अर्थ

पर्यटनमा फेरि लाग्यो दैलो

सुनसान छ लेकसाइड

शनिबार दिउँसो सुनसान बनेको पोखराको पर्यटकीय क्षेत्र लेकसाइड । तस्बिरःउमेश पुन÷नागरिक

कोरोना भाइरस संक्रमणले एकवर्ष भन्दा बढि समयदेखि थलिएको पर्यटन क्षेत्र जसोतसो ब्यूँतिन मात्र खोजेको के थियो, कोरोनाको दोश्रो लहरको भुंग्रोमा परिहाल्यो । कोरोनाको दोश्रो लहरले सबैतिर हालयकालय बनाइरहँदा पर्यटन क्षेत्र छोटो अवधिमै ठप्प हुन पुगेको छ ।

पर्यटकीय क्षेत्र लेकसाइड अहिले सुनसान बनिसकेको छ । केहीदिनअघिसम्म आन्तरिक पाहुनाका कारण लेकसाइडमा भिन्दै रौनक थियो । वैशाख १ गते नयाँवर्षका दिनको रौनकले त लेकसाइडलाई कोरोनाले कुनै प्रभाव नै नपारे जस्तो देखिन्थ्यो । तर, तीनसाता नपुग्दै लेकसाइडको त्यो रौनकता हराएको छ । तीनसाता अघिको चमकबाट लेकसाइड एकाएक ओर्लेर शुन्यतामा झरेको छ ।  

कास्की प्रशासनले अहिले निषेधाज्ञा जारी गरेसँगै लेकसाइड झनै सुस्ताउन पुगेको छ । होटल र रेस्टुरेन्टमा पाहुना छैनन् । खाद्यका पसल बाहेक अरु सबैखाले व्यवसाय बन्द छन् । प्रहरीले पनि कडाई गर्दै खाद्य बाहेकका पसल बन्द गर्दा दवाव दिने गरेको छ । कोरोना संक्रमणको मारमा परेको पर्यटन क्षेत्र एकवर्ष भन्दा बढी समयदेखि घाटामा थियो, अब त्यो घाटा दोश्रो लहरसँगै झनै बढ्ने निश्चित भएको व्यवसायी बताउँछन् ।  

रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बराल भन्छन्, ‘होटल रेस्टुरेन्ट सबै बन्द छन् ।  सरकारले ‘टेक अ वे’ भनेर अनुमति दिएपनि लेकसाइडमा टेक अ वे निकै नै कम हुन्छ ।’ उनका अनुसार एकवर्ष भन्दा बढि समयदेखि पर्यटन व्यवसाय घाटामा चलिरहेको थियो । तर, संक्रमण केही कम हुँदै गएपछि विगत छ महिनादेखि त्यो घाटा केही कम हुन थालेको थियो । तर, अहिलेको तिब्र संक्रमणले त्यो घाटा झनै बढाउने निश्चित भएको उनले बताए ।  

‘पोहोर बिदामा बसेका कर्मचारीलाई पुन काममा फर्काएका थियौ । अब फेरि बन्द गर्नुपर्ने अवस्था आयो,’ बरालले भने, ‘ती कर्मचारीलाई काम दिन सक्ने अवस्था छैन । फर्केर घर जाउ भन्न पनि सकिन्न । आम्दानी नै नभएपछि उनीहरुलाई राखिरहन पनि सकिएन ।’ पर्यटन क्षेत्रमा डामाडोल अवस्था सिर्जना भएको उनले बताए ।  

व्यवसायीले कोरोना संक्रमण सुरु हुँदा पोहोर केही समयका लागि मात्र अप्ठेरो भन्ने सोचेका थिए । तर, त्यो अप्ठेरो दिन, हप्ता, महिना हुँदै वर्षसम्म पुग्दा केही सहज हुन थालेको थियो तर, अब कहिले भन्ने निश्चित नभएको बरालले बताए । ‘हामीले सुरुमा ३÷४ महिना मात्र अप्ठेरो पर्ला भन्ने सोचेका थियौ । तर, त्यो अप्ठेरो एकवर्षसम्म भएपनि पछिल्लो केही समय सहज हुँदै गएको थियो । तर, अब भने झनै अनिश्चित हुने अवस्था आयो,’ बरालले भने ।  

६ महिना पूर्ण रुपमा बन्द रहेको पर्यटन क्षेत्र त्यसपछि आन्तरिक पाहुनाले गर्दा चलायमान बन्ने प्रयासमा थियो । व्यवसायीले आन्तरिक पाहुना पाउँदा नाफा कमाउन त सकेका थिएनन, तर, व्यवसायको दैलो उघार्न भने सघाएको थियो । तर, पर्यटन व्यवसायको त्यो दैलो पुुन बन्द भएको बरालले बताए । उनका अनुसार अहिले लेकसाइडमा झन्डै पाँचसय रेस्टुरेन्ट छन् । ती मध्ये एकसयजति रेस्टुरेन्ट मात्र रेबानमा आवद्ध छन् । परिवार मिलेर मात्र चलाएका रेस्टुरेन्ट धेरै छन् । ‘दोश्रो लहरको कहर कहिलेसम्म भन्ने नै भएन,’ उनले भने, ‘अहिले भन्दा झनै अप्ठेरा दिन आउने संकेत देखिएको छ । अवस्था पनि भयाभव देखिन्छ ।’

