अर्थ

विद्युत् आयोजना निर्माणमा विवाद

सन्दकपुर गाउँपालिका र कुनैपनि वडाले विवादित सुपरमाई–ए जलविद्युत् आयोजना निर्माण क्षेत्रका लागि अनुमति नदिएको गाउँपालिकाले दाबी गरेको छ। अहिलेका जनप्रतिनिधि चुनिएर आउनुअघि नै तत्कालीन गाउँ विकास समितिले दिएको अनुमतिअनुसार आयोजनाले काम गरिरहेको गाउँपालिका अध्यक्ष उदयबहादुर राईले जनाए।  

स्थानीय खोलाहरू सम्बन्धित क्षेत्रका बासिन्दालाई सोध्दै नसोधी जलविद्युत् आयोजनालाई दिएको भन्दै माइखोलामा निर्माणाधीन आयोजनाप्रति त्यस क्षेत्रका बासिन्दा आक्रोशित छन्। उनीहरूले आयोजना क्षेत्रका बासिन्दालाई थाहै नदिई सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका वडाहरूले आयोजनालाई खोला प्रयोग गर्ने अनुमति दिएको भन्दै आन्दोलनको चेतावनी दिइरहेका छन्। तर, स्थानीय तहमा आफूहरू आएपछि आयोजनाले गरेको सार्वजनिक सुनुवाईमा पहिले नै पाएको अनुमतिबारे जनप्रतिनिधिलगायत स्थानीयलाई जानकारीमात्र गराइएको अध्यक्ष राईले बताए। ‘आयोजना निर्माणका लागि निर्माण कम्पनीले पाएको अनुमतिका कागजात मैले काठमाडौंबाटसमेत मगाएर हेर्दा नयाँ जनप्रतिनिधिले कुनै अनुमति दिएको देखिँदैन,’ अध्यक्ष राईले भने, ‘हामी आउनुभन्दा अघि दिइएको अनुमतिबारे हामीलाई सार्वजनिक सुनुवाईमा जानकारी चाहिँ दिइएको थियो।’

आयोजना निर्माण क्षेत्रका बासिन्दा संघर्ष समिति नै गठन गरी विरोधमा उत्रिँदैछन्। स्थानीय कुशबहादुर थेबेले कसैको सहमतिबिनै इङ्ला र समाहा खोलाको पानीसमेत माइखोलाको आयोजनामा मिसाइएको बताए। ‘हामीले आयोजनासँग निर्माण कार्यबारेका कागजात माग्दासमेत दिइएन,’ उनले भने, ‘प्रत्येक नागरिकले पाउनुपर्ने सार्वजनिक महत्वको सूचना माग्दासमेत आयोजना व्यवस्थापन पक्षले दिँदै नदिने अड्डी लिइरहेको छ।’ उनले आयोजनाले सूचनाको हकसम्बन्धी ऐनको समेत उपेक्षा गरी आफूहरूलाई गुमराहमा राखेको बताए।  

स्थानीयले आयोजनाले सामाजिक उत्तरदायित्वका कामबारे पनि कसैलाई स्पष्ट रूपमा जानकारी नदिएको बताइरहेका छन्। तर, गाउँपालिका अध्यक्ष राईले भने आयोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गतको १ करोड २७ लाख र त्यसबाहेक पनि आयोजनास्थल छेउछाउको क्षेत्रमा सहयोग गरेको बताए। ‘आयोजनाले स्थानीय सडक, खेलमैदानलगायतका लागि सहयोग नगरेको होइन,’ उनले भने, ‘कतिपय काम हुन बाँकी छ, कतिपय भइसक्यो होला तर आयोजनाले सामाजिक उत्तरदायित्व नै पूरा गरेन भन्नु चाहिँ आरोपमात्रै हो।’  

प्रभावित क्षेत्रका बासिन्दाले सर्वसाधारणलाई पाखा लगाएर केही टाठाबाठालाई आफ्नो कब्जामा लिइ आयोजना निर्माण गरिएको आरोप लगाइरहेका छन्। आयोजनाले केही रकम स्थानीय सरकारलाई दिएर ज्यादै थोरै खर्च गरी धेरै खर्च भएको देखाइएकोसमेत स्थानीयको आरोप छ। तर, आयोजनाले स्थानीय सरकारमार्फत् प्रभावित क्षेत्रलाई गरेको सहयोगबारे स्पस्ट हिसाब–किताब गाउँपालिकामा राखिएको पनि अध्यक्ष राईले जनाए।    

९.६ मेघावाटको सुपरमाई–ए आयोजनाले केही महिनाअघि उत्पादन थालिसकेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्नुपर्ने १ करोड २७ लाख रुपैयाँ स्थानीय सरकारमार्फत् वितरण गरेको आयोजनाले जनाएको छ। आयोजना प्रवद्र्धक सगरमाथा हाइड्रो पावर प्रालिका प्रबन्ध निर्देशक मोहनविक्रम कार्कीले आयोजनाको जिम्मेवारीमा परेको रकम स्थानीय जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रका लागि खर्चको बाँडफाँटसमेत गरी काम गरेको बताए।

आयोजनास्थलसँग इलाम नगरपालिकाको वडा २, माइजोगमाई गाउँपालिकाको वडा ६ तथा सन्दकपुर गाउँपालिकाका ३ र ५ वडा जोडिएका छन्। १ अर्ब ७९ करोड रुपैयाँ लागतको आयोजनाबाट वार्षिक ५६.४६ गिगावाट÷आवर विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०७७ ०३:१८ सोमबार

जलविद्युत् आयोजना