अर्थ

महात्वाकांक्षी आयोजनाको काममै जनश्रमदान

क्षतिग्रस्त तटबन्धमा बोरा हालेर जनश्रमदान गर्दै स्थानीय।तस्बिर/निर्मल घिमिरे

सरकारको महत्वाकांक्षी आयोजना भित्र पर्छ, राजापुरको कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना। तर सरकारले अर्बौं खर्च गरेको आयोजनाको बाँध नदीले भत्काउँदा राजापुरवासी र सुरक्षाकर्मी श्रमदान गरेर बस्ती बचाउन बाध्य छन्।एक सातादेखि स्थानीय निरन्तर बोरा र तारजाली लिएर खटिएका छन्। आयोजना प्रमुख धर्म न्यौपाने लामो समयदेखि कार्यालयमा छैनन्।  

बुधबार कर्णालीले कटान गरेको ठाउँको स्थलगत अनुगमनमा पुगेका सहायक प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहले नदी कटानको जोखिमबारे आयोजना प्रमुख न्यौपानेसँग जिज्ञासा राख्दा उनले अनभिज्ञता प्रकट गरे।‘म आज(बुधबार) आएर सबै कुरा बुझ्दैछु। अब आयोजनाले केही गर्न सक्दैन। जनश्रमदान गर्नुपर्छ जस्तो लाग्छ,’न्यौपानेले भने,‘नाइलनको बोरा त आयोजनाले उपलब्ध गराएको छ।’  

दुई सातादेखि कर्णाली नदीले कटान तीव्र बनाएपछि राजापुरवासी रातभर जाग्रम बसिरहेका छन्।

सरकारी लगानीमा निर्माण भएका लन्चिङ, स्पट, स्पर र बाँध तटबन्धको आयु २५ वर्ष हो। नदीमा बाढी नआएको अवस्थामा लन्चिङ, स्पट, स्पर र बाँधसहितको तटबन्ध ५० वर्षटिक्ने प्राविधिक बताउँछन्।तर यहाँ काम गुणस्तरहीन भएको पुष्टि भएको छ। निर्माण भएको तीन वर्ष नबित्दै तटबन्ध कतिपय ठाउँमा भत्किएको छ भने कतिपय ठाउँमा नदीले बगाइसकेको छ।  

यसअघि आयोजना प्रमुखको जिम्मेवारी सम्हालेका न्यौपाने दुई वर्ष कर्णाली आयोजनामा कार्यरत थिए।त्यतिबेला आयोजनाको काम सत्ताधारी नेताको संरक्षणको उपभोक्तामार्फत गराउन थालेपछि उनको चर्को आलोचना भएको थियो। राजानीतिक संरक्षणमा पुनःसरुवा भएर आएका न्यौपानेको लापरबाहीले राजापुरक्षेत्रका बस्तीमा कर्णाली पस्ने खतरा बढेको स्थानीयको भनाइ छ।

सरकारको प्राथमिकतामा परेको कर्णाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको लन्चिङ,स्पट,स्पर र बाँध सहितको तटबन्ध भत्किएको छ। एक साताभित्र तिघ्रामा निर्माण भएको तटबन्धको तीन सय मिटरबाँध बगेको छ। एक मिटर भत्काएपछि नदी जताबाट पनि बस्ती पसेर जनधनको क्षति गर्न सक्छ।

माघदोस्रो साता आयोजनाले निर्माण गरेको तटबन्धको तत्कालीन गृहसचिव प्रेम राईले अनुगमन गरेका थिए। बजेट अभावमा काम नभएको प्राविधिकले राईलाई ब्रिफिङगरेका थिए। हिउँदमै बाँध भत्किने खतरा बढेपछि थप जोखिम नियन्त्रणका लागि अर्थ मन्त्रालयलेथप ४५ करोड रुपैयाँ दिएको थियो। पछिल्लोपटक विनियोजित बजेट पनि आफूखुसी टेन्डर आह्वानले बाढी रोक्न बनेको पूर्वाधार बलियो नभएको एक प्राविधिकले बताए।

बाढीको जोखिम ठहर गर्दै दैवी प्रकोप व्यवस्थापन समितिले तत्कालका लागि तटबन्ध संरक्षण र राजापुर क्षेत्रमा बाढी रोकथामका लागि काम गर्ने निर्णय गरेको छ।सर्वसाधारणको सुरक्षाका लागि स्काभेटर, जेसिबी र बोरा बाँधेर तटबन्ध गर्ने काममा आयोजना र राजापुर नगरपालिकाले खर्च गर्ने निर्णय भएको छ।  

आयोजनाले आर्थिक वर्ष ०७१/७२ र ०७२/७३ मा एक अर्बको तटबन्ध निर्माण गरेको थियो। आर्थिक वर्ष ०७३/७४ मा २६ करोड ५३ लाख ०७४/७५ ३४ करोड २१ लाख, ०७५/७६ मा २५ करोड ९५ लाख र ०७६/७७ मा १४ करोड तटबन्धमा खर्च भइसकेको अभिलेखमा देखिन्छ।  

