अर्थ

निषेधाज्ञामा चिनीको मूल्य बढ्यो

निषेधाज्ञाको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन्। चिनीको मूल्य बजारमा किलोमा ५ देखि १० रूपैयाँसम्म बढेको छ। ८५ रूपैयाँ किलोमा बिक्री हुँदै आएको चिनी अहिले ९० देखि ९५ रूपैयाँ किलोसम्ममा बिक्री भएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले भने कर छुटमा ल्याएको चिनी आफ्नो आउटलेटबाट किलोको ७७ रूपैयाँ ७५ किलोमा बिक्री गरिरहेको छ।

चिनी उद्योगी र ठूला व्यापारीको मिलेमतोमा चिनीको मूल्य बढाएको खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए। बज्राचार्यका अनुसार खरिद महँगो भएपछि खुद्रा व्यापारीले पनि मूल्य बढाएर बिक्री गरेका छन्। पहिले ८५ रूपैयाँमा बिक्री गरेको चिनीको खरिद मूल्य नै अहिले ८७ रूपैयाँ किलो परेको उनले बताए। ‘खरिद नै ८७ पुगेपछि ढुवानी र सामान्य नाफा जोड्दा किलोको ९०/९५ रूपैयाँ पुग्नु स्वाभाविक हो,’ उनले भने, ‘उद्योगीले मनोमानी ढंगले मूल्य बढाए।’

अहिले बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनको भन्दा १२ रूपैयाँ महँगोमा चिनी बिक्री भइरहेको छ। सरकारले विगतका वर्ष साल्ट ट्रेडिङलाई कर छुटमा चिनी आयात गर्न दिँदा मूल्य नियन्त्रण हुने गरेको थियो। कर्पोरेसनले आफ्ना आउटलेटबाट बाहेक खुद्रा बिक्रेतालाई चिनी दिन छाडेपछि चिनी उद्यागीले मूल्य बढाएका हुन्। तीन महिनादेखि आफ्ना आउटलेटबाट मात्र चिनी बिक्री गरेको साल्ट ट्रेडिङ कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले बताए। करिब ३० हजार मेट्रिक टन चिनी आयात गर्न कर्पोरेसनले अनुमति मागेको भए पनि सरकारले स्वीकृत नदिँदा चिनी आयात गर्न सकेको छैन। ‘हामीसँग सात सय टन मात्र स्टक भएकाले खुद्रा बिक्रेतालाई दिन सकेका छैनौं,’ उनले भने, ‘आउटलेटमा आउनेले मात्र खुद्रा पाउँछन्।’

पहिला उद्योगीले उद्योगमा ७८ रूपैयाँ किलोमा बिक्री गर्दै आएका थिए। अहिले चिनीको मूल्य उद्योगमा नै ८५ देखि ८७ रूपैयाँ पु¥याएकाले मूल्य बढेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले बताइन्। ‘उद्योगमा नै मूल्य बढेपछि बजारमा ९० देखि ९५ रूपैयाँ किलोमा बिक्री भएको सूचना आएको छ,’ केसीले भनिन्।

चिनीको मूल्य बढेपछि चिनी उद्योगीलाई बोलाएर मूल्य नियन्त्रण गर्ने प्रयास भइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। चिनी उत्पादक संघको नेतृत्वलाई बोलाएर छलफल गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। ‘चिनीको मूल्य वृद्धि भएको गुनासो आएपछि सम्बन्धित पक्षलाई बोलाएर छलफल गरेका छौं,’ पौडेलले भने, ‘धेरै मूल्य लिएर कालोबजारी गरेको पाइए कानुन बमोजिम कारबाही हुन्छ।’  

यहाँ उत्पादन भएको चिनीले बजारको माग धान्दैन। यहाँका उद्योगले करिब एक लाख मेट्रिक टन चिनी उत्पादन गरेको बताएका छन्। मुलुकमा वार्षिक करिब साढे दुई लाख मेट्रिक टन चिनी खपत हुन्छ। डेढ लाख टन चिनी अपुग छ। यही मौकाको फाइदा उठाउँदै चिनी उद्योगीले मूल्य बढाएका हुन्। चिनी उद्योगीले फ्याक्ट्री मूल्य किलोमा दुईदेखि तीन रूपैयाँ बढाएको बताए पनि बजारमा पाँचदेखि १० रूपैयाँ मूल्य बढेको छ। निषेधाज्ञामा ढुवानी गर्ने साधनले धेरै भाडा लिएका कारण पनि मूल्य बढेको हुन सक्ने उद्योगीको तर्क छ।

चिया, मिठाइ, बिस्कुट लगायत कन्फेक्सनरी उद्योगमा चिनीको प्रयोग हुन्छ। विशेष गरी भारतसँग सीमा जोडिएका सहरका स्थानीयले भारततर्फ गएर चिनी खरिद गरेर ल्याउँथे। केही चिनी लुकिछिपी चोरी गरेर ल्याउने गरेका थिए। कोभिड–१९ को कारण अहिले यसरी आउने चिनी पूर्ण रूपमा रोकिएको छ।

सरकारले भन्सार छुटमा चिनी आयात गर्न अनुमति पनि नदिएको र स्वदेशी उत्पादनले नपुग्ने भए पछि यही मौका छोपेर मूल्य बढाएका हुन्। सरकारले चिनीको भन्सार महसुल ४० प्रतिशत र भ्याट लिन्छ। सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २० प्रतिशत भन्सार महसुलमा चिनी आयात गर्न अनुमति दिँदै आएको थियो। तर यो वर्ष अनुमति नदिँदा ती कम्पनीले चिनी आयात गर्न पाएका छैनन्।  

भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी आयात गर्न अनुमतिका लागि फाइल अर्थ मन्त्रालयमा पठाएको आपूर्ति मन्त्रालयका सहप्रवक्ता केसीले बताइन्। गत दसैंदेखि नै चिनी आयातका लागि अनुमति माग गरे पनि स्वीकृति नपाएकाले बजारमा हस्तक्षेप गर्न नसकेको साल्ट ट्रेडिङ कर्पोरेसनका सुचना अधिकारी राजभण्डारीले बताए। ‘समयमा अनुमति पाएको भए बजारमा मूल्य नियन्त्रण गर्न सकिन्थ्यो,’ उनले भने, ‘अब स्वीकृत पाए पनि चिनी ल्याउन करिब डेढ महिना लाग्छ।’ यही मौका छोपेर बजारमा चिनीको भाउ अझै बढ्ने सम्भावना रहेको व्यापारी बताउँछन्।

चिनी उद्योगी र किसानको विवादले उखु खेती गर्नेको संख्या बर्सेनि घट्दै गएको छ। उखुको उत्पादन घट्दै गएपछि चिनीको उत्पादन घटेको हो। चिनी उद्योगले समयमै भुक्तानी नदिएपछि किसान उखु खेतीबाट विस्थापित भएका छन्। चिनी उद्योगी र उखु उत्पादक किसानबीच हरेक वर्ष उखुको भुक्तानी, उखुको मूल्य निर्धारणमा विवाद छ। मजदुर ज्याला, मलखाद, औषधी लगायतको मूल्य वृद्धिका कारण उखु उत्पादन लागत बढिरहेको किसान पलायन भएको बताउँछन्। स्वदेशमा प्रयाप्त उत्पादन नभएपछि त्यसको असर चिनीको मूल्यमा परेको छ। 

प्रकाशित: २७ वैशाख २०७८ ०३:१८ सोमबार

चिनीको मूल्य बढ्यो