अर्थ

जगदम्बाको फलामे डण्डीको गुणस्तर न्यून

शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टिलले उत्पादन गरेका फलामे रडको गुणस्तर कमजोर भेटिएको छ । जगदम्बाले फलामे डण्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरलाई बेवास्ता गरेको भेटिएको हो ।

जगदम्बाले फलामे डण्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा कवाडीमार्फत संकलन गरेका फलामका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको छ । यसले उत्पादन लागत केही कम हुन्छ । जगदम्बा स्टिल सञ्चालन गर्ने शंकर ग्रुपका प्रबन्ध सञ्चालक शाहिल अग्रवाल हुन् ।

नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको गुणस्तर परीक्षणमा जगदम्बा स्टिलको डण्डीमा कार्बन, फस्फोरस र सल्फरको मात्रा आवश्यकताभन्दा बढी पाइएको हो । केमिकल बढी भएपछि रडमा लचिलोपन कम हुन्छ र रड भाँच्चिने सम्भावना बढी हुन्छ ।

काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टिलको १६ एमएमको डण्डी भाँच्चिएको थियो । डण्डी गुणस्तरहीन भएको भन्दै भट्टराईले गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाहीको माग गर्दै निवेदन दिएपछि विभागले जगदम्बाको डण्डी परीक्षण गरेको थियो ।

यो पनि पढ्नुहोस्

जगदम्वा इन्टरप्राइजेजको लापरबाहीले गयो सिइओको ज्यान

यो पनि पढ्नुहोस्

लापरबाहीले भयावह बन्दै संक्रमण, भारतीय कामदारबाट जोखिम

उपभोक्ताले गुनासो गरेपछि परीक्षण गर्दा जगदम्बा स्टिलमा केमिकलको मात्रा धेरै पाइएको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पुष्टि गरे । ‘प्रयोगकर्ताको उजुरी आएपछि परीक्षण गरेका थियौं,’ पुडासैनीले भने, ‘जगदम्बाको रड उत्पादनमा कमजोरी भेटियोे ।’

जगदम्बा रडमा कार्बन, फस्फोरस र सल्फर केमिकलको मात्रा तोकिएको मापदण्डभन्दा बढी पाइएको पुडासैनीले बताए । नेपालको गुणस्तर मापदण्ड अनुसार डण्डीमा कार्बनको मात्रा ०.३० प्रतिशत, फस्फोरस र सल्फरको मात्रा ०.०५५ प्रतिशत हुनुपर्छ । तर, जगदम्बाको रडमा कार्बनको मात्रा ०.३५ प्रतिशत र फस्फोरस र सल्फरको मात्रा ०.०६० प्रतिशत पाइएको छ । ‘मापदण्डभन्दा कार्बनको मात्रा ०.५ प्रतिशत धेरै देखियो,’ पुडासैनीले भने, ‘फस्फोरस र सल्फरको मात्रा पनि ०.०५ प्रतिशत बढी छ ।’

केमिकल बढी देखिएपछि जगदम्बालाई विभागले स्पष्टीकरण सोध्ने तयारी गरेको छ । ‘केमिकल कम्पोजिसनमा हेलचेक्र्याइँ गरेको देखियो,’ पुडासैनीले भने, ‘कम्पनीले गुणस्तरमा ध्यान दिनुपर्छ ।’ स्पष्टीकरण चित्त बुझ्दो नभए विभागले उद्योगको इजाजत निलम्बन गर्न सक्छ । गुनासो आएपछि विभागले गुणस्तर परीक्षण गर्ने गरेको छ । ‘उत्पादकले गुणस्तरमा सिरियसनेस देखाउनुपर्छ,’ उनले भने ।

भट्टराई रड भाँच्चिएर विभाग पुगे पनि क्षतिपूर्ति भराउने अधिकार गुणस्तर विभागलाई छैन । गुणस्तरहीन सामान भए वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले क्षतिपूर्ति भराउने काम गर्न सक्छ । गुणस्तर विभागले आवश्यक प्राविधिक सहयोग मात्र गर्छ ।

जगदम्बा स्टिलको उद्योग बाराको सिमरामा छ । नम्बर वान फलामे छड भनेर दाबी गर्दै आएको जगदम्बाको गुणस्तरमा प्रश्न उठ्नु गम्भीर भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

नेपालमा सञ्चालन भएका स्टिल उद्योगले नयाँ प्रविधि भित्राएर गुणस्तरीय रड उत्पादन गरिरहेको अवस्थामा नाम चलेकै उद्योगबाट गुणस्तरमा खेलाँची गर्नु गम्भीर त्रुटी भएको एक उद्योगीले बताए । ‘एउटा उद्योगले गुणस्तरहीन रड बिक्री गरेपछि अरू उद्योगलाई पनि नकारात्मक रूपमा हेरिन्छ,’ ती उद्योगीले भने, ‘यसले समग्र उद्योगकै गुणस्तरमा प्रश्न उठ्छ ।’ सानो लोभमा गुणस्तरमा सम्झौता गर्न नहुने ती उद्योगीले बताए ।

शंकर ग्रुप सन् १९७९ मा स्थापना भएको थियो । यो ग्रुप अन्तर्गत अहिले करिब ३० कम्पनी सञ्चालनमा छन् । यो गु्रपले सन् १९९४ मा जगदम्बा स्टिल र सिमेन्ट उद्योग सञ्चालनमा ल्याएको हो ।

