अर्थ

रसुवाका दुई जलविद्युत् आयोजनाद्वारा ५७ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण

रसुवाको सान्जेन जलविद्युत् आयोजनाले चालकसहित एउटा एम्बुलेन्स र ३२ थान खाली अक्सिजन सिलिन्डर हस्तान्तरण गर्दै । तस्बिरः हिमनाथ/नागरिक

रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजना र सान्जेन जलविद्युत् आयोजनामा रहेका अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ। जिल्लामा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि आयोजना तथा आयोजना निर्माण गर्ने ठेकेदारले खाली सिलिन्डर हस्तान्तरण गरेका हुन्।  

सान्जेनले ३२ र रसुवागढीले २५ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ। कोरोनाको दोस्रो लहर चलिरहेको र बिरामीको संख्या समेत बढेकाले अक्सिजन दिन पर्ने बिरामीलाई यसले ठूलो सहयोग पुग्ने छ। जिल्लामा रहेका आयोजनाहरूसम्म करिब सयवटा अक्सिजन सिलिन्डर रहेको जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र रसुवाले जनाएको छ।  

जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको सान्जेन जलविद्युत् आयोजना तथा आयोजना निर्माण गर्ने ठेकेदार तुँदी कन्ट्रक्सन प्रालिले ३२ वटा सिलिन्डर हस्तान्तरण गरेको स्वास्थ्य शाखाले जनाएको छ। आयोजना तथा ठेकेदारले चालकसहित एउटा एम्बुलेन्स र ३२ थान खाली सिलिन्डर हस्तान्तरण गरेको स्वास्थ्य शाखा प्रमुख निमा तामाङले बताए। आयोजनाले स्वास्थ्य शाखा प्रमुख तामाङलाई एम्बुलेन्स तथा सिलिन्डर हस्तान्तरण गरेको थियो।  

यसैगरी चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुइ) ले जिल्ला प्रशासन कार्यालय रसुवालाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ। रसुवा स्थित १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको सिडब्लुइले २५ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो।  

जिल्लाको अस्पतालहरूमा अक्सिजन सिलिन्डर पर्याप्त नभएका कारण सहयोग गरिएको आयोजना प्रमुख छबि गैरेले बताए। जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको छ। जिल्लाको अस्पतालहरूमा अहिले पर्याप्त अक्सिजन सिलिन्डर छैन।  

जिल्लामा हाल सञ्चालनमा रहेका दुई वटा अस्पतालमा २० वटा अक्सिजन सिलिन्डर रहेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ। खाली भएको सिलिन्डरमा अक्सिजन भर्नका लागि त्रिशूली पठाइएको प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकालले बताए।  

जिल्लामा २०७८ वैशाख १० गते यता मात्र १ सय ८३ जना कोरोना संक्रमित थपिएका छन्। जिल्लामा हालसम्म ३ सय ७० जनामा कोरोना संक्रमण भएको थियो। जसमा १ सय ९७ जना निको भएका छन्।

प्रकाशित: ३१ वैशाख २०७८ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App