अर्थ

कृषिमा पौने चार अर्ब बढी

कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा सरकारले उत्पादन वृद्धि गर्न कृषि क्षेत्रमा बजेटको आकार बढाएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि चालु आर्थिक वर्षभन्दा करिब पौने चार अर्ब रूपैयाँ बजेट वृद्धि गरेका छन्।  

आगामी आर्थिक वर्ष कृषि तथा पशुपन्छीका लागि ४५ अर्ब नौ करोड रूपैयाँ बजेट विनियोजन गरेका छन्। चालु आवमा ४१ अर्ब ४० करोड रूपैयाँ बजेट थियो।बजेटमा अधिकांश कार्यक्रम पुराना भए पनि किसानलाई अनुदान दिने केही नयाँ कार्यक्रम समावेश गरिएको छ। सबैभन्दा धेरै १२ अर्ब रूपैयाँ रासायनिक मलका लागि विनियोजन गरिएको छ। यो वर्ष ११ अर्ब रूपैयाँ बजेट रहेकोमा एक अर्ब रूपैयाँ बढाएको हो। बजेटमा नै मलका लागि बजेट सुनिश्चित गरिए पनि मल अभाव हुने गरेको छ। रासायनिक मलको अभावलाई टार्न तीन वर्षभित्र मुलुकमै मल कारखाना स्थापना गर्ने महत्वाकांक्षी योजना घोषणा भएको छ।

मलपछि विगतदेखिनै सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि सात अर्ब ८९ करोड रूपैयाँ विनियोजन गरिएको छ। यस आयोजनाको प्रभावकारी कार्यान्वनयमा प्रश्न उठ्दै आएको छ। कृषिमा सहुलियत कर्जाका लागि सात अर्ब ६० करोड, उखु किसानका लागि अनुदान दिन ८४ करोड विनियोजन गरिएको छ।  

कोरोनाको समयमा तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानलाई २५ प्रतिशत अनुदान दिने नयाँ कार्यक्रम समावेश भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव योगेन्द्र कार्कीले बताए। ‘तरकारी, दूध ढुवानीमा अनुदान दिने नीति लिएका छौं,’ उनले भने, ‘यसले किसानलाई प्रोत्साहित गर्छ।’

साना किसानलाई धानको बिउ खरिदमा ५० प्रतिशत नगद अनुदान, जैविक मल कारखाना बनाउँदा ५० प्रतिशत अनुदान, स्थानीय तहमा गोदामघर निर्माण जस्ता कार्यक्रम पनि समावेश भएका छन्। विगतमा भन्दा स्थानीय तहमार्फत कार्यान्वयन हुने गरी धेरै कार्यक्रम समावेश गरेको सचिव कार्कीले दाबी गरे। कृषिको बजेट वृद्धि भए पनि प्रभावकारी कार्यान्वयन हुनेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।  

सरकारले बिउ खरिद तथा रोपण गर्ने कृषकलाई बिउमा ५० प्रतिशत अनुदान दिने भएको छ। प्रांगारिक मलतर्फ जैविक विषादी कारखाना स्थापना गर्न इच्छुक निजी कम्पनीलाई ५० प्रतिशतसम्मको सहुलियतपूर्ण कर्जा दिने बजेटमा उल्लेख छ। विगतमा घोषणा भएर कार्यान्वयन नभएको दुग्ध तथा कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने कार्यक्रमलाई यो बजेटमा पनि समावेश गरिएको छ। अर्थमन्त्री पौडेलले दुई वर्षभित्र दूध तथा तरकारी र तीन वर्षमा गँहु मकै, कोदो, फापर, पाँच वर्षमा चालममा आत्मनिर्भर हुने घोषणा गरे।

उत्पादन बढाउन बाँझोे जमिन निजी क्षेत्रलाई लिजमा दिने नीति पनि सरकारले लिएको छ। नुवाकोट, बैतडी, भोजपुरमा फलफूल र हिमाली क्षेत्रमा मनाङ, मुस्ताङमा व्यावसायिक पशुपालन गर्न जग्गा लिजमा दिने योजना छ।मध्य तथा उच्च प्रविधियुक्त बहुउद्देश्यीय नर्सरी स्थापना तथा ५० लाख फलफूलका बिरुवा उत्पादन गर्ने, राजमार्ग किनारामा बाँझो, साझा तथा नदी उकासबाट प्राप्त जग्गामा फलफूल, नगदेबाली लगाउन स्थानीय तहलाई प्रोत्साहन गर्ने, स्थानीय तहमा दुई सय खाद्य भण्डार केन्द्र, ८९ शीत कक्ष र शीत भण्डार स्थापना गर्ने घोषणा गरिएको छ।

कृषियोग्य जमिनको वर्गीकरण गरी भौगोलिक तथा मौसमी अनुकूलताको आधारमा बाली लगाउन प्रोत्साहन गर्ने, माटो परीक्षणको लागि प्रयोगशालाको क्षमता अभिवृद्धि गरी डिजिटल सोइल म्यापिङलाई कार्यान्वयनमा ल्याउने, भण्डारण सहितको कृषि उपज प्रशोधन केन्द्र स्थापना गर्ने कार्यक्रम बजेटमा छन्। सरकारले न्यूनतम समर्थन मूल्यका धान, गहुँ जस्ता कृषि उपज खाद्य व्यवस्था तथा कृषि सहकारीमार्फत खरिद गर्ने व्यवस्था मिलाउने भएको छ। खाद्य भण्डारको बिमा प्रिमियममा ५० प्रतिशत अनुदान दिने, कृषि तथा पशु बिमाको लागि वस्तु र बाली बिमाको प्रिमियम ५० प्रतिशत बेहोर्ने नीतिलाई यो वर्ष पनि निरन्तरता दिएको छ।। कृषि उत्पादन ढुवानी गर्न कृषि राजमार्ग निमार्ण गर्न स्थानीय तहमा सहकारीलाई ५० प्रतिशतको पुँजीगत लगानीको व्यवस्था गरेको छ। कृषि उपजको मूल्य, मौसम, प्रविधि, बजारसम्बन्धी कृषि सञ्चारबाट गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ।

भोजपुर, काभ्रे, दाङ, डडलेधुरा लागयत १० जिल्लामा व्यावसायिक कागती खेती गर्ने र मुलुकका १७ स्थानमा कृषि थोक बजारको स्थापना गर्ने योजना छ। पशुपन्छीतर्फ पशुको गर्भाधान निःशुल्क गर्ने व्यवस्था मिलाउने, पशुपन्छीका लागि खोपमा निर्माणमा आत्मनिर्भर बन्ने, पशु स्वास्थ्य सुधारका लागि आवश्यक योजना ल्याएको बजेटमा उल्लेख छ। आधुनिक प्राविधियुक्त ‘सेन्टर अफ एक्सेलेन्स’को लागि चितवनको चन्दडाँगी र सर्लाहीको नवलपुरका कृषि फार्मलाई दुई वर्षभित्र विकसित गर्ने योजना छ। खाद्य स्वच्छताका लागि खाद्य अनुगमन, घुम्ती परीक्षण सेवा तथा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला निर्माण गर्न पनि बजेट विनियोजन गरिएको छ।

प्रकाशित: १६ जेष्ठ २०७८ ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App