अर्थ

आलोचित बन्दै पर्यटकीय लेकसाइड

पोखरा महानगरपालिका–६, दरबारमार्ग टोलमा गरिएको अवरोध। तस्बिर: उमेश पुन/नागरिक

मुलुककै अग्रणी पर्यटकीय क्षेत्र लेकसाइड। बर्सेनि लाखौं विदेशी र स्वदेशी पर्यटकसँग लेकसाइडको उठबस हुन्छ। उनै पाहुनाको संगत पछ्याउँदै यहाँको पर्यटन व्यवसायले समयअनुसार आफूलाई परिवर्तन पनि गराउँदै आएको छ। तर केही व्यक्तिको उक्साहटले यो पर्यटकीय क्षेत्रले बेलाबेला आलोचना समेत खेप्ने गरेको छ।  

सीमित व्यक्तिको उक्साहटमा पर्दा पोखरा महानगरपालिका–६ को लेकसाइड क्षेत्र बेलाबखत विवादित बन्ने गरेको छ। त्यसको पछिल्लो उदाहरण हो– लेकसाइडका विभिन्न टोलमा बस्दै आएका व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुप्रति गरिएको व्यवहार। त्यत्तिमात्र नभई केही स्थानीयको उक्साहटले होटलमा क्वारेन्टिन बस्न पुगेका स्वास्थ्यकर्मीलाई पनि त्यस्तै व्यवहार गरिएको थियो। यतिसम्म कि स्वास्थ्यकर्मीलाई तोकिएको होटलमा समेत बस्न दिइएको थिएन। पछिल्लो समय त संक्रमित बसेको टोललाई नै सिल गर्ने निहुँमा स्थानीयले सडक नै अवरोध गरेका थिए।

लेकसाइडको गल्ली नं १७ लालुपाते मार्ग हो। यो मार्गमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका एक व्यवसायीलाई भदौ १७ गते कोरोना संक्रमण पुष्टि भयो। शारीरिक समस्या देखिन थालेपछि कोरोना आशंकामा ती व्यवसायी साउन ३१ देखि व्यवसाय बन्द गरेर घरमै क्वारेन्टिन बसेका थिए। उनको बसाइ अर्कै टोलमा छ। तर निकै ढिला गरी संक्रमण पुष्टि भएको खबर बाहिरिएसँगै उनको कार्यालय रहेको लालुपाते मार्गका स्थानीयले त्यही दिन डोरी टाँगेर अवरोध गरेका थिए। संक्रमित व्यक्तिको कार्यालय रहेको निहुँमा टोल नै सिल गरेपछि सामाजिक सञ्जालमा निकै आलोचना भयो। उक्त आलोचनापछि त्यो अवरोध हटाइएको थियो।

एकजना संक्रमितको मृत्यु र उनको श्रीमतीसहित छिमेकीमा कोरोना संक्रमण देखिएपछि लेकसाइडकै गल्ली नं ९ को दरबारमार्ग टोल पनि शनिबारदेखि सिल गरिएको छ। मृतक र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङका लागि केही दिनसम्म आउजाउ कम होस् भनेर पोखरा महानगरपालिका वडा नं ६ कार्यालयले हिँडडुलमा कडाइ गरेको बताएको छ।  

वडाध्यक्ष जगत पहारीले दरबारमार्ग टोलमा नगरपालिकामार्फत कडाइ गरिएको भए पनि लालुपाते मार्गमा स्थानीयले गल्ती गरेको बताए। ‘दरबारमार्ग टोलमा महानगरले नै केही दिनका लागि आउजाउमा कडाइ गरेको हो। तर घरबाहिरै निस्कन नदिने भन्ने होइन। कन्ट्याक्ट टे«सिङमा अप्ठेरो नपरोस् भनेर कडाइ गरेका हौं,’ उनले भने, ‘लालुपाते मार्गमा भने टोल विकास समिति नै उत्तेजित भएको हो। त्यो गलत क्रियाकलाप थियो।’ 

संक्रमित व्यक्तिको कार्यालय रहेको निहुँमा टोल नै सिल गरेपछि सामाजिक सञ्जालमा निकै आलोचना भयो। उक्त आलोचनापछि त्यो अवरोध हटाइएको थियो। 

अध्यक्ष पहारीले कोही पनि संक्रमित व्यक्ति वा उनीहरुको उपचार र रेखदेखमा खटिने व्यक्तिले हेलचेक्र्याँइ गर्न नहुने बताए। ‘होटलमा स्वास्थ्यकर्मी बस्दा पनि  विरोध भएकै हौ। यो बेला सबैतिर त्रास छाएकाले स्वास्थ्यकर्मी बस्दा पनि संक्रमण फैलने पो हो कि भनेर स्थानीय डराएका हुन्,’ उनले भने, ‘स्वास्थ्यकर्मी आफैं सचेत पनि थिए। तर बाहिरबाट देख्नेलाई त्रास भएको हो। जोखिम क्षेत्रमा काम गरेको भनेर ती स्वास्थ्यकर्मीको विरोध भयो। पछि हामीले सचेत गरायौं।’

