अर्थ

धितोपत्र बोर्डको भनाइमा आपत्ति

 बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले धितोपत्र बोर्डले ५१ सूचीकृत कम्पनीबारे सार्वजनिक गरेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

बोर्डले असार १ मा प्रेस विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थासहित ५१ सूचीकृत कम्पनीको सेयरमा लगानी गर्नु जोखिमपूर्ण रहेको बताएको थियो।

परिसंघले भनेको छ, ‘व्यक्ति एवं समूहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सूचीकृत संस्थाको कामकारवाहीको बृहत् अध्ययन, अनुगमन र मूल्यांकन गरी प्रचलित नियमानुसार कार्य नगरेको र संस्थागत सुशासन कायम नगरेको प्रमाणित भए आन्तरिक रूपमा सचेत गराउनु वा कारवाही गर्नु बोर्डको दायित्व र जिम्मेवारी ठहर्छ।’

सम्बन्धित संस्थाको आर्थिक विश्लेषण गरी लगानीसम्बन्धी सूचनामूलक जानकारी उपलब्ध गराउनुका साथै समय–समयमा आम लगानीकर्तालाई अभिमुखीकरण कार्यक्रम आयोजना गर्नुपर्ने भन्दै परिसंघले भनेको छ, ‘संस्थागत पहिचान र प्रतिष्ठामाथि आँच नपुग्ने र लाखौ लगानीकर्तामा मनोवैज्ञानिक त्रास उत्पन्न नहुने गरी बोर्डले कामकारवाही अगाडि बढाउँदा समग्र लगानीकर्ताको हित हुनेछ।’

उता, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले धितोपत्र बोर्डले केही दिनअघि २१ वटा जलविद्युत् कम्पनीको सेयरमा लगानी गर्नु जोखिमपूर्ण हुने भनेकोमा आपत्ति जनाएको छ। इप्पानले बिहीबार एक विज्ञप्ति जारी गर्दै बोर्डले गत असार १ गते सार्वजनिक गरेको विवरणमा आपत्ति जनाएको हो।

इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले विज्ञप्तिमा धितोपत्र बोर्ड आफैंले सेयर निष्कासन अनुमति दिएर सूचीकृत भएका जलविद्युत् कम्पनीको प्रकृतिलाई ख्यालै नगरी मूल्य आम्दानी अनुपात, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थलाई मात्र आधार बनाएर दोस्रो बजारमा कारोबार भइरहेका २१ जलविद्युत् कम्पनीमा गरिएको लागानीलाई जोखिमयुक्त भनेकोमा गम्भीर ध्यानाकर्षण भएको बताए।  

इप्पानले जलविद्युत् कम्पनीमा लगानी जोखिमपूणै भन्दै विज्ञप्ति निकालेर धितोपत्र बोर्डले कसको पक्षपोषण गर्न खोजेको हो, स्पष्ट पार्न अनुरोध गरेको छ। धितोपत्र बजारमा अहिलेसम्म ४० वटा जलविद्युत् कम्पनीहरू सूचीकृत छन्। बोर्डले जलविद्युत्का २१ सहित ५१ वटा कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण हुने भन्दै विवरण सार्वजनिक गरेको थियो। 

प्रकाशित: ४ असार २०७८ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App