अर्थ

आपसी सहकार्यका लागि अनुरोध

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले कोभिड–१९ महामारीका कारण अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र सामाजिक जनजीवन प्रभावित भएको बताए। 

उनले यसबाट भएको आर्थिक सामाजिक नोक्सानीको क्षतिपूर्ति हुन केही वर्ष लाग्ने हुँदा सबै मुलुक बीच आपसी सहयोग र सहकार्यका लागि अनुरोध गरे। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९औं बैठकमा बोल्दै उनले गत वर्ष सरकारले तीन महिना गरेको बन्दाबन्दीले पर्यटन क्षेत्र, लघु, घरेलु र साना उद्योग व्यवसाय बढी प्रभावित भएको जानकारी दिए।

मुलुकमा असल श्रम सम्बन्धको प्रवद्र्धनका साथै महामारीबाट सिर्जित परिस्थितिको सामना गर्न रोजगारदाताले ट्रेड यूनियनसंगको संवादलाई महत्व दिएको जानकारी उनले गराए। सभापति संघईले अहिले नेपालको रोजगारदाता संस्थाले नीतिगत सुधार एवं केन्द्र, प्रदेश र स्थानीय सवै तहमा सामाजिक संवादको संयन्त्रणको सबलीकरण गर्ने काम गरिरहेको र रोजगारदाता संस्थाले तय गरेका रणनीति र कार्यक्रम रोजगारी सिर्जना, आर्थिक वृद्धि र व्यसायको दिगोपनमा केन्द्रित रहेको उल्लेख गरे।

एक सय ७६ भन्दा बढी मुलुकका प्रतिनिधि सहभागी रहेको आइएलओ बैठक जुन ३ देखि १८ सम्म सञ्चालन हुनेछ। श्रम सम्मेलनमा कोभिड–१९ महामारीको संकटबाट मुक्त हुन अपनाउन पर्ने उपाय र रणनीति, दिगो आर्थिक पुनरुत्थान, सामाजिक सुरक्षा, बालश्रम र अन्तर्राष्ट्रिय श्रम संगठन शताब्दी घोषणाको कार्यान्वयन लगायत विषयमा छलफल हुने कार्यक्रम छ।

प्रकाशित: ३० जेष्ठ २०७८ ०४:२७ आइतबार

नेपाल उद्योग वाणिज्य महासंघ