प्राविधिकका अनुसार लन्चिङमा बालुवा थुप्रिएपछि नदीको बहाब अर्कोतर्फ मोड्ने गरी तटबन्ध निर्माण गरिएको हुन्छ। तर लन्चिङ नै बगाएपछि स्पट,स्पर र बाँध बगाउन सहज भएको हो।

सामान्य बहावले तटबन्ध बगाउन थालेपछि कामको गुणस्तरमा प्रश्न उठेको छ। तटबन्ध भत्कन थालेपछि राजापुर क्षेत्र बाढीको जोखिममा परेको छ।तटबन्धमा प्रयोग भएको जाली र ढुंगाको साइज नमिलेको तटबन्धलाई प्राविधिक हिसाबले कमसल मानिन्छ। आयोजनाले मापदण्डविपरीत तटबन्ध बनाएकोले नदीले बगाएको हुन सक्ने स्थानीयको अनुमान छ।

पाँच वर्षमा ७३ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्यका साथ २०७१ फागुनमा कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना खडा गरिएको थियो। देशकै अन्नभण्डार मानिने राजापुरलाई सुरक्षित गर्ने उद्देश्यले स्थापना भएको आयोजनाले अहिलेसम्म १७ किलोमिटर तटबन्ध निर्माण गरिसकेको छ। पाँच किलोमिटर तटबन्ध पूर्ण रुपमा क्षतिग्रस्त छ।कागजमा १५ मिटर लन्चिङ, ६ फिट अग्लो स्पट र १४ मिटर स्पर र बाँधसहित तटबन्धन गरेको उल्लेख छ।  

बहुउद्देश्यीय आयोजनाले कर्णाली नदीमा देखिने डल्फिन र ¥याफटिङ सम्भावनालाई मध्यनजर गर्दै पर्यटकीय मार्ग विकास गर्ने लक्ष्य राखेको थियो। कर्णाली नदी  नियन्त्रणको गुरु योजनामा ११ अर्ब लागनीमा ४३ किलोमिटर तटबन्ध पाँच वर्षमा सम्पन्न गर्ने उल्लेख छ।आयोजनाले तटबन्ध निर्माण सुरु गरेपछि खुसी भएका स्थानीय यतिखेर निराश छन्।

राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा बसोबास गर्ने तीन लाख सर्वसाधारणको सुरक्षा गर्ने उद्देश्यको आयोजनाले निर्माण गरेको तटबन्ध भत्किन थालेको नगरप्रमुख शिव चौधरीले बताए।‘राजापुर क्षेत्रको सुरक्षाका लागि सुरु गरिएको आयोजना होे,’उनले भने, ‘निर्माण सम्पन्न भइसकेको तटबन्ध भत्किँदा राजापुर क्षेत्र बाढीको जोखिममा छ।’  

बाढीले क्षति पु¥याउने क्षेत्र बनघुस्रामा १५ सय ५०,सनकट्टीमा दुई सय,मुर्गहवामा १३ सय,पत्भरबोझीमा पाँच सय र गप्तीपुर पाँच सय मिटरमा पक्की तटबन्धनभत्किएको छ।

चारैतिर कर्णालीले घेरेको राजापुर अन्न उत्पादनमा प्रसिद्धि कमाएको क्षेत्र हो। राजापुरको खेतीयोग्य जमिनबाट एक सिजनमा आठ लाख क्विन्टल धान उत्पादन हुने गरेको कृषि कार्यालयको तथ्यांक छ।तटबन्धन निर्माणले सिजनमा उत्पादकव बढ्ने दाबी गरेको आयोजनाको कामप्रति स्थानीयको आक्रोश बढ्दै गएको छ।नदीको पानी क्यानलमार्फत बाहिर जाने र डुबानमा परेको जमिनको पानी नदीमा आउने गरी क्यानल निर्माण गरेर खेतीयोग्य जग्गा सुरक्षा गर्न आयोजना स्थापना भएको हो।

आयोजनामा कमिसनको खेल  

यही साउन ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना इन्जिनियरलाई १५ लाख घुससहित पक्राउ घटनाले आयोजनामा कमिसनको खेल हुने गरेको पुष्टि गरेको छ। उपभोक्ताको काममा घुस लिने क्रममा इन्जिनियर विश्वेश्वरप्रसाद शाह, कमलप्रसाद सिटौला र हरिप्रसाद चौधरी तथा चालक टंकप्रसाद ओझालाई १५ लाख घुस सहित आयोगले नियन्त्रणमा लिएको थियो। नियन्त्रण लिएका तीन इन्जिनियरमाथि आयोगले अनुसन्धान गरिरहेका छ। आयोजनाको सवारी साधन सत्ताधारी नेतालाई रिझाउन दुरुपयोग गर्ने गरेको आरोप आयोजना प्रमुख न्यौपानेमाथि छ।

प्रकाशित: ७ भाद्र २०७७ ०२:३९ आइतबार

महात्वाकांक्षी आयोजना जनश्रमदान नदी नियन्त्रण तथा व्यवस्थापन