कोभिड–१९ संक्रमणबीच स्कुटर कारोबार सुरु गरेको यम मा ई मोटर्स प्रालिका निर्देशक सन्जिव शिल्पकारलाई स्कुटर बिक्री नहोला कि भन्ने चिन्ता थियो । टेल्जीको इलेक्ट्रिक स्कुटर ल्याएर बिक्री सुरु भएको १० दिन मै ३० ओटा लायन र ४२ ओटा टाइगर मोडल बिक्री बिक्री भइसकेका छन् । ‘१० दिन अगाडि सार्वजनिक भएको टेल्जीका ७२ इलेक्ट्रिक स्कुटर बिक्री भएको छ,’ शिल्पकारले भने ।
कोरोनाको कारण सबै क्षेत्रको व्यापार, व्यवसाय ठप्प भएका बेला स्कुटरको बिक्री देखेर उनी उत्साहित छन् । कोरोनाको कारण सार्वजनिक सवारीमा यात्रा गर्दा संक्रमण हुन सक्ने त्रासले कामकाजीले निजी सवारी साधन किन्दा सवारीको बिक्री बढेको हो ।
जोर–बिजोर प्रणालीको कारण भनेको बेला सार्वजनिक सवारी साधन उपलब्ध छैनन् । पाए पनि कोरोना सर्ला भन्ने चिन्ताले विशेष गरी दुईपांग्रे सवारी किन्ने बढेका हुन् । लकडाउनपछि बजार खुले पनि अन्य व्यवसाय तंग्रिन नसकेको बेला सवारी बिक्रीले आशा जागेको नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा)ले जनाएको छ ।
‘अन्य क्षेत्रमा समस्या देखिए पनि अटो बजारमा आशा जागेको छ,’ नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले भने, ‘लकडाउन खुलेपछि अटो बजारमा राम्रो सुरुवात भएको थियो ।’ बिक्री बढाउन व्यवसायीले विभिन्न स्किम ल्याएका थिए । ‘सार्वजनिक यातायातमा हिँड्दा जोखिम बढेकाले सवारी किन्ने बढेका हुन्,’ उनले भने । कोरोनाको कारण न्यून आय भएकाले पनि दुईपांग्रे सवारी किनेका छन् । दुईपांग्रेको तुलनामा चारपांग्रे निजी सवारीको बिक्री कम छ ।
लकडाउनले ठप्प भएको व्यापारलाई गति दिन बिक्रेताले विशेष प्रकारका योजना सार्वजनिक गरेपछि प्रयोगकर्ता आकर्षित भएका हुन् । कोरोना संक्रमणकै बीचमा कम्पनीहरूले ल्याएका ग्राहकलक्षित फाइनान्सिङ स्किमले उत्साह जगाएको छ । कम आम्दानी हुनेले मोटरसाइकल, स्कुटर र मध्यमवर्गीयले कार किनेका छन् ।
सार्वजनिक सवारीमा जान डर भएकाले किस्ताबन्दीमा बाइक किनेको एक निजी कम्पनीमा काम गर्ने प्रमोद हुमागाईंले बताए । ‘भनेको बेला सार्वजनिक सवारी पनि नपाइने,’ उनले भने, ‘पब्लिक साधनमा जाँदा कोरोना सर्ने डरले बाइक किनेँ ।’ ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै दुईपांग्रे बिक्रेताले शून्य भुक्तानीमा किस्ताबन्दी सुविधासहित बाइक र स्कुटर दिने अफर ल्याएका थिए । यस्ता स्किमले काम आम्दानी हुनेलाई सहयोग पुगेको छ । डाउन पेमेन्ट गर्ने पैसा नभए पनि शून्य फाइनान्सको स्किममा स्कुटर किनेको सहकारीमा काम गर्ने प्रमिला श्रेष्ठले बताइन् । ‘एकैपटक रकम तिरेर किन्ने क्षमता थिएन,’ श्रेष्ठले भनिन्, ‘शून्य पेमेन्टका अफर भएकाले स्कुटर किनेँ ।’
