अर्थ

महासंघको निर्वाचनमा सतप्रतिशत मतदान, मतगणना आजै हुने

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व चयनका लागि शनिबार मतदान सम्पन्न भएको छ। मतदानमा सतप्रतिशत मत खसेको छ। महासंघको निर्वाचन समितिका अनुसार जिल्ला र नगरमा १०५, एशोसिएटमा ९ सय ४ र वस्तुगत १ सय १ मत खसेको छ।  

जिल्ला, नगर, एसोसिएट, वस्तुको तीन ठाउँमा मतदान भएको थियो। तीन वटै ठाउँका मतलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा ल्याएर मत गणना गरिने भएको छ। शनिबार साँझबाट नै मतगणना सुरु गर्ने निर्वाचन समितिले जनाएको छ। मतगणनाको अन्तिम नतिजा रातभरमा आउने अनुमान छ।

जिल्ला नगरका प्रतिनिधिले प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटका प्रतिनिधिले कार्की ब्यांकेट बबरमहतल र वस्तुगतका प्रतिनिधिले महासंघको सचिवालय टेकुमा मतदान गरेका थिए।

निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्रतिस्पर्धामा छन्। ढकाल र प्रधानले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा छन्। ढकालको प्यानलमा वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र जिल्ला, नगर उपाध्यक्षमा गुणनिधी तिवारी प्रधान समूहको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा सौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उम्मेदवार रहेका छन्। सदस्यमा पनि दुवै समूहले प्यानल बनाएका छन्।

महासंघको विभिन्न पदमा एक सय २७ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्। जिल्ला नगरतर्फ १८ जना कार्यकारिणी सदस्यका लागि ३८ जना, प्रदेशतर्फ ६ जनाका लागि १४ जना, वस्तुगत संघतर्फ १४ जनाका लागि २९ जना, एसोसिएटतर्फ १९ जनाका लागि ३३ जना चुनावी मैदानमा छन्।

महासंघमा दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भैसकेका छन्। प्रदेश नम्बर १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन्। यी दुवै ढकाल प्यानलका हुन्।

प्रकाशित: १३ मंसिर २०७७ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App