अर्थ

सिन्धुली–खुर्कोट खण्ड पहिलोपटक स्तरोन्तति

फाइल तस्बिर

बिपी राजमार्गको सिन्धुली–खुर्कोट खण्ड पहिलोपटक स्तरोन्नति गरिएको छ। जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको ६ वर्षपछि पहिलोपटक स्तरोन्नति भएको हो।

निषेधाज्ञाको बीचमा सडकको स्तरोन्नति गरेसँगै बिपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको ३९ किलोमिटर लामो सडकको स्वरूप बदलिएको छ। यो सडक खण्ड घुमाउरो भएकाले स्तरोन्नतिसँगै रमणीय पनि देखिएको छ। यो राजमार्गको १६० किलोमिटरमध्ये सिन्धुलीमाढी–खुर्कोट खण्ड जीर्ण भएपछि स्तरोन्नति गरिएको हो।  

मुलुकभर फैलिएको कोरोना भाइरसको रोकथामका लागि निषेधाज्ञा गरिए पनि निषेधाज्ञाकै बीचमा धमाधम काम गरी स्तरोन्नति अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। सडकमा दुई इन्च कालोपत्रे थपिएको (ओभरले) बर्दिवास–सिन्धुली–धुलिखेल सडक आयोजनाले जनाएको छ। यो सडकको स्तरोन्नतिका लागि प्रतिकिलोमिटर झन्डै एक करोड रूपैयाँ खर्च भएको छ। सडक स्तरोन्नति गर्नका लागि चार प्याकेजमा ठेक्का निकाली काम भएको आयोजनाले जनाएको छ। वल्र्डवाइड /जलुकेनी/ कल्पवृक्ष जेभीले ओभरलेको काम ३८ करोड रूपैयाँमा ठेक्का लिएको सडक आयोजनाले जनाएको छ।

सडकको खाल्डाखुल्डी पुर्ने तथा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ। चौडा सडकको पूरै भाग ओभरले हुनुपर्नेमा त्यसो नहुँदा केही समय अलमल भएको थियो।

आयोजनाका प्राविधिक रमेश आचार्यका अनुसार बिपी राजमार्ग पाँचदेखि नौ मिटरसम्म चौडाइ भएको र सुरुमा पाँच मिटर मात्र कालोपत्रे गर्ने कामको इस्टिमेट रहेकोे हुँदा कतै आधा सडक नै होचो अग्लो देखिएपछि पूरै चौडाइ लिएर कालोपत्रे गरिएको छ।  

कालोपत्रेसँगै सडकको दायाँबायाँ रेखांकन गरी चिह्न लगाउने काम भइरहेको सडक आयोजनाले जनाएको छ। राजमार्गको अन्य तीन फेजको काम कतै सम्पन्न भएको छ भने केही स्थानमा जारी छ। 

प्रकाशित: १३ जेष्ठ २०७८ ०२:०४ बिहीबार

सिन्धुली–खुर्कोट खण्ड पहिलोपटक स्तरोन्तति