अर्थ

कोरोना महामारीले ६ हजार आयोजनाको काम प्रभावित

कोभिड–१९ को दोस्रो लहरले निर्माणाधीन ६ हजारभन्दा धेरै पूर्वाधार आयोजनाको काममा प्रत्यक्ष असर देखापरेको छ। पूर्वाधार निर्माणको मुख्य सिजनमै कोभिड–१९ को दोस्रो लहर चर्किएसँगै निर्माणाधीन आयोजनाको काम प्रत्यक्ष रूपमा रोकिएका हुन्। वैशाखदेखि जेठ महिनामा नेपालका अधिकांश सडक कालोपत्रे तथा पुलको ढलान कार्य गरिन्छ। यही सिजनमा कोभिड–१९ को दोस्रो लहरले आक्रान्त पारेसँगै निर्माणाधीन आयोजनाको काम प्रभावित भएको छ। कोभिड–१९ को दोस्रो लहरले राष्ट्रिय गौरवका आयोजनादेखि अन्य ठूला–साना सबै खाले आयोजना प्रभावित भएका छन्।  

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह कोभिड–१९ को दोस्रो लहरले निर्माणाधीन ६ हजारभन्दा धेरै आयोजनाको काम प्रभावित भएको बताउँछन्। कोभिड–१९ को दोस्रो लहरले अधिकांश परियोजनाको काम ठप्पजस्तै छ,’ उनले भने, ‘क्याम्प नै खडा गरेर निर्माणाधीन आयोजनाबाहेक अन्यमा कामको गति निकै कम छ।’ ६ हजार आयोजना सबै खाले हुन्, जसमा भौतिक पूर्वाधार मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ, सहरी विकास, पर्यटन, खानेपानी लगायत विकासे आयोजनाका समष्टिगत आयोजना हुन्।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै विकासे पूर्वाधार निर्माण गर्दा अपनाउनुपर्ने सावधानीसम्बन्धी मापदण्ड वैशाख २१ गते जारी गरेको थियो। सिसिएमसीले जारी गरेको मापदण्डमा सम्बन्धित आयोजनाले नै आवासीय कामदार राखी अनिवार्य रूपले स्वास्थ्य मापदण्ड पालना गर्दै कार्य सञ्चालन गर्न गराउनुपर्ने उल्लेख छ।  

तर नेपाल निर्माण व्यवसायी महासंघ सिसिएमसीले ल्याएको मापदण्डकै कारण पूर्वाधार निर्माण क्षेत्रमा श्रमिकहरू काम गर्न डराउने स्थिति उत्पन्न भएको बताउँछ। अध्यक्ष सिंह यस्तो महामारीको बेला जोखिम लिएर पूर्वाधार निर्माणको काम गर्न अप्ठेरो हुने बताउँछन्। ‘ज्यानकै बाजी थापेर काम गर्ने अवस्था छैन,’ उनले भने, ‘जबर्जस्ती गरेर आयोजनाको काम अघि बढाउँदा पनि ठूलो समस्या आउने गर्छ।’ अध्यक्ष सिंह कोभिड–१९ ले कामदार साइट लैजान गाह्रो भएको र निर्माण सामग्रीको पनि चर्काे अभाव खेप्नुपरेको बताउँछन्।

सडक, सिचाइँका पूर्वाधार निर्माणको काम भवन निर्माण जस्तो एकै ठाउँमा मात्रै सीमित नहुने भएकाले पनि संक्रमण बढ्ने त्रास हुन्छ। त्यति मात्रै होइन सडक कालोपत्रे लगायतको काममा अधिकांश भारत तथा तराई मधेसका कामदार साइटमा लैजादा स्थानीयले अवरोध गर्ने गरेका घटनासमेत सार्वजनिक भएका छन्।  

सहरी क्षेत्रका र साना तथा मझौला निर्माण कार्य सहरी तथा बजारी इलाकामा हुँदा काम गर्न समस्यो छ। छिमेकी भारत तथा नेपालका सीमावर्ती जिल्लामा समेत कोभिड १९ को महामारीले विकराल रूप लिएकाले निर्माण क्षेत्रमा दक्ष कामदारको हाहाकार भएको छ। भारत तथा बंगलादेशबाट सडक तथा पुल निर्माणको लागि आवश्यक पर्ने अदक्ष कामदार आउने क्रम रोकिएको छ।  

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवकुमार नेपाल कोभिड १९ को दोस्रो लहरले पूर्वाधार क्षेत्रको अधिकांश काम रोकिएको बताउँछन्। ‘कोभिड–१९ को दोस्रो लहरले सडक विभाग मातहतका अधिकांश आयोजनाको निर्माण कार्य रोकिएको छ,’ उनले भने, ‘एकातर्फ संक्रमणको त्रास र अर्काेतर्फ प्रशासनले कामदार एकठाउँबाट अर्काे ठाउँमा लैजान कडाइ गरेसँगै निर्माणाधीन आयोजनाको काम प्रभावित भएको हो।’  

विभागका अनुसार अहिले काठमाडौं उपत्यकामा निर्माणाधीन सडक तथा पुलका अधिकांश काम ठप्प जस्तै छन्। सडक विभाग मातहत अहिले करिब १५ सय आयोजना र ६ सय पुल निर्माणाधीन अवस्थामा छन्। तर जिल्ला प्रशासन कार्यालयहरूले पास वितरणमा चासो नदिँदा आयोजनाका काम रोकिएका छन्। ‘कोभिड महामारीबाट निर्माण क्षेत्र पनि अछुतो छैन,’ उनले भने, ‘अहिले सीमित केही आयोजना बाहेक अधिकांशको निर्माण कार्य रोकिएका छन्।’  

सडक विभागका अनुसार गत वैशाख २६ गतेसम्म पुँजीगत बजेट ४१ प्रतिशत मात्रै खर्च भएको छ। ‘वैशाखको तेस्रो सातासम्म करिब ४१ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ,’ उनले भने, ‘अब कोभिडको प्रभाव कहिलेसम्म रहन्छ, सोही अनुसार नै पुँजीगत खर्चको अवस्था अनुमान गर्न सकिएला।’  

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष कृष्ण आचार्य कोभिडको दोस्रो लहर अत्यन्तै घातक भएकाले पनि आयोजनाको काम अघि बढाउन समस्या भइरहेको बताउँछन्। ‘दोस्रो लहरको प्रभावले अहिले मुलुकभरको जनजीवन अस्तव्यस्त बनाएको छ,’ उनले भने, ‘अहिले कामभन्दा पनि ज्यान जोगाउने बेला हो। त्यसैले जोखिम लिएर काम अघि बढाउने अवस्था छैन।’  

इप्पानका अनुसार अहिले तीन हजार मेगावाट क्षमताका एक सयभन्दा धेरै जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्। कोरोनाको दोस्रो लहरले यी आयोजना पनि प्रत्यक्ष÷अप्रत्यक्ष प्रभावित हुने भएका छन्। चालु आवमा चार सय मेगावाटको करिब २० वटा आयोजना निर्माण सम्पन्न भएका छन्। 

प्रकाशित: ९ जेष्ठ २०७८ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App