अर्थ

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ९३ करोड

भक्तपुर नगरपालिकाको बिहीबार सम्पन्न दशौं नगरसभाको बैठकले १ अर्ब ९३ करोड २० लाख रूपैयाँको बजेटको सर्वसम्मत रुपमा पारित गरेको छ। प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरसभाको बैठकले आर्थिक विधेयक २०७८, विनियोजन विधेयकसहित आ.व. २०७८/७९ का लागि भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित गरेको हो।

नगरपालिकाका उपप्रमुख रजनी जोशीले असार १० गते नगरपालिकाको लागि रु. १ अर्ब ९३ करोड २० लाखको बजेट प्रस्तुत गरेकी थिइन्। बजेटमा कोभिड १९ ले असर पारेको विषम् परिस्थितिलाई ध्यानमा राखेर स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको थियो। ख्वप अस्पतालमार्फत जनतालाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो भने जनताको सहयोगमा स्थापित अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन भक्तपुरका जनतालाई १ वर्षसम्म निःशुल्क र नगर बाहिरका लागि न्युनत्तम शुल्क लिएर वितरण गर्ने निर्णय गरेको छ।

सभामार्फत नगर प्रमुख प्रजापतिले चिनियाँ कम्युनिष्ट पार्टीको १०० औं स्थापना दिवसको अवसरमा चीनका जनता र कम्युनिष्टहरुप्रति शुभकामना व्यक्त गरे। संसारका राजनीतिक दलहरुको निम्ति समाजवादी देश चीन सफल उदाहरण बनिरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले पश्चिमा राजनीतिक पार्टीको तुलनामा चिकपाको सदस्यताको ढाँचा, सांगठनिक संरचना, सञ्चालन विधि फरक भएको र संसारका सबै देशहरुसँग आपसी सम्बन्ध कायम र विकासमा सँगसँगै अगाडि बढ्न चीन प्रतिबद्ध रहेको बताए।  

आ.व. २०७८/७९ को बजेटबारे सभासद्हरुद्वारा व्यक्त जिज्ञासामाथि प्रष्ट पार्दै नगर उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको बजेट विनियोजन नगरको आवश्यकताअनुरुप भएको बताइन्। यसअघि बजेटसम्बन्धी छलफलमा सभासद्हरुले बजेटमा सुधार गर्न विभिन्न सुझावहरु प्रस्तुत गरेका थिए।

सभाको विशेष समयमा सभासद्हरु इन्द्रबहादुर प्याठले बाल सेवक विद्यालय पायक पर्ने ठाउँमा स्थानान्तरण गर्नुपर्ने, गंगालक्ष्मी बमनुले सल्लाघारी क्षेत्रको दायाँबायाँमा वृक्षारोपण गर्नुपर्ने र ऐतिहासिक सम्पदाहरुको नामाकरण पुरानै गर्नुपर्ने, पञ्चमाया दुवालले लिबाली आवास क्षेत्रको सबै सडकमा पीच कार्य सकाउनुपर्ने, शिवप्रसाद बालाले खानेपानी आपूर्तिलाई प्राथमिकतामा राख्नुपर्ने र नयाँ पुल बनाउँदा पुराना पुललाई सम्पदाको रुपमा संरक्षण गर्नुपर्ने, कृष्णगोपाल चौगुठीले भनपा वडा नं. ३ स्थित तेखापुखु फल्चा पुनःनिर्माणको बजेट छुट्याउनुपर्ने र ज्ञानकुमार मगजुले नगरका वडाहरुको आकारअनुरुप बजेट विनियोजन हुनुपर्ने, वडा नंं. १० स्थित दिपंकर मन्दिर परिसरमा ढुंगा छपाईंको लागि बजेट व्यवस्था गर्ने विषयमा ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: १७ असार २०७८ १४:१६ बिहीबार

भक्तपुर नगरपालिका बजेट एक अर्ब ९३ करोड