अर्थ

सुन तोलाको लाख नाघ्यो

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेपछि नेपाली बजारमा पनि सुनको मूल्य एक लाखभन्दा माथि पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलाको एक लाख एक हजार चार सय रुपैयाँ पुगेको हो।  

कोभिड–१९ का कारण संसारभरका लगानीकर्ता सुन खरिदमा आकर्षित भएपछि मूल्य बढेको हो। पछिल्लो समय सुनको मूल्यले हरेक दिन नयाँ कीर्तिमान बनाउँदै आएको छ।

विश्व बजारमा सुनको माग उच्च हुँदा निरन्तर मूल्य बढिरहेको व्यवसायी बताउँछन्। सुनलाई सुरक्षित लगानीको क्षेत्र मानेर सबैले यसमा लगानी गरेका छन्। कोभिड–१९ को समस्या सुरु हुनुअघि गत माघ २१ गते सुनको मूल्य प्रतितोला ७६ हजार थियो। ६ महिनामा तोलामा २५ हजार चार सय रुपैयाँ बढेर एक लाख एक हजार चार सय पुगेको हो।  

महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार सबैले सुरक्षित देखेर लगानी गर्दा सुनको भाउ निरन्तर बढिरहेको छ। ‘सुनको भाउ अझै बढ्ने संकेत देखिएको छ,’ उनले भने। अमेरिकी केन्द्रीय बैंकले बन्डमा दिने ब्याजदर घटाएकाले पनि सुनमा लगानी बढेको शाक्यले बताए। कोरोनाको असर निरन्तर जारी रहे सुनको मूल्य अझ बढ्ने अनुमान गरिएको छ। मूल्य बढेपछि सुन खरिद ठप्प भएको छ। बरु बिक्री गर्ने बढेका छन्। शाक्यका अनुसार अझै १०–१२ हजार रुपैयाँ मूल्य बढ्न सक्ने अनुमान गरिएको छ।

एक वर्षको अवधिमा सुनको मूल्य तोलामा ३३ हजार चार सय रुपैयाँ बढेको छ। पोहोर साउन २१ गते तोलाको ७६ हजार रुपैयाँ थियो। कोरोनाको कारण मुलुक लकडाउनमा गएपछि चैत ११ देखि नेपालमा सुन कारोबार ठप्प भएको थियो। चैत १० गते सुन तोलाको ७७ हजार रुपैयाँ थियो। लकडाउन खुकुलो भएपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले जेठ २५ गतेबाट नेपाली बजारमा मूल्य निर्धारण गर्न थालेको थियो। जेठ २५ गते तोलाको ८७ हजार चार सय सय रुपैयाँ रहेको मूल्य निरन्तर बढेको छ। पछिल्लो चार वर्षको मूल्य तुलना गर्दा सुनको भाउ करिब ८० प्रतिशतभन्दा धेरै बढेको छ।  

२०७४ साउन दोस्रो साता तोलाको ५४ हजार पाँच सय रुपैयाँ थियो। चार वर्षमा ४६ हजार नौ सय रुपैयाँ मूल्य बढेको छ। सुनको मूल्य बढ्नुको प्रमुख कारण कोभिडले विश्व अर्थतन्त्रमा ल्याएको समस्या हो। विश्वभरका लगानीकर्ताले सुनलाई सम्पत्ति मानेर लगानी गर्ने गरेका छन्। उद्योगधन्दा, सेयर बजार, घरजग्गा कारोबार लगायत अन्य क्षेत्र अनिश्चित भएपछि सबैको आकर्षण सुनमा परेको छ। अन्तर्राष्ट्रिय लगानीकर्ताले सुनमा लगानी केन्द्रित गरेका छन्।

कोभिडको समस्या तत्काल समाधान हुने लक्षण देखिएको छैन। अनिश्चितताको समय भएकाले सुनको मागमा अझै चाप पर्ने देखिन्छ। सुनको कारोबार गर्ने व्यवसायीको अनुमान पनि मूल्य निरन्तर बढ्ने नै छ।  

विशेष गरी चीन र भारतको आर्थिक वृद्धि, सुन उपहार दिने प्रचलनले पनि पछिल्ला वर्षमा सुनको खपत वृद्धिसँगै मूल्य बढेको अर्थशास्त्री बताउँछन्। सुनमा गरिएको लगानीलाई अर्थशास्त्रीहरुले त्यत्ति राम्रो मान्दैनन्। मूल्य बढेपछि नेपाली बजारमा सुन कारोबार ठप्प भएको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष शाक्य बताउँछन्।  

सामान्य अवस्थामा बजारमा मागको तुलनामा सुन कम आयात हुन्छ। नेपालमा गैरकानुनी बाटोबाट पनि सुन आउने गरेको छ। वैध सुन वाणिज्य बैंकले आयात गरेर बजारमा बिक्री गर्छन्। सामान्य अवस्थामा दैनिक २० किलोका दरले मासिक करिब ६ सय किलो सुन बिक्री हुने गरेको थियो। नेपाली बजारमा सुन कारोबार हरेक वर्ष वृद्धि हुँदै गएको छ। आर्थिक वर्ष ०७४÷७५ मा ३१ अर्ब ७४ करोड रुपैयाँको सुन आयात भएकोमा आवमा ०७५÷७६ मा बढेर ३४ अर्ब ४१ करोड रुपैयाँ पुगेको थियो।  

बिलासी वस्तुको आयातमा कडाइ गरेको सरकारले सुनको भन्सार शुल्क बढाउँदै लगेको छ। आर्थिक ऐन, २०७६ लाई संशोधन गर्दै नयाँ दर कायम गरेको छ। छिमेकी मुलुक भारतीय बजारमा भन्दा नेपालमा सुन सस्तो भएपछि भन्सार महसुल बढाएको थियो। सुन चोरी निकासी हुन रोक्न विदेशबाट आउने यात्रुले ल्याउने सुन तथा सुनका गहनामा गत फागुनमा भन्सार महसुल दर करिब २१ प्रतिशतले बढाएको बढाएको छ। ५० ग्रामसम्म सुन ल्याउँदा प्रति १० ग्राम ७ हजार पाँच सय रुपैयाँका दरले भन्सार महसुल तिर्नुपर्छ। 

प्रकाशित: २२ श्रावण २०७७ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App