अर्थ

कोरोना विपतमा उठेनन् सहयोगी हात

फाइल तस्बिर

विगतमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्ति होस् वा भूकम्प, नाकाबन्दी होस् वा अन्य कुनै दैवी प्रकोप। हरेक विपत्तिमा उद्योगी, व्यवसायी स्वयं सघाउन अग्रसर हुन्थे। राहतका सामानदेखि नगद सहयोग गर्नेको लर्को लाग्थ्यो। अहिले मुलुक कोभिड १९ को दोस्रो लहरले आक्रान्त छ। अस्पतालमा अक्सिजन र शय्या नपाएर संक्रमितले ज्यान गुमाइरहेका छन्। कोरोना संक्रमितको स्वास्थ्य परीक्षणदेखि उपचार व्यवस्थापन गर्न अस्पताल तथा राज्यलाई सकस परिरहेको छ।

विगतमा अप्ठेरो अवस्थामा सहयोगका लागि उत्साहित हुने उद्योगी, व्यवसायीले कोभिड महामारीमा भने अपेक्षित अग्रसरता देखाएका छैनन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्सजस्ता निजी क्षेत्रका संस्था र केही व्यापारिक घरानाले सहयोगका हात अगाडि बढाए पनि अधिकांश कर्पोरेट हाउसका सञ्चालक भने चुपचाप छन्। संस्थामार्फत् बाहेक विपत्मा देखिने गरी एक दर्जन व्यवासायीले पनि सहयोग गरेको देखिएको छैन।

कोभिड महामारीले मुलुकमा स्वास्थ्य संकट सिर्जना भएका बेला निजी क्षेत्रले सोचेजस्तो सहयोग नगरेको पूर्वअर्थसचिव शान्तराज सुवेदी बताउँछन्। ‘कोभिडका कारण उद्योगी, व्यवसायी पनि समस्यामा छन्,’ उनले भने, ‘सक्ने व्यापारिक घरानाले पनि मुठी खोलेको देखिएन।’ स्वास्थ्य सामग्री, उपकरणलगायत वस्तु सहयोग गर्न सक्ने व्यवसायीले पनि खासै अग्रसरता नदेखाएको उनी बताउँछन्। ‘उद्योगी, व्यवसायीले सधैं राज्यबाट छुट र सुविधा मात्र खोज्ने होइन,’ उनले भने, ‘नागरिकलाई अप्ठेरो परेका बेला सामाजिक उत्तरदायित्व पनि पूरा गर्नुपर्छ।’

निजी क्षेत्रले चाहे काठमाडौं, विराटनगर, वीरगन्ज, नेपालगन्ज, बुटवल, पोखरालगायत ठूला सहरमा आइसोलेसन सेन्टर सञ्चालन गर्न सक्ने सुवेदीको तर्क छ। सम्बन्धित ठाउँका उद्योगी, व्यवसायीका छाता संस्थाको नेतृत्वमा यस्ता सेन्टर सञ्चालन गर्न सकिन्छ। ‘आर्थिक सहयोग मात्र होइन, उपचारमा विभिन्न तरिकाले सघाउन सकिन्छ,’ उनले भने, ‘तर, अहिले ठूलो सहयोग देखिएन। नगन्य मात्र भयो।’

मुलुकको कानुनले उद्योगी, व्यवसायीदेखि बैंक तथा वित्तीय संस्थाले नाफाको एक प्रतिशत रकम सिएसआर (कर्पोरेट सोसियल रेस्पोन्सबिलिटी) मार्फत् खर्च गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ। मुलुकका वाणिज्य बैंकहरूले यो वर्ष गरेको नाफालाई हेर्दा सिएसआरअन्तर्गत ५० करोड रूपैयाँभन्दा बढी खर्च गर्नुपर्नेछ। केही बैंकले महामारीका बेला सहयोग गरे पनि धेरैको ध्यान यता जान सकेको छैन।

कोभिडका कारण व्यापार, व्यवसाय ठप्प भएकाले सहयोग गर्न नसकेको भन्ने एकथरी व्यवसायीको तर्क छ। महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अन्य विपत्मा जस्तै उद्योगी, व्यवसायी बाहिर निस्केर सहयोग गर्ने अवस्था नरहेको बताउँछन्। ‘निजी क्षेत्रले धेरै सहयोग गरिरहेकै छ’, ढकालले भने, ‘अहिलेको परिस्थिति अलि कठिन भएकाले बाहिर निस्केर सहयोग गर्न अप्ठेरो भएको हो।’

उद्योगी, व्यवसायीले सहयोग गरेर नै महासंघले दुई सयजना अट्ने क्षमताका तीनवटा आइसोलेसन सेन्टर बनाएको उनले जानकारी दिए। कर्पोरेट हाउसहरूले आफ्नो क्षेत्रबाट सहयोग गरिरहेको र आगामी दिनमा पनि गर्दै जाने ढकाल बताउँछन्। महासंघले सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टरमा भने त्यसका पदाधिकारीले व्यक्तिगत रूपमा लगानी गरेका हुन्।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न महामारीका बेला बाहिर निस्कनु पर्ने बाध्यता भए पनि प्रविधिमा आएको विकासले नगद सहयोग गर्न भने कसैलाई घरबाहिर जानु पर्दैन। ढकाल अध्यक्ष रहेको आइएमई बैंकले अस्पताललाई एक करोड रूपैयाँ सहयोग र आइएमई ग्रुपले स्वास्थ्य सामग्रीमा सहयोग गरेको छ। यस्तै, महासंघका अध्यक्ष शेखर गोल्छाको गोल्छा अर्गनाइजेसनले कोभिड उपचारमा सघाउन पाटन अस्पताललाई एक करोड रूपैयाँ सहयोग गरेको छ।

