अर्थ

डेढ लाख टन मल मौज्दात

किसानले खेती लगाउने बेला रासायनिक मलको अभाव झेल्दै आइरहेको बेला यो वर्ष करिब डेढ लाख मेट्रिक टन मल मौज्दात हुन पुगेको छ। मकै, चैते धान, तरकारी लगायत बालीका लागि एक लाख ६२ हजार मेट्रिक टन मौज्दात राखेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। ‘यो वर्ष किसानले मलको अभाव झेल्नु पर्दैन,’ मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले भने, ‘पर्याप्त स्टक छ।’ कार्कीका अनुसार करिब दुई लाख सात हजार मेट्रिक टन मल आयात गर्ने प्रक्रिया अघि बढेको छ।

धान रोप्न, गोड्ने बेला मल नपाएर किसान घन्टौं लाइन बसेका थिए। सरकारले चालु आवमा रासायनिक मल खरिद गर्न ११ अर्ब रूपैयाँ बजेट विनियोजन गरे पनि किसानले समयमा पाएनन्। यो वर्ष एक लाख ८७ हजार टन मल बिक्री भइसकेको र आगामी सिजनका लागि पर्याप्त स्टक रहेको मन्त्रालयका अधिकारीले दाबी गरेका छन्। मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले बताइन्। ‘समयमा मल ल्याएर स्टक राखेका छौं,’ मन्त्री अर्यालले भनिन्, ‘मल अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौं।’

समयमा मल उपलब्ध गराउन नसक्दा सरकारको चर्को आलोचना हुँदै आएको थियो। मल व्यवस्थापनका लागि योजना बनाएर अघि बढेको मन्त्री अर्यालले बताइन्। मध्यकालीन व्यवस्थापनका लागि मासिक कार्यतालिकाको आधारमा मलको सहज आपूर्ती गरेको उनले बताइन्। ‘दीर्घकालीन समाधाका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने योजना बनाएका छौं,’ उनले भनिन्।

सरकारले यो वर्ष करिब पाँच लाख मेट्रिक टन मल खरिद गर्ने योजना बनाएको थियो। दुई लाख ८२ हजार पाँच सय मेट्रिक टन युरिया, दुई लाख दुई हजार पाँच सय डिएपी र १५ हजार मेट्रिक टन पोटास आयात गर्ने लक्ष्य छ।

मल अभाव हुन नदिन मन्त्रालयले कार्ययोजना बनाएर मल आयात गरिरहेको दाबी गरेको छ। चैतमा ४० हजार मेट्रिक टन, वैशाखमा ६० हजार, जेठमा ५७ हजार, असारमा ५० हजार मेट्रिक टन मल आयात हुने मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताए। ‘हरेक महिना मल आयात हुन्छ,’ घिमिरले भने, ‘आगामी वर्षसम्मका लागि योजना बनाएका छौं।’  

मन्त्रालयका अनुसार फागुनदेखि असारसम्म एक लाख ६४ हजार टन मल बिक्री हुने अनुमान छ। फागुनमा २० हजार दुई सय, चैतमा २० हजार सात सय २५, वैशाखमा ३५ हजार तीन सय ४५, जेठमा ४७ हजार सात सय ५०, असारमा ३९ हजार नौ सय ५० टन मल बिक्री गर्ने मन्त्रालयको अनुमानित लक्ष्य छ।कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले मल आयात गरेर बिक्री गरेका हुन्। गत वर्ष तीन लाख ९४ हजार ६ सय टन मल बिक्री भएको थियो। पोहोर जति मल यो वर्ष फागुनसम्ममा नै बिक्री गरिसकेको मन्त्रालयको दाबी छ।  

आगामी सिजनको धानका लागि दुई लाख मेट्रिक टन मल मौज्दात रहने मन्त्रालयको दाबी छ। साउनदेखि असोजसम्म एक लाख तीन हजार मेट्रिक टन मल खपत हुने भएकाले त्यसका लागि समेत तयारी गरेको घिमिरेले बताए। आगामी आवको बजेटबाट व्यवस्था हुने गरी प्रथम त्रैमासिक अवधिमा करिब तीन लाख मेट्रिक टन मल आपूर्तिका लागि यो महिनाबाट आयात प्रक्रिया सुरु गर्ने मन्त्रालयको तयारी छ। ‘आगामी वर्षका लागि पनि मल खरिद सुरु गर्दैछौं,’ उनले भने, ‘अब मल अभाव हुँदैन।’  

भारत, बंगलादेश लगायत मुलुकबाट मल आयात गरिरहेको सरकारले चीनबाट पनि आयात गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिरहेको जनाएको छ। ओमन, रसिया, चीनलगायत मुलुकबाट पनि जिटुजी प्रक्रियाबाट मल ल्याउन गृहकार्य भएको सचिव कार्कीले बताए। सरकारले बंगलादेशबाट जिटुजी गरेर खरिद गरेको मल आउन सुरु भएको छ।

प्रकाशित: २५ फाल्गुन २०७७ ०४:२९ मंगलबार

किसान रासायनिक मल मेट्रिक टन मल मौज्दात