अर्थ

निगमले सिलगुडीबाट मागबमोजिम पेट्रोल ल्याउन नसक्दा पूर्वमा अभाव

आयल निगमले पेट्रोल नदिएपछि बन्द रहेको धरान ८ स्थित हिमालय पेट्रोल पम्प । तस्बिरः नागरिक

नेपाल आयल निगमको विराटनगरस्थित कार्यालयले माग बमोजिम पेट्रोलियम पदार्थ नदिँदा प्रदेश १ मा अभाव देखिन थालेको छ।

निगमले खासगरि मागबमोजिम पेट्रोल दिन नसकेको व्यवसायीको भनाई छ। विगत एक सातादेखि निगमले माग भन्दा ज्यादै थोरै मात्रामा पेट्रोल दिएपछि अभाव हुन थालेको हो। व्यवसायीहरुका अनुसार एक सातादेखि नै समस्या देखिन थालेको हो। समस्या बढ्दै गएपछि असार ३० गते लिखितरुपमा नै आपूर्ति सहज बनाउन आग्रह गरिएको पेट्रोलियम डिलर्स एशोसिएशन कोशीका महासचिव महेन्द्र अग्रवालले बताए। आइतबार प्रशासनलाई पनि जानकारी गराउने उनले बताए। उनले भने,‘निगमले मागबमोजिम तेल दिन सकेको छैन, हामीले ३० गते नै माग अनुसार पेट्रोल दिनुपर्‍यो भनेर लिखितरुपमा दिएका छौं, कोशिस गर्दैछौं मात्र भन्छन्। हामी आइतबार प्रशासनलाई पनि जानकारी गराउछौं।’  

व्यवसायीहरुका अनुसार पेट्रोल कम भएको भन्दै निगमको विराटनगर क्षेत्रीय कार्यालयले पम्प छनेर मात्र पठाउने गरेको छ। कार्यालय प्रमुख नकुल भण्डारीले आफूखुसी पम्पहरु छानेर पेट्रोल पठाउँदा समस्या भएको धरान भोटेपुलस्थित हिमालय पेट्रोल पम्पकी सञ्चालक सुनिता केसीले जानकारी दिइन्। उनले भनिन्,‘बिहीबार तेल दिने भनेर हाम्रो पम्पको नाम टिपाइसकेको थियो, तर पछि नाम काटिएछ। नदिनुको कारण केही छैन। हाम्रो पम्प त बन्दै छ।’

बिहीबार निगमको विराटनगर डिपोबाट १ लाख ४० हजार लिटर पेट्रोल वितरण भएको थियो। यो परिमाणको तेल मोरंग, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनकुटालगायत पहाडी जिल्लामा पनि गएको थियो। तर, बिहीबार पेट्रोलको माग भने ६ लाख लिटर रहेको पेट्रोलियम डिलर्स एशोसिएशन कोशीका महासचिव अग्रवालले बताए। ‘पेट्रोल लिन सिलगुडी गएको ढुवानी गाडी क्युमा नै छन्, तेल लोड भएको छैन,’महासचिव अग्रवालले भने,‘भारतको वरौनी डिपो छोडेर सिलगुडीबाट निगमले तेल ल्याउन थालेपछि समस्या शुरु भएको हो, निगमको लापरबाही नै भन्न त सक्दैनौं, तर मिस क्याल्कुलेसन भएको छ।’

महासचिव अग्रवालका अनुसार निगमले भाडा कम हुने भन्दै असार १८ गतेतिरबाट वरौनीबाट तेल ल्याउन छोडेर सिलगुडीबाट मात्र ल्याउन थालेको हो। सिलगुडीले विराटनगरको मात्र होइन, मेची डिपोको माग समेत थेग्न सक्दैन। मेचीले पनि विराटनगर डिपोबाट पेट्रोल लैजाने गरेको छ। यसको असर अहिले पूर्वी नेपालको बजारमा देखिएको छ। ‘अहिले बर्खा र कोभिडले गर्दा मानिसहरुको हिँड्डुल कम छ, सहज स्थिति हुने हो भने के होला अवस्था?,’ उनले भने।  

पूर्वाञ्चल पेट्राल ढुवानी व्यवसायी संघको उपाध्यक्ष गोपाल श्रेष्ठ पेट्रोल लिन सिलगुडी गएको ट्यांकरहरु विगत १८, १९ दिनदेखि क्युमा छन्। ‘सिलगुडीले पेट्रोल दिनै सक्दैन, हाम्रो ट्यांकरहरु १८, १९ दिनदेखि क्युमा बसिरहेको छ,’ उनले भने। बिहीबार थोरै मात्र निगमले तेल दिएको थियो भने शुक्रबार नयाँ सफ्टवेयर शुरु गर्ने भनेर निगमले तेल दिएन। शनिबार सार्वजनिक विदा हुने र आइतबार भारतमा विदा हुने भएकोले अब पूर्वमा पेट्रोल चरम अभाव देखिने व्यवसायीहरु बताउँछन्।  

यो विषयमा बुझ्न पटक पटक सम्पर्क गर्दा निगमको विराटनगर कार्यालय प्रमुख नकुल भण्डारीले फोन उठाएनन्। निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले सिलगुडीबाट तेल ल्याउन आफूहरुले नै निर्देशन दिएपनि पेट्रोल आपूर्ति र वितरणमा समस्या भएकोबारे जानकारी नभएको बताए। ‘सिलगुडी हामीले नै जाउ भनेको हो, तर पेट्रोल दिन सकेन भन्ने जानकारी छैन,’ उनले भने,‘आपूर्ति असहज नहुनु पर्ने हो, के भएको हो, म बुझ्छु। पेट्रोल अभाव हुन हामी दिदैनौं।’

प्रकाशित: १ श्रावण २०७८ १४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App