अर्थ

उद्योग वाणिज्य महासंघमा दुई प्यानल

नेपाल उद्योग वाणिज्य महासंघका नयाँ नेतृत्व चयन गर्नका लागि दुई प्यानल निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्। वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दर्ता गरेका छन्।

महासंघका उपाध्यक्ष ढकालले यस अघिनै तीन उपाध्यक्षसहित प्यानल दर्ता गरेकोमा सोमबार किशोर प्रधानले पनि तीन उपाध्यक्षसहित प्यानल बनाएर उम्मेदवारी दर्ता गरेको घोषणा गरेका छन्।

आगामि मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने महासंघको ५४औं वार्षिक साधारण सभा तथा निर्वाचन हुँदैछ।

प्रधानको समूहमा बस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योति रहेका छन्। त्यसैगरी, ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघईले यस अघि नै उम्मेदवारी दर्ता गरेका थिए।  

उम्मेदवारी दर्ता गरे पछि प्रधानले २८ बर्षदेखि महासंघमा सक्रिय रहेकाले सघाउन आग्रह गरे। ‘व्यवसायीका समस्याप्रति जानकार छु,’ प्रधानले भने, ‘व्यवसायीका समस्या समाधान गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ।’

अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा साधारण सभापछि स्वतः अध्यक्ष हुँदैछन्। साधारण सभाबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले महासंघको निर्वाचनलाई महत्वका साथ हेरिएको छ। महासंघ मुलुकभर नेटवर्क भएको निजी क्षेत्रको सबैभन्दा ठूलो छाटा संस्था हो।

प्रकाशित: १७ कार्तिक २०७७ ०७:३८ सोमबार

नेपाल उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्व चन्द्र ढकाल किशोर प्रधान