अर्थ

पूरा हुँदै विमानस्थल सपना

पहुँच

इलाम नगरपालिका–९ गोलाखर्कछेउ विशाल लामा अहिले निकै हर्षित छन्। डेढ दशकअघि विमानस्थल बनाउने नाममा आफ्नो घरबारी छाडेर हिँड्दा उनलाई नरमाइलो लागेको थियो। ‘विमानस्थल बनाउने निहुँमा हामीलाई गाउँबाट लखेटियो भन्ने लागेर त्यसबेला डाँको छाडेको थिएँ,’ उनले मंगलबार नागरिकसँग भने, ‘तर, अहिले त्यही जग्गामा कालोपत्रे भएको विमानस्थल देख्दा कम्ति खुसी लागेको छैन।’  

उनले त्यतिबेला घर–जग्गा छोड्दाको दुःख अहिले बिर्सिने अवस्था आएको बताए । ‘हामीले सुरुमा यहाँ विमानस्थल बन्छ भनेर कल्पनासम्म गरेका थिएनौं, हामीलाई बिनाबित्थामा घरबारविहीन बनाएको सम्झेका थियौं,’ उनले सुनाए, ‘तर, करिब १७ वर्षपछि विमानस्थल बन्यो, अब इलामवासीले घर–आँगनबाटै प्लेन चढ्न पाउने भएकामा खुसी छौं।’  

त्यतिबेला उनको धन–सम्पत्तिका नाममा फुसले छाएको झुप्रो र जमिनमात्रै थियो। जग्गाको मूल्य राम्रो थिएन । मूल्य नै कम भएको जमिनलाई उनले थोरैमात्र मुआब्जा लिएर विमानस्थललाई दिए । ‘करिब २८ रोपनी जमिन मैले विमानस्थललाई छाडिदिएँ,’ उनले भने, ‘जग्गा दिएपछि विमानस्थल निर्माणको काममा पनि सघाएँ, अहिले विमानस्थल यो अवस्थामा देख्दा हर्ष लाग्छ।’ उनले विमानस्थल नजिकै सानो अर्काे घर पनि बनाइसकेका छन्।  

त्यतिबेला विमानस्थललाई जग्गा छाडिदिँदा विशाल मात्र होइन, यहाँका ३१ परिवारको अवस्था उस्तै थियो । स्थानीयले थोरै मुआब्जा लिएर भएपनि ठूलो विकासे कामलाई ‘छाती फराकिलो’ बनाइदिएपछि अहिले विमानस्थल उडान–अवतरणको अवस्थामा आइपुगेको हो।

अर्का स्थानीय धनिन्द्र तामाङ आँगनबाटै विमान चढ्ने आफूहरूको मात्र होइन, इलामवासीकै सपना पूरा भएको बताउँछन्। ‘विमानस्थल बन्ने आशामा हामी धेरैले त खुसीले नै जग्गा दिएका थियौं,’ उनले भने, ‘विमानस्थल अहिले निकै आकर्षक भएको छ, अब प्लेन उड्ने अवस्थामा आएको देख्दा खुसी लाग्छ ।’  

उनले आफूले यही विमानस्थलमा परीक्षण उडान पनि हेरेको र खुसी लागेको सुनाए । उनले इलामजस्तो ठाउँमा जहाज आउनु नै गौरवको विषय भएको बताए । तामाङले विमानस्थललाई त्यसबेला ५ रोपनी जमिन दिएका थिए । उनी अहिले विमानस्थलभन्दा केही तल माइखोलाको किनारमा बसाइँ सरेका छन् ।स्थानीय इन्द्र तामाङ, चन्द्र तामाङ, डम्बरबहादुर नेपाल, प्रेम बमजनलगायतले विमानस्थललाई १ देखि ४२ रोपनीसम्म जग्गा दिएका थिए।  

