अर्थ

नाैं महिनामा त्रियुगा नगरको राजश्व ६४ प्रतिशत

त्रियुगा नगरपालिका । तस्बिरः महेश्वर

उदयपुरको त्रियुगा नगरपालिकाले चालु वर्षको राजश्व संकलन उत्साहजनक रुपमा भईरहेको जनाएको छ। कोभिड कहरले थलिएको अर्थतन्त्रमा पनि नगरपालिकाले चालु आर्थिक वर्ष उत्साहजनक रुपमा राजश्व संकलन भएको जनाएको छ ।  

आर्थिक वर्ष सुरुका ९ महिना (चैत)सम्म लक्ष्यको झण्डै दुईतिहाई राजश्व संकलन भईसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले बताए । त्रियुगाले चालु आर्थिक वर्ष ९ करोड ३७ लाख ४१ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा चैत मसान्तसम्म ५ करोड ६५ लाख ९४ हजार ९ सय १० रुपैयाँ संकलन भईसकेको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए । उनका अनुसार अहिलेसम्म लक्ष्यको ६४ प्रतिशत हाराहारी राजश्व संकलन भईसकेको छ ।  

थापाले यही रफ्तारमा राजश्व संकलन हुने हो भने आउँदो असारसम्म लक्ष्यभन्दा बढी नै हुने अनुमान गरेका छन् । वैशाख, जेठ र असार महिना राजश्व संकलनको मध्यकाल (पिक आवर) भएकाले अझै धेरै रकम उठ्ने संभावना रहेको उनले बताए । वर्षको सुरुको ४ महिना (साउन–कात्तिक) कोभिड कहरले अर्थतन्त्र धरासायी बनाएको हुनाले राजश्व संकलन धेरै कम भए पनि मंसिरयता यसले गति लिएको थियो । सुरुमा निराशाजनक भए पनि मंसिरदेखि संकलनले गति लिँदै उत्साहजनक हुन गएको अधिकृत थापाले बताए ।  

आर्थिक वर्ष सकिन अझै ३ महिना बाँकी रहेकाले लक्ष्यभन्दा बढी नै राजश्व संकलन हुने अपेक्षा नगरपालिकाले गरेको छ । नगरपालिकाले सबभन्दा उत्साहजनक राजश्व राजश्व बिभिन्न १० शीर्षकमा उठाएको राजश्व शाखाका नासु गुरुप्रसाद ढकालले बताए । ढकालका अनुसार रजिस्ट्रेसन शुल्क, एकीकृत सम्पत्ति कर, प्राकृति स्रोत उपयोग कर र घाटगद्धी बिक्री शीर्षकमा सबैभन्दा धेरै राजश्व संकलन भएको छ ।  

सबैभन्दा बढी रजिस्ट्रेसन शुल्कवापत ९५ लाख रुपैयाँ उठेको छ भने अर्को ठूलो हिस्सा एकीकृत सम्पत्ति करबाट ५५ लाख ३५ हजार ७ सय ९९ रुपैयाँ संकलन भएको छ । त्यस्तै नदीजन्य पदार्थको बिक्रीवापत प्राकृतिक स्रोत उपयोग कर ९३ लाख ३० हजार १ सय ३३ रुपैयाँ संकलन हुँदा घाटगद्धी बिक्रीबाट ६८ लाख १० हजार ६ सय ५१ रुपैयाँ उठेको ढकालले बताए । यी दुई शीर्षक नदीजन्य पदार्थको करवापत मात्र नगरले १ करोड ६१ लाख ४० हजार ७ सय ८४ उठाएको र धेरै उत्साहजनक भएको उनले बताए ।  

त्यसैगरी व्यवसाय करवापत नगरपालिकाले ५८ लाख ८१ हजार ९ सय १५ रुपैयाँ संकलन गर्दा घर नक्शा पास दस्तुरवापत ५० लाख २१ हजार ४ सय १२ रुपैयाँ उठेको छ । यो पाँचौं ठूलो हिस्सा हो भने छैठौं हिस्सा सिफारिस तथा बक्सौनी दस्तुरवापत २८ लाख ११ हजार ८ सय ९० रुपैयाँ संकलन भएको छ । १० प्रतिशत लिने गरिएको घर वहाल कर २० लाख ९ हजार १८ संकलन भएको छ भने घरबाटो सिफारिस दस्तुरवापत अहिलेसम्म १९ लाख ७७ हजार २ सय ४५ रुपैयाँ संकलन भएको छ ।  

जिल्लामा भएको एक मात्र राष्ट्रिय उद्योग उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित प्रतिबोरा १ रुपैयाँ लिइने सिमेन्ट प्रदूषण शुल्क शीर्षकमा नगरपालिकाले १६ करोड १९ लाख ४ सय ८१ रुपैयाँ संकलन गरेको जनाएको छ । त्यसैगरी सिमेन्ट निकासी करवापत १० लाख ७९ हजार ६ सय ५४ रुपैयाँ संकलन भएको छ । बिभिन्न ठेक्कापट्टावापत राखेको धरौटी जफतबाट नगरले १२ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको जनाएको छ ।

प्रकाशित: १० वैशाख २०७८ ०७:२८ शुक्रबार

त्रियुगा नगर चालु वर्षको राजश्व संकलन