अरू बेला दसैं–तिहारताका अटो बजार चम्किने गथ्र्यो । अहिले बर्खामा पनि तुलनात्मक रूपमा व्यापार बढेको छ । कोडिभ–१९ ले सबै क्षेत्र धराशयी भएका बेला सवारी किन्नेको संख्या बढेपछि व्यवसायी उत्साहित छन् । दुईपांग्रे सवारीको व्यापार लयमा फर्किएको बिक्रेता बताउँछन् । नेपालमा टिभिएस, बजाज, होन्डा, यमाहा लगायत कम्पनीका बाइक तथा स्कुटर बिक्री गरिरहेका बिक्रेताले ल्याएका स्किमबाट उपभोक्ता लाभान्वित भएका छन् ।
स्किम ल्याएपछि बिक्री पनि ह्वात्तै बढेको हो । लामो लकडाउनले व्यापार, व्यवसाय ठप्प भएको अवस्थामा सवारीको बिक्री बढेपछि अटो व्यवसायी उत्साहित छन् । हिरो मोटरसाइकलको बिक्रेता ज्योति समूह अन्तर्गतको नेपाल जनरल मार्केटिङको मिडिया कोओर्डिनेटर सितल दाहालका अनुसार सामान्य अवस्थामा भन्दा अहिले मोटरसाइकल र स्कुटरको बिक्री करिब ३० प्रतिशत बढेको छ । ‘अफ सिजनमा पनि बिक्री बढेको छ,’ दाहालले भनिन्, ‘जिरो प्रतिशत ब्याजको स्किममा बाइक र स्कुटर बिक्री गरिरहेका छौं ।’ करिब चार महिना ठप्प भएको व्यापारमा सुधार आएको दाहाल बताउँछिन् । कोभिडको कारण सार्वजनिक सवारी चढ्न कठिन भएकाले दुईपांग्रे बिक्री बढेको उनले बताइन् ।
मध्यमवर्गीयले पुराना गाडी खरिद गरेका छन् । नयाँ गाडीको तुलनामा सेकेन्ड ह्यान्डको बिक्री बढेको छ । १०–१५ लाख रूपैयाँसम्मका सेकेन्ड ह्यान्ड गाडीको बिक्री बढेको बिक्रेता बताउँछन् । रिकन्डिसनका गाडी बिक्रीका लागि विज्ञापन गरिरहेका छन् ।
होटल व्यवसाय जस्तो ठप्प नभए पनि चारपांग्रे निजी सवारी फाट्टफुट्ट बिक्री भएको टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका निर्देशक शम्भु दाहालले बताए । ‘पहिला जस्तो व्यापार नभए पनि २० प्रतिशत बिक्री भएको छ,’ दाहालले भने, ‘कोभिड संक्रमणको बीचमा पनि सवारी किनेका छन् ।’
भिजी अटोमोबाइल्समा मार्केटिङ हेड समित सिंहका अनुसार उनको कम्पनीले ग्राहकले दुई वर्षमा किस्ता तिर्छु भने पनि आधा ब्याज तिरिदिने व्यवस्था मिलाएको छ ।
ग्राहकले डाउनपेमेन्ट रकम मात्र तिरेर टिभिएसका मोटरसाइकल र स्कुटर लगेर आठ महिनापछि मात्र बाँकी किस्ता भुक्तानी सुरु गर्न पाउने योजना छ । यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रालिले सामाजिक दुरी र सुरक्षित यात्राको महत्वलाई मध्यनजर गर्दै यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा शून्य प्रतिशत (०.५) फाइनान्स स्किम ल्याएको छ । बजाजको आधिकारिक वितरक एचएच बजाजले मोटरसाइकल खरिद गर्दा ‘फुल क्यास’मा १२ हजार छुट, ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शून्य प्रतिशत ब्याजदर र २० प्रतिशत डाउनपेमेन्ट मै मोटरसाइकल उपलब्ध गराउँदै आएको छ ।
प्रकाशित: ९ भाद्र २०७७ ०४:०८ मंगलबार