अर्थ

छ लेन सडक: थपेको म्याद पनि सकियो निर्माण कार्य अधुरै

सुदूरपश्चिम प्रदेशको दक्षिणतर्फ भारतको नाकासँग जोडिएको धनगढीको मोहनादेखि अत्तरियासम्मको ६ लेन सडक निर्माणको कार्य सम्झौताअनुसार दुई वर्षमा सम्पन्न गरिसक्नु पथ्र्यो। निर्धारित समयमा निर्माण काम सम्पन्न भएन। १० महिना ढिलो गरेर एक वर्ष अवधि म्याद थप गरियो। थप गरेको म्याद सकिँदा पनि निर्माण काम पूरा भएको छैन।  

सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण आयोजनाको रूपमा रहेको दक्षिणतर्फ भारतको मुख्य नाका गौरीफन्टासँग जोडिएको धनगढी मोहनादेखि अत्तरियासम्मको ६ लेन सडक निर्माण दुई वर्षमा सिध्याउनु पर्नेमा आयोजना कार्यालय र ठेकेदारको लापरवाहीले ४३ महिना बित्दा पनि सम्पन्न हुन सकेको छैन।

तीन खण्डमा वर्गीकरण गरेर निर्माण गर्न ठेक्का दिइएको ६ लेनअन्तर्गत पहिलो खण्डमा थप गरिएको अवधि गत मंसिर ६ गते सकिएको छ भने दोस्रो र तेस्रो खण्डमा माघ १५ मा समाप्त हुने छ। तर, हालसम्म भौतिक प्रगति ७५ प्रतिशतमात्र भएको आयोजनाका इन्जिनियर लक्ष्मण रावलले बताए। म्याद सकिए पनि पहिलो खण्डमा ठेक्का पाएको शर्मा–अमर–नागार्जुन जेभीले काम जारी राखेको छ। त्यस्तै दोस्रो खण्डमा लुम्बिनी–राजेन्द्र–डाँफे तथा तेस्रो खण्डको लामा–राजेन्द्र–डाँफेले काम गरिरहेका छन्।

सडक छेउमा रेलिङ, नालीसहित दुई मिटर चौडा फुटपाथ, कंक्रिट बेरियर हाल्ने र न्यूनतम साढे तीन मिटर चौडाइको सर्भिस लेन निर्माण गर्ने काम अझै हुन बाँकी छ। तीनै खण्डमा पहिलो चरणको कालोपत्रे काम सम्पन्न भएको छ भने दोस्रो चरणको कालोपत्रे काम आधा भएको उनले बताए। दुई चरणमा गरेर १० सेन्टिमिटर मोटाइको कालोपत्रे गरिने छ। ६ सेन्टिमिटर मोटाइको कालोपत्रेको काम सम्पन्न भएर अहिले दोस्रो चरणमा चार सेन्टिमिटर मोटाइको कालोपत्रे थप्ने काम भइरहेको छ।

दोस्रो र तेस्रो खण्डको सम्झौता २०७४ जेठ १ तथा पहिलो खण्डको सम्झौता सोही वर्ष जेठ १० मा भएको थियो। तीनवटै खण्डको काम दुई वर्षभित्र सिध्याउने सम्झौता थियो। एक अर्ब ६५ करोड लागतमा आयोजना निर्माण भइरहेकामा निर्माण कम्पनीले कुल लागतको करिब ७५ प्रतिशत भुक्तानी लगिसकेका छन्। एक वर्ष थप गरिएको अवधिमा पनि निर्माण काम सम्पन्न नभएको आयोजना प्रमुख युवराज पोखरेलले बताए।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीलाई देशका अन्य ठाउसँग जोड्ने एकमात्र सडक समयमा सम्पन्न नभएर लामो समय निर्माणाधीन हुँदा सर्वसाधारणले समस्या भोग्नु परेको छ। लामो समय निर्माणाधीन अवस्थामा रहँदा खाल्डाखुल्डी र निर्माणाधीन कल्भर्टले दुर्घटना भएर ६ जनाले ज्यान गुमाए भने कयौं घाइते भएका छन्।