इलामकै महत्वपूर्ण आयोजना मानिने फाल्गुनन्द सुकिलुम्बा विमानस्थल कालोपत्रे भई उडान–अवतरणका लागि तयार भएपछि इलामवासी खुसी छन्। पर्यटकीय जिल्लामा विमानस्थलसमेत थपिएपछि पर्यटक आउजाउ बढ्ने र यहाँको आर्थिकस्तर अझ सुध्रिने आशा व्यवसायीलाई छ। इलामस्थित पर्यटन सरोकार समिति अध्यक्ष विजय राई इलामबाटै विमान चल्न थालेपछि अहिलेभन्दा पर्यटकको आउ–जाउ बाक्लिने बताउँछन्।

‘विमानस्थल बन्दा इलामकै लागि धेरै पर्यटक थुप्रिहाल्छन् भन्ने त होइन तर आउ–जाउ बढ्न चाहिँ बढ्छ,’ उनले भने, ‘विमानस्थल चलेपछि स्थानीय व्यवसायीलाई फाइदा नै हुन्छ।’ उनले यहाँ विमानस्थल सञ्चालनमा आएपछि ताप्लेजुङ र भद्रपुर विमानस्थल आउने कतिपय जहाजसमेत इलाम नै आउनसक्ने बताए। ‘ताप्लेजुङ र भद्रपुर दुवैतिर विमान उडान–अवतरणका लागि मौसमले निकै असर गरिरहेको हुन्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा पनि इलामको विमानस्थलमा चाप बढ्नसक्छ।’  

विमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे भएको छ । विमानस्थलमा सामान्य रेखांकनलगायत कामबाहेक निर्माणको सबै मुख्य कार्य पूरा भएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा अब विमान उडान–अवतरण गराउन सकिने जनाइसकेको छ। धावनमार्ग कालोपत्रे, मार्किङ, प्रिन्टिङलगायतका काम पूरा भएको छ भने नाली निर्माणको काम भइरहेको छ।  

‘अब विमानस्थलमा विमान उडान–अवतरण गर्न सकिन्छ,’ प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले भने, ‘नाली निर्माण र सामान्य अरू काम मात्र बाँकी छ । ती काम सक्न पनि अब धेरै समय लाग्दैन।’ यही वैशाखभित्र उडान–अवतरण सुरु गर्ने गरी प्राधिकरणले तयारी गरिरहेको छ। ‘यही वैशाखभित्र उडान–अवतरण गर्नेगरी प्राधिकरणले तयारी गर्दै छ,’ उनले भने, ‘उडान–अवतरण त गर्दा हुने भएको छ तर सामान्य काम पनि सकेर अफिसियल रूपमै टेस्ट फ्लाइट गर्ने तयारी गर्दैछौं।’  

इलामको विमानस्थल काठमाडौंबाट भद्रपुरभन्दा थोरै समयमै आउ–जाउ गर्न सकिने अनुमान छ। यहाँ विमानस्थल बनेपछि इलाम मात्र नभई पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने छन्। यो विमानस्थल ट्विनअटर विमानका लागि पर्याप्त मानिएको छ। ट्वीनअटरभन्दा ड्रोन र लेट जहाज अझ छिटो सञ्चालन हुनसक्ने प्राविधिकले जनाएका छन् । ट्वीनअटरभन्दा यी जहाज काठमाडौं–इलामको दूरीमा १० मिनेट छिटो आउ–जाउ गर्न सक्ने उनीहरूको अनुमान छ।  

इलाम नगरपालिकाले नगरको वडा ९ मा निर्माण भएको विमानस्थलका लागि जग्गा व्यवस्थापनको काम गरेको हो । नगरले विमानस्थल कालोपत्रे भइ उडानका लागि करिब तयार भइसकेकाले उडान–अवतरण सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचारसमेत गरिसकेको छ । मेयर महेश बस्नेतले मन्त्रालयले चाँडै नै उडान–अवतरण व्यवस्थापन गर्ने जानकारी आएको बताए।  

धावनमार्गमा १५ महिनाअघि कालोपत्रे निर्माणको प्रक्रिया थालिएको थियो । विमानस्थलछेउमा अस्थायी टर्मिनल भवन पनि निर्माण भइसकेको छ । ‘विमानस्थल फुल फेजमा चल्न थालेपछि ठूलो टर्मिनल भवन बनाउनुपर्ने हुन्छ,’ इन्जिनियर भट्टराईले भने, ‘भर्खरै ९ करोड रुपैयाँको ठेक्काबाट धावनमार्ग कालोपत्रे, सानो टर्मिनल, रिटेनिङ र कार पार्किङलगायतको काम भइसकेको छ ।’ विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ।

