अर्थ

पोखरामा करोड लिटरको डिजेल भण्डारण स्थल

नेपाल आयल निगम गण्डकी प्रादेशिक डिपो । यही डिपो परिसरमा १० हजार किलोलिटरको डिजेल भण्डारण स्थल निर्माण गर्न लागिएको हो । तस्बिरः नागरिक

पर्याप्त भण्डारण स्थल नहुँदा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा कठिनाइ भइरहेका बेला नेपाल आयल निगमले पोखरामा एक करोड लिटरको डिजेल भण्डारण स्थल निर्माण गर्ने भएको छ । निगमले ७७ करोड ७७ लाख रूपैयाँ लगानीमा भण्डारण ट्यांक निर्माण सुरु गर्न थालेको छ ।

निगमको गण्डकी प्रादेशिक कार्यालय मातहत ५० लाख लिटर (पाँच हजार किलोलिटर)का दुईवटा भण्डारण ट्यांक यसै साताबाट निर्माण सुरु गर्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । ‘भण्डारण स्थलको क्षमता थोरै हुँदा आपूर्ति व्यवस्थामा कठिनाइ भएको थियो,’ पौडेलले भने, ‘सहज आपूर्तिका लागि पूर्वाधार बनाउन लागेका हौं ।’ निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम अघि बढेको छ । यसै साता औपचारिक रूपमा शिलान्यास गर्ने निगमको कार्यक्रम छ ।

गण्डकी प्रदेश पोखरामा अहिले डिजेल भण्डारण क्षमता २२ लाख ८० हजार लिटर मात्र छ । पोखरा महानगरपालिका वडा नं २९ गगनगौंडामा रहेको निगमको डिपो परिसरमै भण्डारणस्थल बनाउन लागिएको हो । निगमको पोखरा डिपो ७७ रोपनी क्षेत्रफलमा फैलिएको छ ।  

१० हजार किलोलिटरका ट्यांक बनाएपछि त्यस क्षेत्रमा ४० दिनलाई पुग्ने गरी डिजेल भण्डारण गर्न सकिने निगमको गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख पुष्कर कार्कीले बताए । ‘१० हजार किलोलिटरको भण्डारण भएपछि करिब डेढ महिनालाई पुग्छ,’ कार्कीले भने, ‘यसले गण्डकी प्रदेशमा इन्धन आपूर्ति गर्न सहज हुन्छ ।’

त्यहाँबाट गण्डकी प्रदेशको मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की, तनहुँ र स्याङ्जाका पम्पमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरिन्छ । पोखरा डिपोबाट सामान्य अवस्थामा दैनिक डिजेल दैनिक दुई सय ८० किलोलिटर, पेट्रोल एक सय २० किलोलिटर बिक्री हुन्छ ।

पोखरामा निर्माण गर्न लागिएको डिजेल भण्डारण स्थल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक हुने परियोजना प्रमुख मनोज ठाकुरले बताए । ‘फुल अटोमेसनमा जाने गरी ट्यांक निर्माण गर्न लागिएको छ,’ ठाकुरले भने, ‘डिजेल ट्यांक सहित फायर फाइटरका लागि पानी ट्यांक पनि निर्माण गर्छौं ।’  

ठाकुरका अनुसार त्यहाँ दुई हजार किलोलिटरका वाटर ट्यांक पनि निर्माण गरिनेछ । सम्भावित दुर्घटनालाई ध्यानमा राखेर सुरक्षाका लागि पानी संकलन ट्यांक बनाउन लागिएको हो । डिपो परिसरमा आगलागी भएमा अटोमेटिक रूपमा सेन्सरले अटो फायर गर्ने गरी मेसिन समेत जडान गरिनेछ ।

दुई वर्षभित्र भण्डारण स्थल निर्माण सम्पन्न गर्ने योजनासहित सम्झौता भएको परियोजना प्रमुख ठाकुरले बताए । डिपोहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गर्ने गरी डिजाइन इस्टिमेट गरिएको छ ।

पोखरामा अहिले पेट्रोल भण्डारण क्षमता तीन सय ५० किलोलिटर रहेको छ । १० हजार किलोलिटरको डिजेल भण्डारण स्थल निर्माण सम्पन्न भएपछि अहिलेको २२ सय ८० किलोलिटरका ट्यांकलाई पेट्रोल भण्डारण गर्ने गरी कन्भर्जिङ गर्ने निगमको योजना छ ।  

निगमसँग अहिले डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन भण्डारण क्षमता ७१ हजार ६ सय ७४ किलोलिटर मात्र रहेको छ । सरकारले निगमलाई तीन महिनालाई पुग्ने गरी इन्धन भण्डारण स्थल निर्माण गर्न निर्देशन दिए पनि मुुलुकभर भण्डारण क्षमता कमजोर छ ।  

निगमले चालु आर्थिक वर्षमा इन्धन भण्डारण पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । पेट्रोलियम पदार्थको नियमित र सहज आपूर्ति सुनिश्चित गर्नका लागि अन्य ठाउँमा पनि भण्डारण स्थल निर्माण गर्ने तयारी रहेको कार्यकारी निर्देशक पौडेलले बताए । अहिले डिपो भएका स्थान क्षमता विस्तारसँगै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाउने निगमले जनाएको छ ।

यसैगरी, निगमले पोखरामा हवाई इन्धनको भण्डारण स्थल पनि निर्माण गर्ने तयारी गरेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ । अहिले पोखरा विमानस्थलमा ६४ किलोलिटरको मात्र हवाई इन्धन डिपो छ । करिब तीनदेखि चार हजार किलोलिटर क्षमताको हवाई इन्धन डिपो निर्माण गर्ने योजनासहित अध्ययन भइरहेको निगमको इन्जिनियरिङ विभागका ठाकुरले बताए । हवाई इन्धन भण्डारण गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले १७ रोपनी जग्गा उपलब्ध गराइसकेको छ । ‘अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन भर्ने व्यवस्था मिलाउनु पर्छ,’ ठाकुरले भने, ‘त्यसका लागि पूर्वाधार बनाउने तयारीमा छौं ।’ 

प्रकाशित: २६ कार्तिक २०७७ ०५:०७ बुधबार