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन दोश्रो लहरको कहर झनै डरलाग्दो हुँदै जाँदा व्यवसाय नै अन्योलपूर्ण बन्दै गएको बताए । उनले घरबाहिर निस्कन समेत त्रास भएको अवस्थामा घुमघाम त परैको कुरा भएको बताए । पर्यटकीय क्षेत्र लेकसाइडको अवस्था बेहाल हुँदै गएको उनले बताए । ‘सबैतिर सुनसान छन् । पाहुना कोही छैनन । एकसाता अघिसम्म होटलमा केही आन्तरिक पाहुना थिए । विदेशी पनि फाट्टफुट्ट आउन थालेका थिए,’ उनले भने, ‘तर, यतिबेला पुरै सुनसान बनिसक्यो ।’

कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई उकास्न सबैभन्दा बढी राहत आन्तरिक पाहुनाले दिएका थिए । अघिल्लो वर्षको लकडाउन खुलेर झन्डै ६ महिनापछि व्यवसाय संचालनमा आउँदा पर्यटन व्यवसायीलाई आन्तरिक पाहुनाले बलियो साथ दिएका थिए । कोरोना अवधिमा  पनि राम्रो हुँदा पाहुना आगमनको अकुपेन्सी झन्डै २५ प्रतिशतसम्म उक्लेको थियो । अरुबेला सामान्य अवस्थामा पनि १५ प्रतिशत अकुपेन्सी हुने गरेको थियो । तर, अहिले शुन्यमा झरिसकेको तुलाचनले बताए ।  

‘पर्यटन क्षेत्र थप अनिश्चित भयो । पर्यटनमा आश्रित कामदार पनि झनै त्रसित भएका छन,’ उनले भने । पोहोर कोरोनाले आम्दानी घटाएको भन्दै व्यवसायीले घरभाडामा छुट गराएर भएपनि राहत लिएका थिए । तर, अब भने त्यो छुट पनि माग्ने अवस्था नरहेको उनको भनाई छ । ‘पटकपटक छुट माग्ने अवस्था भएन । अन्योलमै बित्ने भयो । बन्द भएका व्यवसायी पूर्ण रुपमा खुल्न सकेका पनि थिएनन्, पुन थला पर्ने अवस्था आयो,’ तुलाचन भन्छन, ‘अवस्था बिग्रदो छ । अब झनै अनिश्चिततातर्फ व्यवसाय धकेलिएको छ ।’  

अलिअलि व्यवसाय हुने आशमा काममा फर्केका कर्मचारीलाई अब के गर्ने भन्ने दोधार भएको उनले सुनाए । कोरोनाको यो कहरमा पनि ३५ प्रतिशत जति कर्मचारी मात्र पूर्णकालिनमा थिए । अरु कर्मचारीलाई आलोपालो प्रणालिमा काममा लगाएको भएपनि अहिले तिनै कर्मचारीलाई व्यवस्थापन गर्न सकस भएको उनले बताए । ‘पोहोर लडेको व्यवसाय बल्लतल्ल उठ्न थालेको थियो । तर अब झनै ढल्यो,’ उनले भने ।  

पोखरा पर्यटन परिषद (पिटिसी) का अध्यक्ष गोपि भट्टराई पनि पर्यटन क्षेत्रमा अहिले नै के र कसो गर्ने भन्ने नै नभएको बताउँछन् । ‘पर्ख र हेरको अवस्थामा पर्यटन क्षेत्र छ । महामारी हाम्रो हातमा छैन । कहिले सकिन्छ भन्ने पनि यकिन भएन,’ उनले भने, ‘पर्यटन व्यवसायीले पनि अब केही महिना पूर्ण रुपमा नोक्सान खेप्ने मानसिकता बनाएका छन् ।’

व्यवसायी बचाउन त सकस थियो नै मजदुरलाई पनि उत्तिकै अप्ठेरो रहेको उनले बताए । ‘तत्काल सहज हुने देखिन्न । अब अफसिजन पनि सुरु भयो,’ उनले भने, ‘त्यसैले अब व्यवसायीले केही महिना पूर्णरुपमा व्यवसायमा ताला लगाउँछन् । सुधार भएमा भदौ–असोजपछि बल्ल केही खुल्न सक्छन । अहिले त व्यवसाय खोल्ने भन्ने अनुमान नै गर्न सकिन्न ।’

प्रकाशित: १८ वैशाख २०७८ १०:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App