२०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो। काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज १ घन्टा २ मिनेटमा सुकिलुम्बामा पहिलोपटक अवतरण गरिएको थियो। इन्जिनियर भट्टराईले सानो आकारका विमान चल्ने पहाडी क्षेत्रका विमानस्थलमध्ये यो फराकिलो र राम्रो रहेको बताए। धेरै पटकको प्रयासपछि निर्माणाधीन विमानस्थलमा ‘टेस्ट ‘फ्लाइट’ गरिएको थियो। टेस्ट फ्लाइटमा आएका क्याप्टेन सञ्जीव श्रेष्ठले त्यतिबेला कच्ची नै भएपनि यो विमानस्थलमा उडान–अवतरणमा कतै समस्या नभएको र उडान सफल भएको बताएका थिए। उनले भनेका थिए, ‘विमानस्थलको बनावट, वरपरका डाँडाकाँडाको अवस्थितिले पनि साथ दिएको रहेछ।’ अहिले विमानस्थल कालोपत्रे नै भएपछि उडान–अवतरणमा अझ सहज भएको छ।

त्यतिबेला आएका चालक दलका सदस्य क्याप्टेन प्रभाकर घिमिरेले रनवेको सतह मिलाउन बाँकी देखिएको बताएका थिए। उनले पिकअप र ल्यान्डिङका बेला हुनसक्ने अप्ठ्यारा सहज बनाउन बाँकी रहेको बताएपछि उनकै सुझावअनुसार पुनः विमानस्थलको अग्लो भाग होच्याएर अझ सम्याइएको छ।  

यो विमानस्थल ट्वीनअटर जहाजका लागि पर्याप्त हुने प्राधिकरणले जनाएको छ। विमानस्थलको उडान र अवतरण हुने बिन्दुलाई प्राविधिक भाषामा ‘०८/२६’ नामकरण गरिएको छ। पूर्वतर्फ विमानस्थलको होचो भाग (२६) बाट पश्चिमतिरको अग्लो भाग (०८) तिर गई विमान मैदानमा बस्ने र विपरीत दिशाबाट उडान गर्ने व्यवस्था मिलाइएको छ । विमानस्थलमा स्थायी टर्मिनल भवन बनाउन बाँकी छ। यो समेत लगानी गर्दा विमानस्थलको जम्मा लागत करिब ४५ करोड रुपैयाँ पुग्ने अनुमान छ। विमानस्थल वरपर सुरक्षा तारबार लगाउन पनि बाँकी नै छ।  

३ सय २८ रोपनीमा निर्माण भएको विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएको थियो। २०६७ चैत १३ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले विमानस्थल शिलान्यास गरेका थिए । तर, बजेट नै कम आएकाले निर्माणमा निकै ढिलाइ भएको हो। तत्कालीन जिल्ला विकास समिति, इलाम नगरपालिका र सबै गाविसबाट रकम उठाएर जग्गा खरिद गरिएको थियो।  

जिल्लाबासीबाट समेत प्रतिव्यक्ति १ हजारदेखि २० हजार रुपैयाँसम्म चन्दा संकलन गरिएको थियो। गृहजिल्ला इलाम नै भएका पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले निमानस्थलका लागि चन्दा संकलनमा समेत सहयोग गरेका थिए। कांग्रेस नेता, कुलबहादुर गुरुङ, पूर्वसांसद केशव थापालगायतले विमानस्थल निर्माणमा सहयोग गरेका थिए । ३१ घर–परिवारलाई जग्गाको मुआब्जाका लागि २ करोड २६ लाख रुपैया“ खर्च भएको थियो। यहाँ विमानस्थल बनेपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने छन्। अहिले इलामका बासिन्दाले करिब ३ घन्टाको दूरीमा रहेको झापाको भद्रपुर विमानस्थल प्रयोग गरिरहेका छन्।

प्रकाशित: ८ वैशाख २०७८ ०३:११ बुधबार

पूरा हुँदै विमानस्थल सपना