाएको छ । एक हजार वटा खसी–बोकासम्म एकै दिन बध गर्न मिल्नेगरी बधशाला निर्माण गर्न लागिएको पोखरा महानगरपालिका पशु विकास महाशाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार खसी–बोका काट्ने अत्याधुनिक मेसिन ल्याइनेछ । बधशालामा पशु् बध गर्नुअघी त्यसको स्वास्थ्य परीक्षण गरिने उनले बताए । उनका अनुसार पशु स्वस्थ रहेको प्रमाणित भएपछि मात्रै काटिनेछ । बध गरिसकेपछि त्यसको मासु, छाला, आन्द्राभुँडी, खुट्टा, हड्डी लगायत छुट्याइनेछ । काटिएको मासु प्याकेजिङ गरेर टाँचा मारेपछि बजारमा जाने व्यवस्था गरिने उनले जानकारी दिए । बधशाला निर्माण भएपछि बाहिर खुल्ला रुपमा खसी–बोका काट्न नपाइने उनले बताए ।

त्यस्तै, कुखुराको लागि पनि छुट्टै बधशाला निर्माण गरिने र त्यसका लागिपनि जग्गा प्राप्तिको काम भइरहेको जनाइएको छ । महानगरले चाँडै राँगा, भैसी र बंगुरका लागि पनि छुट्टाछुट्टै बधशाला निर्माण गर्ने र त्यसका लागि जग्गा खोज्ने काम भइरहेको जनाएको छ ।

प्रकाशित: २६ श्रावण २०७८ ११:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App