अध्यक्ष पहारी कुनै पनि समस्या आफूलाई नपरेसम्म अरुको पीडा थाहा नहुँदा यो अवस्था आउने गरेको बताउँछन्। ‘आफूलाई पर्दा मात्र ठूलो समस्या देख्छौ, अरुको पीडा नबुझ्दा यस्ता समस्या आउँछन्,’ उनले भने, ‘संक्रमितलाई मानसिक रुपमा कमजोर बनाउने गतिविधि हुने गरेका छन्। त्यो पटक्कै राम्रो होइन।’ अहिले वडा कार्यालयले सिल गरेको दरवारमार्ग टोलमा पनि केही व्यक्तिले संक्रमितप्रति नकारात्मक दृष्टि लगाउने काम गरेको उनले बताए।

त्यसबाहेक कतिपय ठाउँमा संक्रमित व्यक्ति आफैले हेलचेक्र्याँइ गरेकाले पनि स्थानीय बढी त्रसित हुने गरेको उनले बताए। ‘केही ठाउँमा टोलबासी नै उत्तेजित हुने गरेका छन्। त्यसरी उत्तेजित हुनु पर्दैन,’ उनले भने, ‘संक्रमित व्यक्ति पनि अनुशासनमा बस्नुपर्छ।’ सबैको चित्त बुझाउन नसक्दा समाजमा यस्ता घटना हुने गरेको उनले सुनाए। कुनै टोलमा केही व्यक्ति बिरामी हुँदैमा टोलमै हंगामा गर्नु राम्रो नहुने उनले बताए।  

लालुपाते मार्ग टोल विकास संस्थाका संस्थापक अध्यक्ष गोविन्दराज पहारीले टोलबासीको सहमतिमा मार्गमा केहीबेरका लागि डोरी टाँगेर स्थानीयलाई सचेत गराउन खोज्दा आफूहरुमाथि नकारात्मक टिप्पणी गरिएको बताए। उनका अनुसार लालुपाते मार्गमा केही व्यवसायीले स्वास्थ्यका मापदण्ड पटक्कै पालना नगरी व्यवसाय चलाइहेका छन्। उनीहरुलाई टोलबासीले सचेत गराउँदा पनि अटेर गरेपछि केही समयका लागि मात्र डोरी टाँगेर अवरोध गरेको पहारीले बताए।  

‘संक्रमित व्यवसायीप्रति पटक्कै लक्षित थिएन, स्थानीय व्यवसायीको अटेरीपनलाई सचेत गराउन त्यो कदम चालेका थियौं,’ उनले भने, ‘तर हाम्रो प्रयासलाई नकारात्मक रुपमा अथ्र्याइयो।’ महागरको वडा कार्यालयसँगको समन्वयमा टोलबासीको सहमतिमा केही समयका लागि सिल गरे पनि आफूहरुलाई नकारात्मक दृष्टिले हेरिएको उनले बताए।  

यो टोलका केही व्यवसायीले खुलमखुला भीडभाड गर्ने र व्यवसाय सञ्चालन गरे। त्यसले संक्रमणको जोखिम बढ्यो भनेर हामीले उनीहरुलाई सचेत गराउन त्यो अवरोध गरेका थियौं,’ उनले भने, ‘त्यो कदमपछि बल्ल अहिले ती व्यवसायी केही सच्चिएका छन्। आफूलाई पर्दा सबै बिर्सिने, अरुलाई अप्ठेरो पर्दा बढी देख्ने गर्दा यो आलोचना भएको हो।’  

टोलमा आइपरेको समस्या सल्टाउन दबाब दिने उद्देश्यले त्यो ‘डेमो’ गरेको उनले बताए। ‘हामीले राम्रो कामका लागि त्यो कदम चालेका थियौ। तर हामीलाई निकै गिराएर लेकसाइडबासीले आलोचना गरेका छन्। आलोचना सहन बाध्य भयौ,’ उनले भने, ‘हामी संक्रमित व्यक्तिप्रति लक्षित छैनौं।’ गलत बुझाइका कारण पर्यटकीय क्षेत्र लेकसाइडले पछिल्लो समय बेलाबेला आलोचना खेप्ने गरेको उनले बताए।

‘विदेशी पाहुनासँगको नियमित सम्पर्कले गर्दा हाम्रो सिकाइ पनि बढेको थियो। तर अन्धविश्वास अझै छ,’ उनले भने, ‘राम्रोका लागि काम गर्दा पनि आलोचना बढी हुने गरेको छ। लेकसाइड बेलाबेला चुक्दा यस्ता आलोचना खेप्न बाध्य छ।’ कोरोना महामारी सबैतिर फैलिँदै गर्दा पोखराको अन्यत्र क्षेत्रको तुलनामा लेकसाइडले बढी आलोचना खेप्ने गरेको उनले बताए।  

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन पनि कोरोना कहरबीच लेकसाइड बढी आलोचित भएको बताउँछन्। ‘कहिले क्वारेन्टिनमा बस्न नदिएको त कहिले टोल सिल गरेको भनेर लेकसाइडले आलोचना खेप्ने गरेको छ,’ तुलाचनले भने, ‘यसले पर्यटकीय क्षेत्रलाई नकारात्मक असर पर्छ। पर्यटन क्षेत्रलाई बढी आलोचना गर्नका लागि यस्ता घटनाक्रम सहयोगी बनेका छन्।’

प्रकाशित: २३ भाद्र २०७७ ०२:३१ मंगलबार

पर्यटकीय लेकसाइड