अर्थ

फिदिम बजारको नयाँ रुप

पुष्पलाल (मध्यपहाडी) लोकमार्गले छोएका दस सहरलाई सुविधा युक्त नयाँ सहर बनाउने योजना अनुसार पाँचथर सदरमुकाम फिदिममा पनि नयाँ सहरका लागि विभिन्न कामहरू अघि बढेका छन् । नयाँ सहरको रूपमा विकासित हुने भएसँगै सदरमुकाम फिदिममा पछिल्लो समय आर्कषण बढे पनि पर्याप्त काम भने हुन सकेका छैनन् ।

शान्ति प्रक्रियासँगै नयाँ सहरको अवधारणा आएपछि गाँउ गाँउबाट फिदिम बसोबास गर्नका लागि बसाइँसराई गर्नेहरूको संख्या बढ्यो । घर बनाउनका लागि जग्गाको कारोबारमा बृद्धि भयो ।  

दशकको तुलना गर्नेहो भने सदरमुकाम फिदिम बद्लीएको देखिन्छ । नयाँ तथा आकर्षक घर बनेका छन्, सुविधा थपिएका छन् । बजारबाट सहरमा रूपान्तर हुँदै गएको फिदिममा नयाँ सहर आयोजनाको काम भने ठूलो गतिमा बढ्न सकेको छैन् ।

डाँडाले घेरीएको उत्पत्यका जस्तो फिदिममा पछिल्ला दशकमा निर्माणका काम सञ्चालन भएपछि खासै प्रभावकारी नभएको स्थानीयको गुनासो छ । प्राप्त बजेटका आधारमा रहेर कामहरू सञ्चालन गर्दै आएको आयोजना प्रमुख विश्वराम प्रजापतीले जानकारी दिए । उनका अनुसार सडक पूर्वाधार निर्माणका कामहरू अघि बढेका छन् ।

तर नयाँ सहर आयोजनाबाट साना–साना कामहरू अघि बढाइएको देखिन्छ । विगतका दुई वर्ष खासै काम हुन नसकेको नयाँ सहरमा यो पटक भने पूर्वाधारका योजनाहरू राखिएका छन् । सहरी पूर्वाधार विकासको कामलाई अघि बढाइएको आयोजना प्रमुख प्रजापतीले बताए । ‘यो सम्भावनाको भएको सहर हो । नयाँ सहरकै अवधारअनुसार गर्नुपर्ने कामहरू त धेरै छन्’ उनले भने ‘पछिल्लो दशकमा सहरमा धेरै रूपान्तर आएको छ । घरहरू बन्दै छन् । बाँकी रहेका भित्रि सडक पनि कालोपत्रेको कामहरू भइरहेको छ ।’

पुष्पलाल (मध्यपहाडी) लोकमार्गले छेउका दश सहरलाई सुविधा युक्त नयाँ सहर बनाउने आर्थिक वर्ष २०६७/०६८ को बजेट मार्फत अवधारण अघि सारिएको थियो । फिदिमको एकिकृत विकास योजना तयार भएको आयोजना प्रमुख प्रजापतिले बताए । फिदिम आयोजना कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्षसम्ममा १७ किलोमिटर सडक ट्रयाक खोल्ने तथा स्तरोउन्नतीको काम सम्पन्न भएको छ । यही काम चालु आर्थिक वर्षका लागि पाँच किलोमिटर रहेको छ ।  

नयाँ सहर कार्यालयले हालसम्म २ किलोमिटर सडक कालोपत्रे गरेको छ । यो वर्ष पनि केही सडक कालोपत्रे सकिने बताइएको छ । नयाँ सहर आयोजनाको कार्यालय प्रयोजनका लागि दुई वटा भवन निर्माण सम्पन्न भएको छ । २० किलोमिटर नाला÷ढल निर्माण सम्पनन् भएको छ । चालु आर्थिक वर्षमा ७.७ किलोमिटर ढल निर्माणको काम हुने छ । फिदिम–२ पल्लोटारमा बसपार्क निर्माण गरिएको छ, भने फिदिम–४ मा गणेशमान स्मृती पार्क बनाइएको छ । नेपालटारमा जग्गा एकिकरणको काम भइरहेको आयोजना कार्यालयले जनाएको छ । 

यस्तै फिदिम–२ को रमितेमा भ्यु टावर बनाएको छ । चालु आर्थिक वर्षमा १६ करोड ६२ लाख बजेट रहेको छ । गत आर्थिक वर्षमा पूर्वाधार विकासमा ६ करोड ३९ लाख १३ हजार रुपैयाँ मात्रै खर्च भएको थियो । यस्तै आर्थिक वर्ष २०७५/७६ मा १५ करोड २६ लाख बजेटमा पूर्वाधारका काम भएको कार्यालयले जनाएको छ । २०७४/०७५ मा १३ करोड ६७ लाख, २०७३/०७४ मा ६ करोड ३३ लाख र २०७२/०७३ मा २ करोड ७८ लाख पूर्वाधार निर्माणमा खर्च भएको नयाा सहरी आयोजना कार्यालयले जानकारी दिएको छ ।  

२० वर्षमा एक लाख जनसंख्या अटाउने गरि सुविधायुक्त आधुनिक सहर बनाउने सरकारी योजना रहेको छ । तुलनात्मक रूपमा अन्य सहर भन्दा फिदिम नयाँ सहरको काम बढी भएको आयोजनाको दाबी छ । नयाँ सहरमा खुला पार्क, खेलमैदान, ल्याण्डफिल्ड साइड, ढल प्रशोधन केन्द्र, स्टेडियम, आवासक्षेत्र र कार्यालय व्यवस्थापन स्थानहरू निर्धारण गरेर एक लाख जनसंख्या सहजताका साथ बस्न मिल्ने सुविधाको सहर बनाउने योजना थियो ।  

मध्यपहाडी लोकमार्गको छेउमा रहेको बस्तिमध्ये जमिनको उपलब्धता, खानेपानी, आर्थिक विकासको सम्भाव्यता, बस्तीको अवस्थिती, विद्युत्, जनसंख्या, बसाइँसराइलगायतको आधारमा दश स्थान नयाँ सहर बनाउने गरि छनोटमा परेका थिए ।

प्रकाशित: ७ माघ २०७७ ०२:१९ बुधबार

फिदिम बजार सुविधा युक्त नयाँ सहर