गत वर्षको जेठमा म्याद सकिँदा १० महिनासम्म अनेक बहानामा म्याद थप गरिएन। गत फागुनमा सार्वजनिक खरिद नियमावलीको नवौं शंसोधनमा टेकेर एक वर्ष निर्माण कम्पनीको म्याद थप गरिएको थियो। यसअघिको नियमावलीमा सम्झौता भएको अवधिको ५० प्रतिशतमात्र अर्थात एक वर्षसम्म मात्र म्याद थप गर्ने प्रावधान रहेकामा शंसोधन गरिएको नियमावलीमा म्याद थप गर्ने निर्णय गरेको मितिले एक वर्ष भन्ने वाक्यांश उल्लेख गरेर निर्णय भएको मितिले एक वर्ष थप गरियो। १० महिनाबीचको अवधि निर्माण कम्पनीलाई थप उपलब्ध भयो।

लकडाउनमा सम्झौता भएका र म्याद थप भएका योजनाको अवधि ६ महिना थप्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। लकडाउनअघि नै म्याद थप भएकाले यो निर्णयअनुसार म्याद थप गर्न सहज छैन। तर म्याद थप गर्न प्रक्रिया भने सुरु भइसकेको छ । ‘६ लेन आयोजना लकडाउनअघि म्याद थप भएकाले के गर्ने भन्ने विषय यकिन भइसकेको छैन,’ उनले भने। म्याद थप नभएमा काम भने पूरा गर्नुपर्ने छ भने जरिवानासमेत गरिने उनको भनाइ छ।

निर्माण सम्पन्न नहुँदै मोहनापुल अत्तरिया ६ लेन सडक योजनामा पाँचजना प्रमुख बदलिएका छन्। सुरुमा नविनमान श्रेष्ठलाई प्रमुखको जिम्मेवारी दिइएकामा त्यसपछि मनिष शाह, राजेश पौडेल हेमबहादुर ऐसी र अहिले युवराज पोखरेल कार्यरत छन्। आयोजना प्रमुखको सरुवाले पनि निर्माण कार्यमा प्रभाव परेको छ।

धनगढी भन्साररोडदेखि अत्तरिया चोकसम्म १४।२ किलोमिटर लामो ६ लेन सडक तीन खण्डमा छुट्याएर छुट्टाछुट्टै ठेक्का दिइएको थियो। भन्सारदेखि बोराडाडीसम्म साढे चार किलोमिटर पहिलो खण्ड, बोराडाडीदेखि गेटासम्म साढे चार किलोमिटर दोस्रो खण्ड र गेटादेखि अत्तरियासम्म ५।२ किलोमिटर तेस्रो खण्ड निर्माणका लागि ठेक्का दिइएको हो।दोस्रो र तेस्रो खण्डमा राजेन्द्र निर्माण सेवाले निर्माणको ठेक्का लिएको थियो। पहिलो खण्डमा निर्माण कम्पनी नागार्जुन कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएको थियो।  

६ लेनको सडकमा ८० किलोमिटर प्रतिघण्टाका दरले सवारी कुदाउन सकिने योजनाको डिजाइनमा उल्लेख छ। यो सडकमा तीनवटा पुल निर्माण गरिने छन्। निर्माण सुरु भएको तीन वर्षसम्म पुलको डिजाइन बनाएर निर्माण कार्यसमेत सुरु भएन। मनहरा र सुनिखोलामा दुइटा पुलको अहिले टेन्डर भएको इन्जिनियर रावलले बताए। एक पुलको टेन्डर हुन अझै बाँकी छ।

प्रकाशित: १५ माघ २०७७ ०३:०३ बिहीबार

सुदूरपश्चिम प्रदेश निर्माण कार्य