पोखराको मुख्य बजार महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सभागृहचोक, पृथ्वीचोक क्षेत्रमा बजार पूर्ण रुपमा खुलिसकेको छ। अर्काे मुख्य बजार लेकसाइड भने अझै खुल्न सकेको छैन। लेकसाइड पर्यटकीय क्षेत्र हो।
लेकसाइड बजार पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकका भरमा टिकेको थियो। स्थानीय ग्राहकले लेकसाइडमा बिरलै किनमेल गर्छन्।
अहिले आन्तरिक, बाह्य दुवै पर्यटक छैनन् र तत्काल आउने अवस्था पनि छैन। अन्यत्र जस्तो स्थानीय ग्राहक पनि किनमेल गर्न लेकसाइड कमै झरेका छन्। दसंैंका कारण अरुतिरको बजारमा चमक आइसक्दा पर्यटकीय क्षेत्र लेकसाइडको बजार सुनसान देखिन्छ।
यो बेला विदेशी पर्यटकका लागि नेपाल घुमघामको मुख्य सिजन हो। अघिल्ला वर्ष यो बेला विदेशी र आन्तरिक पाहुनाको लेकसाइडमा भीडभाड हुँदा व्यवसाय चम्किन्थ्यो। लेकसाइडमा होटल, रेस्टुरेन्ट र ट्राभलको मात्र नभएर पदयात्राका लागि आउने पर्यटकलाई चाहिने सामान (टे«किङ इक्विपमेन्ट) को पनि उत्तिकै किनबेच चल्छ। पदयात्रामा जाने सबैजसोले आवश्यक सामग्री किन्ने हुँदा ट्रेकिङ इक्विपमेन्टको व्यापार पनि फस्टाउँथ्यो।
घुम्न आएका पाहुनाले किनेर लैजाने सामान (इम्ब्रोइडरी र गार्मेन्ट)को पनि उत्तिकै कारोबार हुन्छ। कोसेलीका रुपमा यी सामानको किनबेच चल्थ्यो। ती बाहेक पाहुना लक्षित किराना र पेय पदार्थका पसल पनि पहिलेको आकारमा खुल्न सकेका छैनन्। केही व्यवसायीले किराना र पेय पदार्थका पसल खुलाए पनि व्यापार छैन। गार्मेन्ट र टे«किङका सामानको किनबेच त ठप्प जस्तै छ।
महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सभागृहचोक, पृथ्वीचोक क्षेत्रमा बजार पूर्ण रुपमा खुलिसक्दा पनि लेकसाइड खुल्न सकेको छैन।
पोखराको अन्य बजार (महेन्द्रपुर, चिप्लेढुंगा, न्युरोड, सभागृहचोक, पृथ्वीचोक) को व्यवासाय कोरोना महामारीबीच पनि उठिसकेको छ। लेकसाइडमा भने कुनै पनि व्यवसायले गति लिन सकेको छैन। पर्यटकीय क्षेत्र भएकाले लेकसाइडमा सबैखाले सामान नपाउने हुँदा ग्राहक पनि खाद्यान्नसहित लत्ताकपडा किन्न त्यहाँ जाँदैनन्।
किराना र पेय पदार्थको व्यापार पनि घुम्न आउने पाहुनामै बढी निर्भर हुन्थ्यो। यो बेला सानो आकारमा किराना सामानको किनबेच चलेको भए पनि अरु व्यापार ठप्प भएको उनीहरुको भनाइ छ। यो बेला खुलेका किराना र पेयपदार्थका पसलमा पनि बिहान अबेर र बेलुकी पनि छिट्टै सटर लाग्छ। अरुखाले व्यापारका ढोका त बन्द नै छ। केही लत्तकपडाका पसल खुलाए पनि व्यवसायीका लागि ती पसल दिन कटाउने थलो बनेका छन्।
ट्रेकिङ इक्विपमेन्ट सप एसोसिएसन (टेसा) का अध्यक्ष रामचन्द्र गिरीका अनुसार लेकसाइडमा पदयात्रामा जाँदा चाहिने सामान मात्र बेच्ने व्यवसायीको संख्या ७५ छ। ती व्यवसायीले वर्षमा ५० लाख हाराहारीमा पदयात्राका सामान बेच्थे। ‘हाम्रो व्यवसायको मुख्य आधार विदेशी पर्यटक हुन्, यो बेला विदेशी पर्यटक आउने कुरै भएन,’ गिरीले भने, ‘पदयात्रामा जाने पर्यटक मात्र हाम्रा ग्राहक थिए। पदयात्रामा जाँदा हाम्रा सामान लिएर जान्थे।’ आन्तरिक पर्यटकको हिस्सा करिब २० प्रतिशत मात्र रहने उनले बताए।
गिरीका अनुसार यो बेला व्यवसायी आर्थिक रुपमा फाइदा नपाए पनि पसल खोल्न बाध्य छन्। पसलका सामान लामो समय कोठाभित्र थुनिँदा ढुसी लाग्न थालेको छ। त्यसबाहेक पदयात्रामा जाँदा लैजाने सामान दुई वर्षभित्र प्रयोगमा आइसक्नुपर्छ। व्यवसायीले झण्डै एक वर्षदेखि व्यापार गर्न नपाउँदा ती सामान उपयोगमै नआई नोक्सान हुने जोखिम रहेको उनले बताए। ‘यो बेला व्यापारका लागि पसल खोलेको होइन। बजार खुलेको देखाउनुपर्ने छ। सामानमा ढुसी लाग्न थाल्यो। गुणस्तर खस्किने त्रास भयो,’ उनले भने, ‘पसल खोलेर क्षति कम गर्न चाहेका हौं।’
इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा)का अध्यक्ष शंकर भट्टराई पनि व्यापार ठप्पै भएको बताउँछन्। एगाले गार्मेन्ट र इन्ब्रोइडरीका सामानको बिक्री गर्छ। एगामा पनि ७५ वटा पसल छन्। यी एउटै पसलले वर्षमा झन्डै ५० लाख रुपैयाँको कारोबार गर्छन्। यो बेला पसल खुलाउँदा आक्कलझुक्कल स्थानीय ग्राहक पुगेमा सामान बेच्न पाए पनि कारोबार भने ठूलो नभएको उनले बताए।
व्यवसायीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर गार्मेन्टका सामान बेच्छन्। कतिपयले काठमाडौंबाट कच्चा सामान ल्याएर फिटिङ गरेर बेच्दै आएका छन्। पोखरा आएका सबै खाले पर्यटक एगाका सामानका ग्राहक थिए। पर्यटकले ती सामालाई कोसेलीको रुपमा लैजाने गरेका थिए। मठमन्दिर, संस्कृति, सांस्कृतिक स्थान, साहसिक प्रोडक्ट, हिमाली शृंखलाका तस्बिरलाइ टिसर्ट, ट्राउजर, टोपी, झोलामा सजाएर व्यवासायीले पर्यटकलई बेच्छन्। पछिल्लो समय यस्ता सामानप्रति आन्तरिक पर्यटकको झुकाव बढिरहेको थियो। ‘हाम्रा लक्षित ग्राहक सबै खाले पर्यटक हुन्। स्थानीय ग्राहक पनि हाम्रा लक्षित वर्गमा पर्छन्,’ भट्टराईले भने, ‘अहिले पोखराको अन्य बजार चम्कँदा लेकसाइड भने ठप्प छ।’
प्रकाशित: २ कार्तिक २०७७ ०३:४० आइतबार