अर्थ

अक्सिजन कन्सन्ट्रेटर खरिद गर्न आर्थिक जुटाउँदै सर्वसाधारण

दुई दिनमै ५० लाख जम्मा

सुदूरपश्चिमका अस्पतालहरुमा अक्सिजनको हाहाकार भएको छ। कोराेनाको नयाँ भेरियन्टको संक्रमणले संक्रमितको संख्या अस्पतालमा थपिँदै गएको छ। सरकारी तथा निजी अस्पतालमा अक्सिजन नपाएर संक्रमिट छट्पटिरहेका छन्। 

कयौको अक्सिजन नपाएर नै ज्यान गईसकेको छ। अक्सिजन र खाली सिलिण्डरको अभावले माग अनुसारको आपुर्ती हुन सकिरहेको छैन। अक्सिजन अभावले ज्यान गुमाउनु परेको भयावह अवस्था भएपछि प्रतिघण्टा १० लिटर अक्सिजन प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटर खरिद गर्ने भनेर सर्वसधारणले आर्थिक सहयोग गर्न थालेका छन्। रोटरी क्लव धनगढीले  १ सय वटा अक्सिजन कन्सन्ट्रेटर दिल्लीबाट ल्याएर अहिलेको संकट कम गर्न सकिने भन्दै शनिबारदेखि आर्थिक अभियान सुरु गरेको थियो। 

क्लवले आर्थिक अभियान सुरु गरेपछि स्वस्फुर्त रुपमा व्यवसायी, पेशाकर्मी, सर्वसधारण नागरिक सवैले आर्थिक सहयोग गरिरहेका छन्। शनिबार र आईतबार दुई दिनमै ५० लाख जति आर्थिक संकलन भएको रोटरी क्लव धनगढीका संस्थापक अध्यक्ष प्रकाश भट्टले बताएका छन्। ‘सर्वसधारण नगारिक, पेशाकर्मी, व्यवसायी सवै आएर स्वस्फुर्त रुपमा अक्सिजन कन्सन्ट्रेटरका लागि आर्थिक सहयोग गरिरहेका छन्’, उनले भने, ‘२ हजार २५ सयदेखि ५, १० लाख समेत आर्थिक सहयोग गरिरहेका छन्।’ १ करोड ३० लाख जम्मा भएमा १० दिनभित्र दिल्लीबाट १ सय वटा अक्सिजन कन्सन्ट्रेटर ल्याएर अस्पतालहरुलाई वितरण गरिने उनले बताए। 

बिद्युतवाट संचालन हुने अक्सिजन कन्सन्ट्रेटरले हावाबाट अक्सिजनलाई एकीकृत गर्ने गर्छ। हावामा करिव ७८ प्रतिशत नाईट्रोजन, २१ प्रतिशत अक्सिजन र एक प्रतिशत अन्य ग्यासहरु हावामा हुन्छन्। कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने गर्छ। 

प्रकाशित: २ जेष्ठ २०७८ ०९:२५ आइतबार

अक्सिजन कन्सन्ट्रेटर आर्थिक अभियान शुरु