अर्थ

तरकारीमा लगानी उठाउनै मुस्किल

इलामको सूर्याेदय नगरपालिका–१२, आठघरेका स्थानीय व्यापारी गाउँमा उत्पादन भएको तरकारी बिक्रीका लागि झापा लैजान गाडीमा लोड गर्दै। तस्बिर: भीम/नागरिक

तरकारी खेतीबाट वर्षमै लाखौं रुपैयाँ कमाइरहेका किसानलाई यो वर्ष लकडाउनले नराम्रोसँग घाटा खुवाएको छ। बारीमा लटरम्म तरकारी बेच्न मुस्किल भएको छ भने तरकारी उत्पादक किसान र व्यापारी उपभोक्तासम्म पुग्न नसक्दा तरकारीको मूल्यमा बिचौलियाले ‘अवसर’ पाएका छन्।  

जिल्लाकै किसानले उत्पादन गरेको तरकारी किन्ने उपभोक्ता अहिले बजारमा भेटिँदैनन्। तर, भारत तथा तराईबाट लुकिछिपी यहाँका बजारमा तरकारी ल्याउनेक्रम चलिरहेकै छ। ठूलो लगानी गरेर तरकारीको व्यावसायिक खेती गरिरहेका स्थानीय किसान चाहिँ तरकारीको मूल्य नपाएर छट्पटाएका बेला बाहिरबाट ‘जोखिमयुक्त’ तरकारी भित्रिँदा जिल्लामा कोरोना भाइरस संक्रमणको त्राससमेत बढिरहेको छ।  

बर्सेनि १२–१५ लाख रुपैयाँसम्मको तरकारी बेच्ने किसान जिल्लामै छन्। तर, लकडाउनका कारण तरकारी नबिक्दा अहिले उनीहरूलाई लाखौं रुपैयाँको घाटा भइरहेको उनीहरूको गुनासो छ। तरकारी खेती लगाएका बेला कोरोना भाइरसको जोखिम नभए पनि फसल लिने बेला लकडाउन भएपछि कतिपय किसानको तरकारी बारीमै कुहिएको छ। सूर्याेदय, इलाम र देउमाई नगरपालिकाका तथा माइजोगमाई र सन्दकपुर गाउँपालिकाका किसानले यो सिजनमा इस्कुसको मुन्टा, आलु, बेमौसमी काँक्रा, सिमी, मुला, धनियाँ, प्याज, लसुनलगायत तरकारी उत्पादन गरेका छन्। तर, उत्पादनले बजार नपाउँदा उनीहरूले ‘कौडीको भाउ’मा बेच्नुपरिरहेको छ।  

तराईबाट नजिकै पर्ने सूर्याेदय नगरका किसानले समेत पोहोरभन्दा झन्डै एक तिहाई मूल्यमा मात्रै तरकारी बेच्नुपरेको बताएका छन्। उनीहरूले बारीमा तयारी अवस्थामा रहेको तरकारी नबेच्दा सबै कुहिएर जाने भएकाले ज्यादै न्यून मूल्यमा भएपनि बेच्नुपरेको गुनासो गरे। सूर्याेदय नगरपालिका–१२, आठघरेका किसान अग्नि ढकाल तरकारीको मूल्य नपाएर निरास हुनुपरेको सुनाउँछन्। ‘पोहोर यतिबेला हारालुछ बिक्री भएको तरकारी यो साल बिक्दै बिकेन,’ उनले भने, ‘व्यापारीलाई बोलाएर बेच्दा लगानी उठ्ने मूल्य नै दिन छाडेका छन्।’ उनले यहाँका अधिकतर किसानको मुख्य खेती नै तरकारी भएको र यतिबेला नबिक्दा आफूजस्ता सयौं किसानलाई लगानी जोगाउन धौधौ परेको सुनाए।  

सूर्याेदय नगरमा उत्पादन भएको तरकारी झापाको चारआली, बिर्तामोडलगायत बजार पुग्छ। सूर्याेदयकै पशुपतिनगर क्षेत्रमा उत्पादित तरकारी चाहिँ भारतीय बजारमा समेत बिक्री हुने गरेको थियो। स्थानीय व्यापारीले किसानबाट संकलन गरेको तरकारी नजिकैका बजारमा पु¥याउने गरेका छन्। तर, यतिबेला तरकारी बेच्न नै ज्यादै समस्या परिरहेको व्यापारी बताउँछन्। ‘हामीले पनि यहाँबाट लगेको तरकारी झापाका कुनै व्यापारीलाई उसले कति मूल्यमा माग्छ, त्यतिमै दिनु परिरहेको छ,’ सूर्याेदयका स्थानीय व्यापारी रमेश गड्तौला भन्छन्, ‘उपभोक्तालाई सोझै बेच्न नपाएपछि त्यहाँका व्यापारीलाई बेच्नुको विकल्प पनि छैन।’  

किसानबाट खरिद गरेको तरकारी उपभोक्तालाई सोझै बेच्न पाउँदा चाहिँ अहिलेको भन्दा तेब्बरसम्ममा बिक्री हुने व्यापारी गड्तौलाको अनुमान छ। ‘लकडाउनका कारण अहिले उपभोक्ता बजार निस्केको भेटिँदैन,’ उनी भन्छन्, ‘तर, उपभोक्ता चाहिँ त्यहाँका व्यापारीबाट साविकभन्दा बढी दाम हालेर तरकारी किन्न बाध्य छन्।’ उत्पादक र उपभोक्ताको सोझो सम्बन्ध हुन नसक्दा किसानले मूल्य पाएका छैनन् तर उपभोक्ता चाहिँ अझ महँगोमा किन्न बाध्य छन्।

