अर्थ

मेवा खोला जलविद्युत आयोजनाः वित्तीय व्यवस्थापनका लागि हस्ताक्षर

ताप्लेजुङ्गको मेरिङदेन गाउँपालिकामा निर्माण हुन लागेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा प्रवर्द्धक रहेको सिटिजन्स बैंक इन्टरनेसनल लि.को अगुवाईमा सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ। बिहीबार कुमारी बैंक, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एस.बि.आइ बैंक र सिभिल बैंकसहित ७ बैंकहरुले ७ सय करोड रुपैयाँ (रु.६७५ करोड आवधिक कर्जा र रु.२५ करोड चालु पूजी कर्जा) ऋण लगानी गर्नका लागि वित्तीय व्यवस्थापनका लागि हस्ताक्षर गरेका हुन्।

परियोजनाको अनुमानित लागत करिब ९ अर्ब रुपैयाँमा बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा रु.६ अर्ब ७५ करोड बराबरको ऋण लगानी गर्ने जनाएका छन्। सिटिजन्स बैंकबाट रु.१ अर्ब ४५ करोड, कुमारी बैंकबाट रु.१ अर्ब, मेगा बैंक नेपालबाट रु.१ अर्ब, नेपाल इन्फ्रास्ट्रचर बैंकबाट रु.१ अर्ब नेपाल एस.बि.आइ बैंकबाट रु.८० करोड,सिद्धार्थ बैंकबाट रु.१ अर्ब, र सिभिल बैंक बाट रु.५० करोड लगानी हुनेछ भने २५% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाउने निर्णय गरेको छ।

आयोजनाको निर्माण तीन वर्ष भित्रमा नै सम्पन्न गरेर विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। आयोजनाबाट हिउँदमा ९७.४२४ मेगावाट घन्टा र बर्खामा २०५.५८७ गिगावाट गरी वार्षिक ३०३.०११ मेगावाट घन्टा विद्युत उत्पादन हुने बताएको छ।

तीन वर्ष भित्रमा निर्माण सम्पन्न हुने आयोजनाका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पूरा गरेर आयोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी समेत दिएको छ।  

निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोर अन्तर्गको ढुङ्गेसाँघु स्थित सबस्टेशनमा जोडिने बताइएको छ।

प्रकाशित: ९ श्रावण २०७८ ०५:५७ शनिबार

मेवा खोला जलविद्युत आयोजना व्यवस्थापनका लागि हस्ताक्षर