मुलुकको एउटा ठूलो व्यापारिक घराना भए पनि यो विभिन्न समयमा विवादमा आइरहने कम्पनी होे । शाहिलका भाइ सुलभ अग्रवाल मुलुक कोरोना कहरमा परेका बेला थर्मल गन कालोबजारी गरेका कारण पक्राउ परेर केही समय जेलमा बसेका थिए । एक दशकअघिको चर्चित भ्याट छली विवादमा यो कम्पनीको नाम जोडिएको थियो । आन्तरिक राजस्व विभागले गरेको अनुसन्धानले यो कम्पनीले करोडौं रूपैयाँ भ्याट छलेको फेला परेको थियो । त्यसपछिका वर्षमा पनि यो कम्पनीको राजस्व छलीमा नाम जोडिँदै आएको छ ।   प्रबन्ध निर्देशक शाहिल नागरिक संवाददाताले जिज्ञासाका लागि पटकपटक प्रयास गर्दा पनि सम्पर्कमा आउन चाहेनन् । तर कम्पनीका एक उच्च अधिकारीले नाम उल्लेख नगर्न अनुरोध गर्दै जगदम्बा स्टिलको गुणस्तरमा बेलाबेलामा समस्या आइरहेको जानकारी दिए ।  

उनका अनुसार समस्या आएका ठाउँमा कम्पनीले प्रतिनिधि पठाएर सम्झौता गर्दै आएको छ । जगदम्बा डण्डी प्रयोग गरेर निर्माण गरिएका घर लगायत भौतिक पूर्वाधारको सुरक्षाका लागि बिमा गरिदिने र थप केही दुर्घटना भए जिम्मेवारी लिने गरी उपभोक्तासँग सम्झौता गरिँदै आएको छ । उनले बोहोराटारका भट्टराईसँग पनि सम्झौताका लागि छलफल चलिरहेको जानकारी दिए ।

जगदम्बा लगायतका केही रड उद्योगले फलामका टुक्रादेखि, खिया लागेर काम नलाग्ने फलामका कवाडी भाँडा संकलन गरेर प्रशोधन गरी फलामे रड बनाउने गरेका छन् । जगदम्बाले थोत्रा फलाम पगाल्न भट्टी बनाएको छ । उच्च तापक्रममा फलामका थोत्रा सामान पगालेर लिक्विड आइरन बनाइन्छ । क्रमशः तापक्रम घटाएर फलामको ब्लेड बनाइन्छ । त्यसलाई रड बनाउन प्रयोग गरिन्छ । यस्तो फलाममा कार्बन, फस्फोरस र सल्फरको मात्रा बढी हुन्छ । यी तत्व धेरै हुँदा रड कडा बन्छ । रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिन्छ । फलामे छडमा प्रयोग हुने रसायन, रसायनको मिश्रण, तापक्रम, बयिलोपन, लचकताका आधारमा मापदण्ड तय भएको हुन्छ । लचकपन नभएको फलामे डण्डीले बनाएको घर भूकम्पका लागि ज्यादै खतरनाक मानिन्छ ।

कवाडी फलाम पगालेर बनाइने फलामे छडभन्दा प्राइमरी ब्लेडबाट बनाएको रड गुणस्तरीय हुन्छ । प्राइमरी ब्लेडभन्दा सेकेन्डरी ब्लेड प्रयोग गर्दा लागत कम पर्छ ।

नेपालका स्टिल उद्योगले टिएमटी बार बनाउने गरेका छन् ।  पाँच सय एक्सडी, ५ सय ५० एक्सडी, ६ सय एक्सडी गे्रडका रड बजारमा छन् । रडमा तीन किसिममा ब्लेड प्रयोग गरिन्छ  । अधिकांश उद्योगमा प्राइमरी ब्लेड, सेकेन्डरी ब्लेड प्रयोग गर्ने गरिन्छ । प्राइम ब्लेडमा खानीबाट ल्याएको कच्चा पदार्थलाई पहिलोपटक प्रयोगमा ल्याइएको हुन्छ । सेकेन्डरी ब्लेडमा वेस्टेज कवाडी फलाम रिसाइकल गरेर ब्लेड बनाई प्रयोग गरिन्छ ।

नेपालका अधिकांश स्टिल उद्योगले सेकेन्डरी ब्लेड प्रयोग गर्दै आएका छन् । अधिकांश उद्योगले विदेशका उच्च प्रविधियुक्त कम्पनीले रिसाइकल गरेका ब्लेड ल्याएर प्रयोग गर्छन् । केही स्टिल उद्योगले नेपालभित्रनै कवाडी फलाम संकलन गरेर रिसाइकल गरेर प्रयोग गर्ने गरेका छन् । तीमध्ये जगदम्बा कम्पनी पनि एक हो । जगदम्बाले आफैं रिसाइकल गरेर ब्लेड बनाएर प्रयोग गर्दै आएको छ । प्राइमरी ब्लेडभन्दा रिसाइकल गरेको ब्लेड किलोमा तीन रूपैयाँ सस्तो पर्ने उद्योगी बताउँछन् ।

प्रकाशित: ९ भाद्र २०७७ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App