अर्थ

उपत्यकामा शुक्रबारदेखि पूर्वाधार निर्माण गर्न दिइने

फाइल तस्बिर

 काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले गत सातादेखि पूर्वाधार निर्माण कार्य र ढुवानीमा लगाएको प्रतिबन्ध हटाउने तयारी गरेका छन्। गत साता उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को संक्रमणको जोखिम बढेको भन्दै रोकथाम तथा नियन्त्रणको लागि पूर्वाधार निर्माण तथा ढुवानी सेवा पनि रोक लगाउने निर्णय गरेको थियो। तर प्रशासनले रोक लगाएको एक साता नबित्दै फेरि खुला गर्ने तयारी गरेको छ।  

काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मानबहादुर बुढाले तीनै जिल्लाको प्रशासन कार्यालयले गत साता कडा खालको निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नेसम्बन्धी छलफल भइरहेको बताए। ‘आगामी जेठ २० गतेसम्म त साबिककै निर्णय कार्यान्वयन हुनेछ,’ उनले भने, ‘२१ गतेदेखि भने निषेधाज्ञाको मोडालिटी परिवर्तन हुने देखिन्छ।’  

उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले गत जेठ १४ गतेदेखि पूर्वाधार निर्माण कार्य रोक्दै निर्माण सामग्री ढुवानीमा समेत रोक लगाएको थियो। प्रशासनले रोक लगाएसँगै सीमित कामदारले सञ्चालन हुँदै आएको पूर्वाधार निर्माण कार्य प्रभावित भएको छ।  

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत बुढाले स्वास्थ्य मापदण्ड पूरा गरेर पूर्वाधार निर्माण तथा निर्माण सामग्रीको ढुवानी खोल्ने तयारी भइरहेको बताए। ‘डिसिसिएमसीको बैठकमा निषेधाज्ञाको मापदण्ड कस्तो गराउने विषयमा व्यापक छलफल भयो,’ उनले भने, ‘आगामी बिहीबारसम्म त अहिलेको निर्णय नै कार्यान्वयन हुनेछ। शुक्रबारदेखि भने केही फेरबदल हुन सक्नेछ।’  

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले उच्च सतर्कता अपनाएर साना परियोजनाको काम गर्न कुनै समस्या नभए पनि प्रशासनले कडाइ गर्दा काम ठप्पै भएको बताए। दोस्रो लहरको कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि गरिएको निषेधाज्ञाको कारणले काठमाडौं उपत्यकामा निर्माणाधीन झण्डै दुई सयभन्दा धेरै योजनाको काम रोकिएको छ। 

सडक डिभिजन कार्यालय, काठमाडौं मातहत निर्माणाधीन डेढ सयभन्दा धेरै योजनाको काम अलपत्र परेको छ। निषेधाज्ञाले काठमाडौंमा नियमित रूपमा हुँदै आएको सडक स्तरोन्नति, कालोपत्रे, मार्किङ, फुटपाथ निर्माण, नयाँ कालोपत्रे सडक विस्तार, ड्रेनेज तथा ट्र्याक खन्ने, लगायत मर्मतसम्भारका काम प्रभावित भएको छ।

सडक डिभिजन कार्यालय, काठमाडौंका प्रमुख कुवेर नेपालीले जिल्ला प्रशासन कार्यालयले गत सातादेखि पूर्वाधार निर्माण कार्य स्थगित तथा ढुवानी सामग्रीमा रोक लगाएसँगै चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुने लक्ष्य राखिएको योजनाको काम प्रभावित भएको बताए। ‘निषेधाज्ञाले सबैजसो निर्माणाधीन काम रोकिएका छन्,’ उनले भने, ‘सामाजिक दुरी कायम गरेर उपत्यकाका सडकमा जेब्राक्रसिङ लगायत काम गरिरहेका थियौं। गत सातादेखि प्रशासनले रोक लगाएसँगै त्यो काम पनि रोकिएको छ।’

यसअघि डिभिजन कार्यालयले सडक मार्किङ, ओभरले, फुटपाथ निर्माण लगायत काम गर्दै आइरहेको थियो। डिभिजन कार्यालय मातहत डेढ अर्ब रूपैयाँभन्दा धेरैको योजना निर्माणाधीन अवस्थामा सडक आवधिक मर्मतसम्भार लगायत सम्पूर्ण कार्य प्रभावित भएको कार्यालयको भनाइ छ। 

प्रकाशित: १९ जेष्ठ २०७८ ०२:४३ बुधबार

शुक्रबारदेखि पूर्वाधार निर्माण गर्न दिइने