अर्थ

उदयपुरमा ट्राफिक राजश्व १ करोड बढी

जलजलेमा यात्रुबाहक सवारीमा चेकिङ गर्दै ट्राफिक। तस्विरः महेश्वर

उदयपुर ट्राफिक प्रहरीले एकवर्षमा१ करोड बढी राजश्व संकलन गरेको छ। आर्थिक वर्ष ०७६/७७ को साउनदेखि असार मसान्तसम्म नियम उल्लंघन गर्ने सवारी साधन र चालकबाट १ करोड ९४ हजार रुपैंया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी उदयपुरले जनाएको छ।  

ट्राफिक प्रहरी प्रमुख नायव प्रहरी निरीक्षक (सई) होमप्रसाद खनालका अनुसार जिल्ला सदरमुकाम गाईघाट, जलजले, कटारी, बेलटार, रामपुर, मुर्कुची र घुर्मीमा रहेका पोष्टमार्फत चेकजाँच र सवारी ऐन उल्लंघन गर्ने साधनबाट सो राजश्व संकलन भएको हो। सो वर्ष सबभन्दा बढी राजश्व मोटरसाईकलमाथि कारबाहीबाट संकलन भएको छ। ट्राफिकले ५ हजार १ सय २० मोटरसाईकल कारबाही गर्दा ३३ लाख ८३ हजार रुपैंया संकलन गरेको सई खनालले बताए।  

त्यस्तै दोस्रो ठूलो राजश्वको आयातन मालबाहक ट्रकबाट संकलन भएको छ। वर्षभरी ३ हजार ८ सय २१ मालबाहक ट्रकमाथि कारबाही गर्दा ट्राफिकले २४ लाख ६८ हजार ५ सय उठाएको छ। त्यसैगरी कार÷जीप २ हजार ६ सय ८१ वटा कारबाहीमा पर्दा १६ लाख ५४ हजार ५ सय संकलन भएको छ भने १ हजार ६ सय ९२ ट्याक्टरमाथिको कारबाहीमा ११ लाख ३ हजार रुपंै उठेको छ। १ हजार ६ सय ९० टेम्पु तथा अटोबाट ८ लाख ७८ हजार ५ सय र ७ सय ६६ वटा यात्रुबाहक बसमाथिको कारबाहीबाट ५ लाख १५ हजार ५ सय संकलन भएको छ।  

जिल्ला ट्राफिक प्रहरी भुवन राईले वर्षभरी नियम उल्लंघन गर्ने सवारीको संख्या १५ हजार ७ सय ७० रहेको छ। त्यस्ता सवारी साधनमाथि ट्राफिकले कारबाही गरेर राजश्व असुली गरेको उनले बताए। राईका अनुसार सबभन्दा बढी माघमा २ हजार ५० सवारीमाथि कारबाही गर्दा १३ लाख ७० हजार रुपंैया संकलन गरेको ट्राफिकले मंसिरमा १ हजार ७ सय ५० सवारीमाथि कारबाही गरेर १० लाख ८४ हजार ५ सय संकलन गरेको छ। त्यस्तै सबभन्दा कम वैशाखमा ५० वटा सवारीमाथिको कारबाहीबाट ३३ हजार ५ सय संकलन भएको राईले बताए।  

विश्वभर फैलिएको कोरोना भाईरस (कोविड १९) का कारण नेपालमा चैत ११ गतेदेखि लागू भएको लकडानका कारण जेठ र असारभरी भने ट्राफिक गतिबिधि नभएपछि राजश्व संकलन भएको सई खनालले बताए।

प्रकाशित: ११ श्रावण २०७७ ०५:४६ आइतबार

ट्राफिक राजश्व