विदेशी मुलुकमा धनाढ्य व्यापारीले फाउन्डेसन बनाएर सामाजिक क्षेत्रमा ठूलो धन खर्च गर्दै आएका छन्। सामाजिक सेवा बाध्यात्मकभन्दा पनि स्वेच्छिक हो। तर, समाजले आपत्मा व्यापारिक घरानाबाट सहयोगको अपेक्षा गरिरहेको हुन्छ। अहिलेसम्म कर्पोरेट क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग सूर्य नेपालले गरेको छ। उसले यो वर्ष सात करोड ६५ लाख रूपैयाँ सहयोग गरेको हो।  

सूर्य नेपालले गत साता टिचिङ अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र निजामती कर्मचारी अस्पताललाई ६५ लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको थियो। यस्तै, यो आर्थिक वर्षको सुरुवातमा सातै प्रदेशमा स्थापना गरिएका कोभिड–१९ उपचार तथा नियन्त्रण कोषमा एक करोड रूपैयाँका दरले सात करोड रूपैयाँ सहयोग गरेको थियो। यसैगरी, सौरभ समूहका अध्यक्ष विष्णु न्यौपानेले नवलपरासीको सुनवल नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा ७० लाख रूपैयाँबराबरको स्वास्थ्य सामग्री, तिनाउ गाउँपालिकामा सञ्चालित कोभिड सेन्टरमा अक्सिजन सिलिन्डरलगायत सामग्री खरिद गर्न पाँच लाख रूपैयाँ सहयोग गरेका छन्।

यही ग्रुपको लक्ष्मी स्टिलले भैरहवाको भीम अस्पताललाई एक सय थान अक्सिजन सिलिन्डर, अस्पतालका सबै बेडमा अक्सिजन पुग्ने गरी अक्सिजन पाइपलाइन जडान गर्न सहयोग गरेको छ। लक्ष्मी ग्रुपको लक्ष्मी हुन्डाईले गण्डकी प्रदेश सरकारलाई ५० लाख रूपैयाँबराबरको स्वास्थ्य सामग्रीहरू प्रदान गरेको छ। यसैगरी, नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडा) ले नेपाल एपिएफ अस्पताललाई स्लिपर ५० सेट, बेड सिट ५० वटा, टावेल ५० वटा, मास्क ५ हजार थानलगायत सामग्री प्रदान गरेको छ। शंकर समूह र इन्फिनिटी होल्डिङले वीर अस्पतालको सर्जिकल ब्लकलाई ५० वटा बेड, म्याट्रेस, ५० थान पिपिई सेट र तीन हजार थान के–९० मास्क, सुदूरपश्चिममा ५० हजार थान एन–९५ मास्क र दुई सय पिपिई सेट उपलब्ध गराएको छ।

निजी क्षेत्रले उपचारमा सघाउन अक्सिजन सिलिण्डर व्यवस्थापन, अस्पताल तथा आइसोलेसन केन्द्र, औषधिमा सहयोग गरिरहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताए। ‘कोभिड भएर उपचारमा अप्ठेरो परेकालाई सघाउन सहायता केन्द्र स्थापना गरेका छौं,’ उनले भने, ‘विषयगत रूपमा जिम्मेवारी दिन फोकल पर्सन पनि तोकेका छौं।’ महासंघले कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत ‘हेल्लो डाक्टर’ सञ्चालनमा ल्याएर संक्रमणमा परेका बिरामीलाई निःशुल्क स्वास्थ्य परामर्श दिने काम पनि सुरु गरेको छ। 

यसैगरी, नेपाल उद्योग परिसंघले दुई करोड रूपैयाँका स्वास्थ्य सामग्री प्रदान गरेको छ। परिसंघले आफ्नो सदस्य संस्था होङ्सी सिमेन्टमार्फत स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो। आठ लिटर क्षमताका दुई सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको परिसंघका अध्यक्ष सतिशकुमार मोरले बताए। जावलाखेल ग्रुप अफ इन्डन्ट्रिजका अध्यक्ष विजयकुमार शाहले धुलिखेल अस्पताललाई १ करोड ३५ लाख रूपैयाँ सहयोग गरेका छन्।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले उद्योगी, व्यवसायीले सहयोग गरिरहेको दाबी गरे। ‘सहयोग भन्ने चिज धेरै प्रचार नगर्ने भएकाले पनि हो,’ अध्यक्ष मल्लले भने, ‘स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेका छौं।’ औषधि, मास्क, सेनिटाइजर, अक्सिजन सिलिन्डर उपलब्ध गराउन चेम्बरले अग्रसरता लिएको उनले जानकारी दिए। चेम्बरले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ।

प्रकाशित: २ जेष्ठ २०७८ ००:४४ आइतबार

कोरोना विपत उठेनन् सहयोगी हात