अरूबेला २० देखि २५ रुपैयाँ प्रतिमुठा पर्ने इस्कुसको मुन्टाको मूल्य अहिले बारीमा १० रुपैयाँमात्रै छ। प्रतिकिलो ३०–३५ सम्म पर्ने बन्दा ६ रुपैयाँ, ४० पर्ने मुलाको १० रुपैयाँ, गोटाको सय पर्ने काँक्राको मूल्य अहिले ३५–४० रुपैयाँमात्र रहेको किसान बताउँछन्। ‘हामीले झापा पु¥याएर तरकारी बेच्नुपर्दा पनि भाडामात्रै मरीतरी उठ्छ,’ व्यापारी गड्तौला भन्छन्, ‘नकिनौं भने सयौं किसानको हातमुख जोर्ने मेलो हराउँछ, किनेर बेच्दा भाडा पनि नउठ्ने अवस्था आएको छ।’

इलाम नगरपालिका–५, बरबोटेका हुतराज सापकोटाले यो वर्ष तीन लाख रुपैयाँ आम्दानी गर्ने अनुमानले दुई सय ४० बोट काँक्रा रोपेका थिए। तर, बेच्ने बेलामा लकडाउन भएपछि आधा पनि आम्दानी नहुने भएको उनी बताउँछन्। ‘पोहोर ८० बोट काँक्राबाट निकै राम्रो आम्दानी भएपछि त्यही हिसाबले अहिले तीन लाख रुपैयाँको  बेच्ने लक्ष्य थियो,’ उनले भने, ‘पोहोर त युवा स्वरोजगार कोषबाट तीन लाख रुपैयाँ ऋणसमेत लिएर खेती गरियो। यो वर्ष चाहिँ तरकारीले ठेगान लगाउलाजस्तो छ।’  

उनको माचमा धमाधम बेच्ने बेला भएका काँक्रा झुन्डिएका छन्। तर, पोहोर डेढ सय रुपैयाँसम्म प्रतिगोटा बिकेका काँक्राको दाम अहिले ५० रुपैयाँसम्म मात्रै छ। ‘यो साल त बेक्कारमै लगानी गरिएछजस्तो भएको छ,’ सापकोटाले भने, ‘व्यापारीले जति दाममा भन्छन्, त्यतिमै नदिए बारीमै कुहिएर जान्छ।’ भिन्डी, भण्टा, खोर्सानीलगायत अरू तरकारीको पनि व्यावसायिक खेती गरेका सापकोटाले लकडाउन नखुले आफ्नो ठूलो लगानी डुब्न सक्नेमा दुखेसो गरे।  

जिल्लामा किसानले समूह गठन गरेर र व्यक्तिगत रूपमा पनि तरकारीको व्यावसायिक खेती गरिरहेका छन्। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा तरकारी खेती गर्न तीन सय ३७ र बेमौसमी तरकारी खेतीका लागि दुई सय ३३ कृषक समूह गठन भएका छन्। आलु खेतीका लागि मात्र पनि जिल्लामा २५ कृषक समूह गठन भएको केन्द्रले जनाएको छ। यी समूहमा आबद्ध र व्यक्तिगत रूपमा तरकारी खेती गरिरहेका सबै किसान अहिले तरकारीको मूल्य नै नपाएको साझा समस्यासँग जुधिरहेका छन्।

केन्द्रका कृषि प्रसार अधिकृत रुजन खड्काले लकडाउनका कारण जिल्लाका किसानले अहिले तरकारीमा लाखौं रुपैयाँको घाटा बेहोरिरहेको बताए। ‘हामीले लकडाउनको सुरु–सुरुमा त तरकारी बिक्रीमा भइरहेको क्षति विवरण संकलन पनि गरेका थियौं,’ उनले भने, ‘अहिले चाहिँ सबै स्थानीय तहबाट विवरण नआएकाले तथ्यांक संकलनमा समस्या परिरहेको छ। तर, किसानले धेरै क्षति बेहोरिरहेको हामीले देखिरहेका छौं।’  

यतिबेला किसानले विशेषगरी बेमौसमी तरकारी उत्पादन गरिरहेका छन्। केन्द्रका अनुसार आर्थिक वर्ष ०७५÷७६ मा जिल्लामा बैमौसमी रूपमा चार हजार एक सय ९७ मेट्रिक टन (मेट) बन्दा, तीन हजार नौ सय १८ मेट काउली, तीन सय दुई मेट गाजर, नौ सय ८८ मेट मुला, दुई सय ७२ मेट मटरकोसा र ६ सय मेट गोलभेंडा उत्पादन भएको थियो। त्यो वर्ष जिल्लामा पाँच हजार तीन सय ४४ मेट काउली, सात हजार नौ सय १८ मेट बन्दा, तीन सय ३१ मेट ब्रोकाउली, दुई हजार तीन सय ४९ मेट मुला, दुई सय २१ मेट गाजर, नौ हजार ६ सय ४८ मेट रायो, पाँच सय ७१ मेट मटरकोसा र नौ सय ६९ मेट गोलभेंडा, १६ मेट धनियाँ र एक हजार तीन सय ९० मेट लसुन÷प्याज तथा २३ मेट चम्सुर, मेथी र पालुंगो उत्पादन भएको केन्द्रले जनाएको छ।

प्रकाशित: १ श्रावण २०७७ ०३:११ बिहीबार

काेराेना कहर तरकारी बिक्री तरकारी खेती