अर्थ

नौकुण्डमा लिफ्ट सिँचाइको तयारी

रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ३ र ४ पाटीखर्कमा लिफ्टिङ सिँचाइ योजना निर्माण गरिने भएको छ। गत आर्थिक वर्ष २०७७/७८ मा पुंगखोला मुहान गरी पार्टीखर्कको समथर र उर्वर भूमिमा सिँचाइ गर्ने उद्देश्यका साथ बजेट व्यवस्था गरिएको थियो।  

उक्त मुहानबाट पहिले नै तीनवटा सिँचाइ योजना सञ्चालनमा रहेकोले सुक्खा याममा मुहानमा पानी कम हुने हुँदा सतह सिँचाइ योजना प्रभावकारी नहुने देखिएपछि लिफ्टिङमार्फत सिँचाइ सेवा पुर्‍याउने सोच बनेको जलस्रोत तथा सिँचाइ विकास सब–डिभिजन कार्यालयका प्रमुख इन्जिनियर कृष्ण पाण्डेले बताए।  

करिब ३ सय २० मिटरको ग्रस हेड रहेको उक्त सिँचित क्षेत्रमा पानी पुर्‍याउन पुंगखोलाको घिचेतमा इन्टेक संरचना निर्माण गरी हाल निर्माणाधीन फलाखुखोला जलविद्युत् आयोजनाको टेलवाटरलाई नै सौर्य ऊर्जाको सहयोगले पम्पमार्फत पानी तानेर पानी पुर्‍याउने लक्ष्य छ।  

एउटै पम्पले त्यति ठूलो हेड धान्न कठिन हुने हुँदा पानी तान्न तीनवटा स्टेज निर्माण गरी डिजाइन गरिएको छ। लिफ्ट सिँचाइको काम गर्ने गरी स्थापना भएको संघीय कार्यालय ‘एकीकृत ऊर्जा सिँचाइ विशेष कार्यक्रम’लाई आर्थिक वर्ष ०७८/७९ मा निर्माण गरिदिन भनी डिटेल डिजाइन रिपोर्टको साथ पत्राचार गरिएको थियो। अहिले बजेट पनि व्यवस्था भइसकेको र यही आर्थिक वर्षमा निर्माण कार्य सुरु हुन लागेको कार्यालयले जनाएको छ।  

यस आयोजनाको अनुमानित लागत ६ करोड ४९ लाख छ। निर्माणपश्चात ५५ हेक्टर क्षेत्रमा वर्षभरि सिँचाइ सुविधा पुग्नेछ। उक्त क्षेत्रमा बसोबास गर्ने २ सय ५० घरधुरीका १ हजार २ सय ५० जनसंख्याले लाभ लिने सब–डिभिजन प्रमुख पाण्डेले बताए।  

‘पाटीर्खकमा लिफ्टिङ सिँचाइ योजना निर्माण गर्दा हाल सञ्चालनमा रहेका र निर्माणाधीन बाँकी तीनवटा आयोजनालाई असर गर्दैन,’ उनले भने, ‘हाल निर्माण भइरहेको जलविद्युत् आयोजनाबाट पानी लिफ्टिङ गरिन्छ।’

घिचेतबाट पार्टीखर्कसम्म सिँचाइ पुर्‍याउन ३ सय २० मिटर लिफ्टिङ गर्नुपर्छ। यसमा दुईवटा स्विच निर्माण हुनेछन्। सोलार प्यानल राखेर योजना सञ्चालन गरिने भए पनि सोलारले काम नगरेको खण्डमा विद्युत्बाट सञ्चालन गर्न डबल स्विच राख्न लागिएको हो।  

यस क्षेत्रमा सिँचाइको अभावमा किसानले एक बाली मात्र लगाउँदै आएका छन्। अन्नबाली तथा नगदेबाली लगाउन यहाँ खेतीयोग्य जमिन धेरै छ। तर सिँचाइको अभावमा किसानले उत्पादन वृद्धि गर्न सकेका छैनन्। सिँचाइ योजना निर्माण भएपछि एक वर्षमा तीन बालीसम्म लगाउन सकिने, तरकारी उत्पादनमा वृद्धि हुने, किसानको व्यस्तता बढ्ने, आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ।  

प्रकाशित: ६ श्रावण २०७८ ००:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App